राजु पौडेल
केही समयअघि साउदीमा कार्यरत एकजना अनन्य मित्रको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस देखेको थिएँ ‘यो राष्ट्र र राष्ट्रियता भन्ने कुराको महत्व बोईङ्ग चढेपछि मात्र बिझ्दोरहेछ’ ।
बृहत्तर अर्थलाई अलि खण्डित गरेर संस्कृति, परम्परा, परिवार र समाज पनि त्यसैमा थपिदिन पाए भन्ने लाग्यो । ढीला नगरी कमेन्ट पोष्ट गरेँ । यो आलेख तयार गर्ने योजना त्यतिखेरै बनेको हो, अहिले झन पुष्टि गर्ने आधार थपिएका छन् ।
सत्य हो, साउदीको किङ्ग फहाद इन्टरनेशनल एयरपोर्ट अवतरणको समयमा नेपाल सम्झिने हो भने त्यही बोइङ्गबाट तत्काल मातृभूमि फर्किउँ जस्तो लाग्छ ।
हामीलाई तान्ने शक्ति जन्म देश एक मात्र कारण होइन, जस्तै प्रतिकूल परिस्थितमा समेत मिलेर बसेको समाजको ऐतिहासिक पृष्ठभूमि हो । जस्तै अप्ठयारोमा पनि सघाउने विविधातायुक्त समाजको संरचना र त्यही विविधतायुक्त समुदायका सदस्यहरु बीचको पारस्परिक हार्दिकता हो । यी विशेषता भावी पुस्तालाई हस्तान्तरण गर्ने गुरुत्तर दायित्व प्रवासी नेपालीलाई भन्दा आवासीय नेपालीलाई झन बढी छ ।
सामाजिक सञ्जालले मान्छेको भावनालाई बुझ्न सजिलो पहुँच स्थापित गरिदिएको छ । भौगोलिक अवस्थितिका दृष्ट्रिले टाढा भएका प्रवासीको मन हालै नेपालको पश्चिमी जिल्ला कैलालीमा घटेको विभत्स घटनाले झन विछिप्त बनेको छ ।
जहान परिवार पाल्ने उद्देश्यले ‘सत्य सेवा सुरक्षणम्’ को कसम खाएर राष्ट्र सेवामा खटिएका प्रहरी जवानको विभत्स हत्याले उस्तै उदेश्यका लागि देशको भूगोल पार गरेर प्रवासिएका नेपालीलाई मर्माहत तुल्याउने मात्र होइन, अन्तर्राष्ट्रिय श्रम बजारमा नेपाली श्रमिकले आर्जन गरेको इमान्दारिता र विश्वसनियता समेत पातलिन्छ ।
भौगोलिक अवस्थितिका दृष्ट्रिले टाढा भएका प्रवासीको मन हालै नेपालको पश्चिमी जिल्ला कैलालीमा घटेको विभत्स घटनाले झन विछिप्त बनेको छ
यो विश्वसनियता गुम्दा कुनै जाति, धर्म, संस्कृति वा आस्था विशेषको मात्र शिर निहुँरिदैन समस्त प्रवासी नेपाली समुदाय र नेपाली कुटनैतिक नियोग समेतको मानमर्दनको सृंखला शुरु हुन्छ । कसैको बाध्यतालाई बुझेर गरिएको व्यवहार कि त कृपायुक्त हुन्छ कि त हेपाहा । यी दुबैमा सम्झौता गरेर प्रवासमा बस्ने दिन लम्बाउनु पर्ने अवस्थामा नेपाली युवालाई नपारौं ।
अपवाद बाहेक यो बुझेका प्रवासी नेपालीले घटनाप्रति दुख ब्यक्त गर्दै समुदायको सदभाव कायम राखि राख्ने प्रेरणादायी अभिव्यक्ति सार्वजनिक गर्न सामाजिक सञ्जाल र मिडियाको सावधानीपूर्वक सदुपयोग गरिरहेका छन् ।
