+
+

ट्रेकिङ व्यवसायीमा बढ्यो चुनावी सरगर्मी, पाण्डे र रिजाल प्यानलसहित मैदानमा

२५ असोज, काठमाडौं । विनाशकारी भूकम्प र मधेश आन्दोलनले पर्यटन क्षेत्र सुस्ताएपछि फुर्सदिला बनेका ट्रेकिङ व्यवसायीहरुमा यतिबेला चुनावी सरगर्मी चढेको छ । पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को असोज २८ गते हुन लागेको निर्वाचनले व्यवसायीलाई तताएको हो ।

टानको ३७औं वाषिर्क साधारणसभाले नयाँ कार्यसमिती चयन हुनेछ । टानको नेतृत्वका लागि सागर पाण्डे र चन्द्रप्रसाद रिजालले आइतबार उम्मेदवारी दर्ता गरिसकेका छन् । दुबै जनाले आ-आफ्नो नेतृत्वमा छुट्टा-छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । टानमा १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २५ गते १२:४५

Sagar Pandey Chandra Rijal

नविन अर्याल
२५ असोज, काठमाडौं । विनाशकारी भूकम्प र मधेश आन्दोलनले पर्यटन क्षेत्र सुस्ताएपछि फुर्सदिला बनेका ट्रेकिङ व्यवसायीहरुमा यतिबेला चुनावी सरगर्मी बढेको छ । पर्वतीय पर्यटनको छाता संस्था ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)को असोज २८ गते हुन लागेको निर्वाचनले व्यवसायीलाई तताएको हो ।

टानको ३७औं वाषिर्क साधारणसभामा नयाँ कार्यसमिती चयनका लागि चुनाव हुनेछ । टानको नेतृत्वका लागि सागर पाण्डे र चन्द्रप्रसाद रिजालले आइतबार उम्मेदवारी दर्ता गरिसकेका छन् । दुबै जनाले आ-आफ्नो नेतृत्वमा छुट्टा-छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । टानमा १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।

सागर पाण्डेको समूहलाई कांग्रेस निकट निट नेपाल र एमाओवादी निकट नेपाल पर्यटन व्यवसायी मञ्चले साथ दिएको छ । उता चन्द्र रिजालको समूहलाई एमालेनिकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, एमाओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन लगायतले साथ दिएका छन् ।

उम्मेदवारी मनोनयनसँगै दुबै समूहले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् । उनीहरुले आ-आफ्नै तर्फबाट व्यवसायीक भेला गरी चुनावी प्रचार-प्रसार गर्दै आएका छन् । दुबै समूहले आफुहरुको व्यवसायीक पकड राम्रो रहेकाले बाजी मार्ने दाबी गर्दै आएका छन् ।

अध्यक्षका प्रत्यासी पाण्डेले आफुसँग पुराना र लामो समय अनुभव बटुलेका व्यवसायीहरु रहेको हुँदा चुनाव जित्ने ठोकुवा गर्छन् । उता अध्यक्षका अर्का प्रत्यासी रिजालले युवा व्यवसायी, शेर्पा समूह र मजदूरको साथ रहेको बताउँछन् ।

पाण्डेले पर्यटन व्यवसायमा अवाद्ध भएको २ दशक पुगिसकेको बताए । ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा राम्रो पहिचान बनाएको दाबी गर्ने पाण्डेले मजदूर र व्यवसायीका समस्याहरुलाई नजिकबाट नियालेको बताउँछन् ।

‘ऐन, कानुन, पर्यटनमा देखिएका चुनौती तथा बजारीकरणलाई समय सापेक्ष परिवर्तन र व्यवस्थीत गर्दै लैजाने मेरो उद्देश्य छ’ पाण्डेले भने- ‘मैले अहिलेसम्म सिकेको अनुभवले त्यो काम गर्न योग्य रहेको छु ।’

टानको चुनावमा ८ वर्षदेखि सहभागी भएको बताउने अर्का प्रत्यासी रिजालले सरकार व्यवसायीबीच पुलको काम गर्ने दाबी गर्छन् । ‘सरकारलाई कन्भिन्स गरेर व्यवसायी र मुलुकको हितमा हुने काम गर्छु’ उनले भने- ‘पर्यटन क्षेत्रको विकास गरेर अर्थतन्त्रको विकामा लाग्नु अहिलेको आवश्यकता हो ।’

पाण्डे समूहका उम्मेदवारहरु

Sagar Pandey Pannel

पाण्डे समूहको वरिष्ठ उपाध्यक्षमा निमा शेर्पा, प्रथम उपाध्यक्षमा विद्या हिराचन, द्धितिय उपाध्यक्षमा रिषिप्रसाद नेपाल, महासचिवमा पासाङ शेर्पा, सचिवमा छेटुप तामाङ, कोषाध्यक्षमा लिलाबल्दब दाहाल, सहकोषाध्यक्षमा शंकर पाण्डे रहेका छन् ।

