२९ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही मानिसहरु नेपाल र भारतको सम्बन्ध बिर्गान लागिपरेको बताएका छन् ।
शुक्रबार रिपोर्टस क्लबमा पुगेका ओलीले हिन्दीमा भाषण गर्दै भारतीय राजदूत रञ्जित रेको ध्यान आकृष्ट गराए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राजदूतबाहेक अरुको कुरालाई आधिकारिक नमान्ने हिन्दीमै बताए ।
भारतको ६९ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले खुद्रा कुरा गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चावहिल र नयाँ बानेश्वरमा उत्रिएर जनतासँग बनाएको सम्बन्ध बिगार्ने काम भइरहेको बताए ।
‘भारतका नाममा केही सानातिना समूहले जुन काम गरिरहेका छन्, यसले सम्बन्ध बिगार्छ’ ओलीले थपे- ‘हामी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कुरालाई आधिकारिक मान्छौं, राजदुतले भनेको कुरालाई भारतको आधिकारिक बुझ्छौं ।’
नेपाल भारत सम्बन्ध ः चुनौति र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रममा ओलीले भने- ‘केही मानिसको मतिले विवाद बढाउने काम भएको छ, हिजो राजधानीमा कुर्लिएछन् । भारतको प्रतिनिधि भएर केही मानिसले धनगढीमा हिंसा भडकाउने कोशिस गरे । यस्तो एकता विरोधी सम्प्रदायिकताको हामी विरोध गर्छौं ।’
भारतबाट नेपालमा आउने कतिपय नेताहरुले हिन्दुराष्ट्र र संवैधानिक बारेमा बोलिरहेका बेलामा ओलीले त्यस्ता समूहलाई आधिकारिक नमान्ने संकेत गरेका हुन् ।
त्यसैगरी आफूलाई भारतको विश्वासिलो पात्र भन्ने केही नेपालीहरुले दिएको अभिव्यक्तिप्रति ओलीले लक्षित गर्दै त्यस्ता तत्वले नेपाल र भारतको सम्बन्ध बिगार्न खोजीहरुको राजदूत रेसमक्ष उनकै भाषामा सुनाएका हुन् ।
ओलीले दुई मुलुकवीचका सबैखाले समस्या कुटनीतिक माध्यमबाट समाधान गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
नेपालले विकासमा भारत र नेपालको संयुक्त प्रयास आवश्यक रहेको भन्दै उनले भने-‘खोलामा पैसा नहाली बिजुली निस्कँदैन, हामीसँग पैसा छैन, पैसा अर्कोकै हाल्नुपर्छ । भारतका उपभोक्ताले यहाँ लगानी गर्छन् भने हामी सहयोगी हुनुपर्छ, संयुक्त रुपमा विकासको पहलमा लाग्नुपर्छ ।’
जाली नोट र सीमापार अपराधसहितका भारतको चासोलाई सम्बोधन गर्ने ओलीले प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदुत रञ्जित रेले दुई मुलुकले सँगसँगै मिलेर राजनीतिक क्रान्ति लडेकाले अब आर्थिक विकासका लागि लड्नुपर्ने बताए ।
एउटा मुलुक असान्त रहे अर्को मुलुक शान्त रहन नसक्ने भन्दै उनले भने-‘भूकम्पपछि नेपालप्रति भारतीय जनताको कति सदभाव छ भन्ने थाहा भयो ।’
राजनीतिक सहमति भएपछि विकास हेर्न सकिने भन्दै राजदुत रेले नेपाल र भारतवीच भएको पीडीए, पीटीए लगायतका सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
राजदुत रेले सबैको भावना समेटेर अपनत्व हुने गरी संविधान आए नेपालमा राम्रो हुने बताए । उनले भने-‘संविधान निर्माणमा धेरै प्रयास गरिएको छ, यस्तो संविधान आओस् कि नेपालमा शान्ति र स्थायित्व कायम होस् ।’
कार्यक्रममा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले नेपाल र भारत एक अर्काबाट अछुत रहन नसक्ने बताए । नेपालको लोकतन्त्रमा भारतको प्रष्ट सदभाव भएको भन्दै उनले दुबै मिलेर विकास, स्थायित्व र सुरक्षामा मिलेर अघि बढ्नु पर्ने बताए ।
कार्यक्रममा एमाओवादी नेता राम कार्की लगायतले बोलेका थिए ।
प्रतिक्रिया 4