विज्ञान र प्रविधिको अभुतपूर्व विकासले विश्व बजारमा सवैको पहुँच विस्तार भएको छ । बढदो भूमण्डलीकरणले विश्वको साँद-सिमाना साँघुरिएको छ । देशभित्र रोजगारीका अवसरको संकुचनले युवाहरु नेपालबाट पनि उल्लेख्य मात्रामा प्रवासिएका छन् । नेपालको अर्थतन्त्र तिनै युवाले आर्जन गरेको रेमिट्यान्समा आश्रति छ । कम्तिमा अबका केही वर्ष नेपाल त्यस्तो अपवादको देश बन्न सक्दैन, जसले आˆना युवालाई देशकै भूगोलभित्र रोजगार उपलब्ध गराउन सकोस् । रेमिट्यान्सको विकल्प खोजेर देशको अर्थतन्त्रलाई पुनर्जीवन प्रदान गर्न सकोस् ।
यो सुविधा वा बाध्यतामा अन्तर्राष्ट्रिय श्रम बजारमा भरपर्ने हामीजस्तै धेरै राष्ट्र छन् । नेपाली श्रमिकले अन्तर्राष्ट्रिय श्रम बजारमा आर्जन गरेको ख्यातीको डाह गर्ने ठूलो समूह छ । प्रतिस्पर्धी श्रम बजारमा नेपाली युवामात्रै निर्विकल्प मानवीय श्रोत होइनन् तर, रोजगार दाता कम्पनी र व्यवस्थापनले नेपाली श्रमिकलाई तुलनात्मक रुपमा बढ्ता विश्वास गर्दै आएका छन् । त्यो विश्वास कायम राखिराख्न स्वयं श्रमिकको मेहनत र ईमान्दारिता जति जिम्मेवार हुन्छ सम्बन्धित श्रमिकको देशको राजनीतिक र सामाजिक पृष्ठभूमि समेत उत्तिकै जिम्मेवार मानिन्छ ।
नेपालको अद्वीतिय कलालाई प्रस्तुत गर्न सन् १२६० मा आफ्ना ८० सहयोगीसहित तिब्बत गएका कलाकार अरनिकोको ऐतिहासिकताबाट प्रारम्भ भएको नेपालको वैदेशिक यात्राको प्रतिष्ठा प्राप्त छविलाई हामीले बचाइराख्ने यदि हो भने सदियौंदेखि कायम हाम्रो समुदायको सदभाव स्खलित हुन दिनुहुँदैन । हाम्रो समुदायको परम्परागत मान्यता र अभ्यासले हामीलाई सबैसँग मिलेर काम गर्न सिकाएको छ । सबैप्रति सदभाव, प्रेम र भाइचारा अभिवृद्धि गर्न सिकाएको छ । फलत, हामी विश्व बजारमा धर्म र जातमा विश्वासै नगर्ने पश्चिमा राष्ट्रका नागरिक हुन् वा मध्यपूर्व र मलेसियाका कट्टरपन्थी मुस्लिम समुदायका नागरिक- उनीहरुका माझ उत्तिकै प्रिय छौं ।
राज्य भनेको सुर्खेतका जंगलमा बस्ने राउटेदेखि सिंहदरबारमा बस्ने कुरौटेसम्मका लागि समान हो
यो भावनात्मक सम्पतिको संरक्षण र प्रर्वद्धन ती नेपालीको उद्गम माटो नेपाल मै हुनुपर्छ । राष्ट्र राष्ट्रियता यहिँ झल्किनुपर्छ । राष्ट्रियता बल्झिने प्रकृतिको बोझबाट प्रवासी नेपालीलाई मुक्त गरिदिनुपर्छ किनकि, ती तिनै नेपाली हुन् जसले आफ्नै व्यवस्थापनबाट अन्तर्राष्ट्रिय श्रम बजारमा बाहुबल बेचेर दशकौं देखि देशको आयात धान्ने रेमिट्यान्स आप्रवाह गरिरहेका छन् । दश वर्षे सशस्त्र यूद्ध होस् वा अन्य आन्दोलन अप्ठ्यारोमा पटक-पटक असफल राष्ट्र हुनबाट देशलाई बचाएका मात्र छैनन्, सरदर झन्डै १३ महिनाको वस्तु तथा सेवाको आयातलाई पुग्ने विदेशी विनिमय सञ्चित गरेर सीमित भविश्यलाई समेत सुरक्षित गरेका छन् ।
