+
+

इरेजर : प्रयोगवादी नेपाली निबन्धाख्यान

साहित्यकार एवम् अनुवादविद् गोविन्दराज भट्टराईकृत इन्ट्रोड्युसिङ ट्रान्सलेसन स्टडिजलाई नेपाली भाषामा अनुसिर्जना गरेर नेपाली साहित्यमा उदाएका अनुवादक बलराम अधिकारीले त्यसपछिका समयमा भट्टराईकै सुकरातको पाइलालाई अङ्ग्रेजीमा अनुसिर्जना गरे ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २६ गते १७:२३

टेकनारायण ढकाल

साहित्यकार एवम् अनुवादविद् गोविन्दराज भट्टराईकृत इन्ट्रोड्युसिङ ट्रान्सलेसन स्टडिजलाई नेपाली भाषामा अनुसिर्जना गरेर नेपाली साहित्यमा उदाएका अनुवादक बलराम अधिकारीले त्यसपछिका समयमा भट्टराईकै सुकरातको पाइलालाई अङ्ग्रेजीमा अनुसिर्जना गरे । निर्बन्ध निबन्ध कविता पनि र आख्यान पनि हो भन्ने तथ्य साहित्यकार अभि सुवेदीको निबन्धमा उत्तरवर्ती कालखण्ड निबन्ध संग्रहले स्थापित गरिसकेको छ ।

balram-book-Ereasorयतिखेर भने बलराम अधिकारी प्रयोगवादी धारामा लेखिएको निबन्धाख्यान इरेजर (२०७२) लिएर उभिएका छन् । रत्न पुस्तक भण्डारबाट प्रकाशित यस कृतिले साहित्य साधक एवम् समालोचकका सामु नौलो यथार्थ प्रस्तुत गरेको छ- हरेक अनुवादकमा सिर्जनशील व्यक्तित्व अन्तर्निहित हुन्छ र हरेक स्रष्टामा अनुवादक लुकेको हुन्छ । यी दुई एकअर्काका परिपूरक हुन् ।

नेपाली सत्तासीन वर्गको अदूरदर्शी शासन पद्धतिका कारणले बहुसङ्ख्यक नेपाली गरिबी, शोषण र उत्पीडनको जाँतोमा पिल्सनु परेको तथ्य नेपाली धरतीको यथार्थ हो । यिनै श्रमजीवी एवम् सरल नेपालीका सुकुम्बासी बस्तीहरुलाई नेपाली राजनीतिका क्रान्तिनायक तथा धार्मिक विद्वेष फैलाउने निशाचरहरुले आˆना भ्रमपूर्ण सपना बेच्ने उत्तम स्थानका रुपमा चयन गरेको समसामयिक तीतो यथार्थबाट यस निबन्धाख्यानको उठान भएको छ ।

मूलधारका नायकको निर्देशनमा चल्ने मानव शिकारीका विरुद्ध धावा बोल्ने उद्देश्यपूर्तिका निम्ति राजनैतिक दलले बाँडेको सामूहिक रक्तिम तर एक रङ्गी यात्राको जादूमय छडी समात्ने अमूक पात्र र वाममार्गीका लाल पुस्तकहरू हातमा लिएर पनि त्यतापट्ट िसमाहित हुन अनिच्छुक तर व्यक्तिगत स्वतन्त्रताको बहुरङ्गी मार्गतर्फ इच्छुक ‘म’ पात्र यस इरेजरका प्रधान पात्रहरु हुन् । एकै बस्तीमा समान किसिमको आर्थिक सङ्कट झेल्दै हुर्के-बढेका यी दुई समवयी युवाको विपरीतगामी यात्रा तय बडो गम्भीर प्रकृतिको छ ।

नवलेखनको उत्तम दृष्टान्त बनेको यस निबन्धाख्यानको नामकरण अङ्ग्रेजीमा गरिएको छ । अतिप्रचलित शब्द ‘इरेजर’ को प्रतीकात्मक अर्थ के होला ? यो कौतुहलको विषय बनेको छ । एकचोटि पुराणतर्फ फर्कौँ- सृष्टिकर्ता ब्रहृमा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर जगत्कै ठूला इरेजरधारी हुन् । यस लोकमा उनीहरूको इच्छानुसार नै समस्त प्राणीको उत्पत्ति, पालनपोषण र संहार हुने गर्छ । यो शाश्वत नियम अपरिवर्तनीय छ । त्यही नियमको अनुकरण गर्दै साहित्य स्रष्टाले आफ्ना कलाकृतिमा विभिन्न पात्रहरूको सिर्जना गर्छन्, तिनलाई विभिन्न भूमिका प्रदान गर्छन् र अन्ततः तिनीहरूको अस्तित्व निमिट्यान्न पार्छन् ।