यसैगरी सदस्यहरुमा नकुल देवकोटा, महेश बुढा मगर, पेम्बा शेर्पा ‘संगम’, अर्जुन पाण्डे, रभि भट्ट, राजन प्रसाद ढुंगाना, शिवहरी सापकोटा, हिमाल घले र तारा राना रहेका छन् ।

रिजाल समूहका उम्मेदवारहरु

रिजाल समूहको बरिष्ठ उपाध्यक्षमा टासी लाक्पा शेर्पा, प्रथम उपाध्यक्ष तेजबहाजुर गुरुङ, द्धितिय उपाध्यक्ष रामप्रसाद सापकोटा रहेका छन् । त्यस्तै, महासचिव कर्णबहादुर लामा, सचिव मुक्ति पाण्डे, कोषाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, सह-कोषाध्यक्ष कृष्णमान श्रेष्ठ रहेका छन् ।

सदस्यहरुमा रुद्रजंग अधिकारी, तारानाथ लामिछाने, सूर्यवहादुर घिमिरे, देवी पाण्डे, डम्बरबहादुर अधिकारी, बासुदेव लम्साल, वाङ्छु शेर्पा, सरिता लामा र ङावा ङमिा शेर्पा रहेका छन् ।

Chandra Rijal Pannel

टानमा करिव १२ सय ट्रेकिङ कम्पनीहरु आवद्ध रहेका छन् । टान पर्यटन क्षेत्रको पुरानो रुपमा चिनिन्छ । ट्रेकिङमा जाने पर्यटकबाट टिम्स बापत उठाइने रकम समेत परिचालन गर्न पाउने अधिकार पाएको टान नेपाल उद्योग वाणिज्य महासंघभन्दा धनी रहेको छ । चुनावी मैदानमा उत्रिएका दुबै समूहले संगठनात्मक सुधार, व्यवसायीक हकहित र पर्यटन प्रवर्द्धनमा जाेड दिने प्रतिवद्धता जनाएका छन् ।

पाण्डे समूहको प्रमुख प्रतिवद्धता

पाण्डे समूहको चुनावी घोषणापत्रमा व्यवसायीको हकहितलाई पहिलो प्राथमिकतामा राखिएको छ । पदयात्रा तथा पर्वतारोहण सम्बन्धी अनुमतिपत्र लिन एकद्धारा प्रणालीमार्फत सरलीकरण गर्न सरकारलाई घचघचाउने पाण्डे समूहको प्रतिवद्धता छ ।

अहिले कायम पदयात्रा तथा पर्वतारोहण शुल्कहरुलाई न्यूनतम दर कायम गर्न दबाब दिने, आरोही र पदयात्री मजदुरको बीमालाई प्रभावकारी कार्यान्वयमा जोड दिने, पर्वतीय पर्यटनमा अनाधीकृत पदयात्रा व्यवसायलाई नियन्त्रण गर्न पहल गर्ने, नेपाल सरकार, पर्यटन बोर्ड, पर्वतारोहण संघ, नाटा लगायतका संघसंस्थासँग सहकार्य गरी अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा बढी व्यवसायीहरुको सहभागिता जुटाउने प्रयत्न गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

पाण्डे समूहको दोस्रो प्राथमिकतामा टानको संस्थागत सुदृढिकरण परेको छ । टानको सांगठनिक र प्रशासनिक पुनःसंरचना गरी आर्थिक प्रणालीमा पूर्ण पारदर्शीताको व्यवस्था गर्न निर्वाचन भएको ३ महिनाभित्र प्रतिवेदन प्राप्त हुने गरी टानका अग्रज तथा विज्ञहरुसहितको कार्यदल गठन गर्ने पाण्डे समूहको प्रतिवद्धता छ । टानलाई राजनीतिमुक्त बनाउने, कार्यसमितिका कुनै पनि पदाधिकारी तथा सदस्इले टानबाट कुनै भक्ता वा आर्थिक सुविधा नलिने पनि घोषणापत्रमा उल्लेख छ ।

पाण्डे समूहको तेस्रो प्राथमिकतामा पर्वतिय पर्यटनको विकास रहेको छ । त्यस्तै, पर्वतीय पर्यटनसँग सम्बन्धीत सरोकारवालाहरु राज्य, स्थानिय निकाय, राष्ट्रिय निकुञ्ज, समुदाय, मजदूर युनियन, लगायतका संघसंस्थासँग सहकार्यमुलक र सुमधुर सम्बन्ध स्थापित गरिने भएको छ ।

नेपाल पर्वतारोहण संघमा टे्रकिङ कम्पनीहरुको मताधिकारको संरक्षण गदै चूलीहरुबाट प्राप्त राजश्वको न्यायोचित र परिणममुखि परिचालन र पारदर्शितामा जोड दिइनेछ ।

पर्यटन प्रवर्द्धन सम्बन्धमा टिम्सबाट संकलित आर्थिक कोषको समुचित भाग नेपालको पर्वतिय पर्यटन प्रवर्द्धनका लागि अनिवार्यरुपले अन्तराष्ट्रिय प्रर्वद्धन कार्यमा खर्च गर्ने व्यवस्था गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