राज्य भनेको सुर्खेतका जंगलमा बस्ने राउटेदेखि सिंहदरबारमा बस्ने कुरौटेसम्मका लागि समान हो । शान्ति सेनाको रुपमा मध्यपूर्व कोसोभोमा तैनाथ हुने शैनिक जवानदेखि साउदीका विकट मानिने गाउँ जिजान र खमिश-मुश्यतमा भेडा चराउन विवश नेपालीका लागि एकै हो । विश्व प्रसिद्ध हावर्ड विश्वविधालमा शोधपत्र गर्दै गरेका शिक्षित युवादेखि छ/छ पटक अनसन बस्न विवश सीपयुक्त जनशक्ति डा. गोबिन्द के.सी का लागि एकै हो । तपाईं पनि परिचित नहुनुहोला या म पनि परिचित नहुँला, कुन्नि किन राष्ट्रियता तिनै राउटे, शान्ति सेनामा खटिएका शैनिक जवान, बोईङ्ग चढेर भेडा चराउन जानेश्रमिक, सोध पत्र तयार गर्दै गरेका क्षमतावान नेपाली युवा र डा. के.सीलाई बढ्ता बिझाउँछ । त्यसैमा देशको भूगोल वाहिर छँदा, राष्ट्रियताको पारो हृवात्तै बढ्छ । सायद प्राकृतिक रुपमा हामी भन्दा पनि विपन्न राष्ट्रको चुलिँदो भौतिक उन्नतिमा मरीमरी ईंट्टा थप्दाको पीडा पोखिएको हुन सक्छ ।
बोईङ्ग चढेपछि राष्ट्रियता बिझाउने नेपालीको संख्या धेरै होला तर अन्तर्राष्ट्रिय श्रम बजारमा सस्तोमा श्रम बेच्न विवश बहुसंख्यक नेपाली श्रमिकलाई अस्थिर राजनीतिले दिएको पीडा यो सानो आलेखमा मुखरित मात्र भएको हो ।
मान्नुहोस्, देशको सीमा पार गरेर विश्व श्रम बजारमा प्रवेश गरेका झन्डै ४० लाख नेपाली युवा अहिले जीवन गुजाराका लागि, मात्र समय होइन, जीवन नै बेचेको अनुभूति गरिरहेका छन् । रोजगार दाता देशमा आम माफीको घोषणा हुँदा महिनौंसम्म गार्डेनमा सुतेर परिवारको खर्च भर्ने सज्जन नागरिक सायद नेपाल नाम गरेको देशले मात्र पाउला ।
नागरिकको यो विहंगम सदभावलाई घरिघरि घोच्ने काम नगरौं । नागरिकको अपूर्व दायित्वमा बाँधिएका प्रवासी नेपालीले पटक-पटक राजनीतिक आन्दोलनलाई सघाएर राष्ट्रियताको मुख्य चिन्ता गर्नुपर्ने जिम्मेवारी परिस्कृत भनिएको राजनीतिलाई सुम्पेका छन् ।
मुलुकको बौद्धिक सम्पतीको पलायनमा कसैको दृष्टि पुगेकै छैन । जसको व्याख्या यो सानो आलेखमा सम्भव पनि छैन । एकातिर श्रम अर्कोतिर बौद्धिक सम्पतिको पलायनले उजाड बन्दै गएको यो मुलुकमा राष्ट्र र राष्ट्रियताको चिन्ता बोइङ्ग चढ्नेले भन्दा उधारो आश्वासन बाडेर कल्पनाको भर्याङ्ग चढ्ने र चढाउने राजनीतिले बढ्ता गर्नुपर्छ ।
ट्वीटरमाः@rajupaudel44
प्रतिक्रिया 4