३२ जेठ, काठमाडौं । सरकारले भूकम्पका कारण क्षतिग्रस्त उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदा सोमबारदेखि खुल्दैछन् ।
पुरातात्विक महत्वका पर्यटकलाई लोभ्याउने विश्व सम्पदा क्षेत्रमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, स्वयम्भूनाथलगायत क्षेत्र भूकम्पपछि पर्यटकको सुरक्षाका लागि बन्द गरिएको थियो ।
सम्पदा क्षेत्र खुलाउन विगत केही समययता सम्पदा क्षेत्र परिसरमा सरसफाइलगायत कार्यलाई तीव्र बनाइएको जानकारी गराउँदै पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले ती क्षेत्र सोमबारदेखि पर्यटकका लागि खुला गर्ने तयारी गरिएको बताए ।
‘हनुमानढोका दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, स्वयम्भूनाथ क्षेत्रमा सरसफाइलगायत काम सकिएको छ । ती स्थानमा पर्यटकलाई सुरक्षित अवलोकन गराउने व्यवस्था गरिएको छ । चाँगुनारायण क्षेत्रमा भने सरसफाइलगायतका कामहरू भइरहेका कारण केही दिनमा नै त्यो क्षेत्र पनि पर्यटकका लागि खुलाइनेछ’- उनले भने ।
सम्पदा क्षेत्र खुला हुने भएसँगै विगत केही समययता प्रभावित भएको नेपालको पर्यटन क्षेत्र केही दिनमा नै सकारात्मक मार्गमा उन्मुख हुने पर्यटन सम्बद्ध व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया 4