पर्वतिय पर्यटनका गतिविधीहरु पदयात्रा, आरोहण, साहसिक खेल र अन्य आउटडोर एक्टिभिटिजसँग सम्बन्धीत संघ सस्थाहरुको एक अन्तराष्ट्रिय स्तरको छाता संगठन निर्माण गर्न टानले पहल गर्नेछ ।

रिजाल समूहको प्रमुख प्रतिवद्धता

आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान बढाई सरकारलाई ‘समृद्ध नेपालः सुखी नेपाली’ नेपालीको लक्ष्य हासिल गर्न यो समूहले सहयोग पुर्‍याउने प्रतिवद्धता जनाएको छ ।

भूकम्पपछि सुस्ताएको पर्यटन व्यवसायलाई चाँडोभन्दा चाँडो पुनरुत्थान गर्नका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरी लागू गरिने भएको छ ।

नेपाली पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देशहरु प्रभावकारी रुपले विश्वभरी प्रचार-प्रसार गरी अवरुद्ध पदयात्रा मार्गहरु अविलम्ब सुचारु गर्न प्रयत्न गर्ने प्रतिवद्धता यो समूहको छ ।

टानको नेतृत्वलाई पूर्णतया पर्वतीय पदयात्रा र पर्वतारोहण व्यवसायसँग सम्वन्धित समस्याहरु र तिनको समाधानप्रति समर्पित व्यवसायिक नेतृत्वको रुपमा विकास गरिनेछ । टानको विद्यमान संगठनात्मक ढाँचालाई पुनःसंरचना तथा विस्तार गर्दै लैजाने बताइएको छ ।

टे्रकर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम टिम्सलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा अनाधिकृत पदयात्रा व्यवसायलाई निरुत्साहित गर्न पनि यो समूहले पहल गर्न ‘पूर्णतया अनलाइन सिस्टम’को व्यवस्था मिलाई सम्पूर्ण सदस्यहरुले आफ्नै कार्यालयबाट ‘टिम्सकार्ड’ जारी गर्न पाउने व्यवस्था मिलाइने भएको छ ।

टिम्समार्फत टानलाई प्राप्त हुने आर्थिक स्रोतलाई बाषिर्क कार्ययोजना बनाई पारदर्शी ढंगबाट मात्रै खर्च गर्ने व्यवस्था सुनिश्चित गरिनेछ ।

अन्नपूर्ण, मनास्लु, लाङटाङ्ग, सगरमाथा लगायत अन्य पदयात्रा र पर्वतारोहण मार्गमा रहेका मानवरहित उच्च हिमाली इलाकाहरुमा सम्भावित प्राकृतिक विपद्हरुबाट पदयात्रा तथा पर्वतारोहण श्रमिकहरु र पर्यटकहरुलाई सुरक्षित राख्नका लागि आवश्यक आपत्कालीन सेल्टरहरु निर्माणका लागि पहल गरिनेछ ।

अन्नपूर्णको मनाङ्ग र सगरमाथाको नाम्चे, त्याङ्गबोचे र ‘हाइपास’हरुमा उच्च प्रविधियुक्त मौसम परिवर्तन पूर्वाअनुमान केन्द्र स्थापना गरी सम्बन्धित सबैलाई मौसमसम्बन्धी आपत्कालीन सूचना प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

नेपालको साहसिक पर्यटन प्रवर्द्धनका लागि अन्तराष्ट्रिय स्तरको पदयात्रा तथा पर्वतारोहणसम्बन्धी मेला र सम्मेलनहरुको आयोजना गर्न पहल गरिने भएको छ ।

पदयात्रा व्यवसायलाई श्रमिकमैत्री बनाइनेछ । पदयात्रा तथा पर्वतारोहणका गन्तव्यहरु कञ्चनजङ्गा, मनास्लु, माथिल्लो मुस्ताङ, डोल्पा र हुम्ला लगायतका संरक्षित तथा नियन्त्रित क्षेत्रहरुलाई खुल्ला गर्न पहल गर्ने प्रतिवद्धतामा उल्लेख छ ।

पदयात्रा पर्यटनमार्फत आय-आर्जन तथा रोजगारी सिर्जनामा उत्कृष्ट योगदान पुर्‍याउने तथा नयाँ गन्तव्य र प्याकेज उत्पादन गरी प्रबर्द्धन गर्ने टे्रकिङ एजेन्सीलाई टानको तर्फबाट प्रोत्साहनस्वरुप पुरस्कृत गर्ने व्यवस्था गरिनेछ ।

पदयात्रा र पर्वतारोहणसँग सम्बन्धित साहसिक तथा खेल पर्यटनलाई प्रबर्द्धन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न गतिविधि तथा प्रतियोगिताहरु संचालन गरिनेछ ।

पर्यटकको आन्तरिक हवाई उडानलाई सहजीकरण गर्न र पदयात्रा संचालन गर्न पठाउने कार्गो सामग्रीहरुलाई हवाई मार्गबाट सहज रुपमा पठाउनका लागि एअरपोर्टको आन्तरिक टर्मिनलमा प्रवेश पासको व्यवस्था मिलाउन पहल गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?