ईश्वरले जस्तै लेखकहरु पनि आˆना पाठ्यभूगोलमा पात्रहरु जन्माउँछन्, हुर्काउँछन् र तिनको अस्तित्वमा मृत्युरुपी इरेजर लगाउँछन् । स्रष्टाको इच्छानुसार ती प्रकट हुन्छन्, नाट्यभूमिका निर्वाह गर्दछन् र मृत्युवरण गर्छन् । पाठ्यब्रहमाण्डमा सृष्टि, स्थिति र संहार गर्न स्रष्टालाई छुट प्राप्त भएकै छ । तर भोक प्यासले गलेका सामान्य जनतालाई भ्रामक सपना बाँडेर युद्धमा होम्न र आक्रमण वा प्रतिकारका नाउँमा उनीहरूको जीवनलीला समाप्त पार्ने अधिकार शक्तिधारीहरूले कहाँबाट पाए ? के यो त्रासद कर्म वैध छ ? यही गम्भीर प्रश्न उठाइदिएको छ इरेजरले ।

अन्तरपाठीयता यस कृतिको अर्को रोचक प्रश्न हो । यहाँ स्रष्टाले गोविन्दराज भट्टराईका उपन्यासहरु मुग्लान र सुकरातका पाइला, हृदयचन्द्रसिंह प्रधानको एक चिहान, धर्मेन्द्र विक्रम नेम्वाङको रातो बाघ, एवम् प्रकाश आङ्देम्बेको रुवैयात कविता सङ्ग्रह, श्रवण मुकारुङको विसे नगर्चीको बयान, दौलत विक्रम विष्टको चपाइएका अनुहार, कार्ल माक्र्सकाजर्मन आइडिओलोजी र कम्युनिष्ट मेनिफेस्टो एवम् माओ त्सेतुङका रेड बुक्ससँग इरेजरका पाठकवृन्द पूर्व परिचित छन् भन्ने मान्यता राखेका छन् ।

त्यसैगरी अङ्ग्रेज उपन्यासकार जर्ज अर्वेलको एनिमल फार्म र जर्मनेली दार्शनिक फ्रेडरिक नित्सेको दश स्पेक जराथुष्ट्रयस निबन्धाख्यानका अभिन्न अङ्ग बनेका छन् । यी बाहेक वेदव्यास (महाभारत), वाल्मिकी (रामायण), देवकोटा (प्रमिथस), मदनमणि दीक्षित (माधवी), गोपालप्रसाद रिमाल (आमाको सपना), दौलत विक्रम विष्ट (भोक र भित्ताहरू), शिवकुमार राई (माछाको मोल), मोदनाथ प्रश्रित (देवासुर सङ्ग्राम), आहुति (नयाँ घर) र खगेन्द्र सङ्ग्रौला (का. गोञ्जालोका विचारहरू) का पाठ्यसन्दर्भहरू प्रकट रुपमा भेटिन्छन् ।

जोन मिल्टन (प्याराडाइज लस्ट), लियो टाल्स्टाय (वार एण्ड पिस), बोरिस पास्तरनाक (डाक्टर जिभागो), हारुकी मुराकामी (१९८४), यासुनारी कावावाता (हिमदेश), जोसेफ कन्राड (नोस्ट्रोमो), कार्ल गुस्ताभ युङ (मोडर्न म्यान : इन सर्च अफ सउल), जे. कृष्णमूर्ति (फस्ट एण्ड लास्ट फ्रिडम), हार्पर ली (टु किल ए मकिङ बर्ड), एल्डस हक्स्ले (ब्रेभ न्यू वर्ल्ड  र द माइन्ड अफ् कृष्णमूर्ति)का प्रसङ्ग पनि प्रबल रुपमा प्रकट भएका छन् ।

त्यस्तै किसिमले वी.पी. कोइराला, मनोजबाबु मिश्र, रवीन्द्र मिश्र, विवेकानन्द, ओसो, रजनीश, विश्वेस्वर शर्मा, महात्मा गान्धी, खालिल जिब्रान, इसा मसीह, थिच नात हान, भ्लादिमिर लेनिन, चे ग्वेभारा, चाल्र्स डार्विन, सिगमण्ड फ्रायड र जर्ज गुर्जेफका प्रसङ्ग कतै प्रकट त कतै अप्रकटरुपमा अभिव्यक्त भएका छन् । यसै हारमा लेखकले सद्दाम हुसेन, जर्ज बुश, ओसामा विन लादेन, आयोतोल्ला खोमिनी र सम्राट अशोकलाई पनि उभ्याएका छन् । ज्याक डेरिडा र गायत्री स्पिभाक चक्रवर्ती जस्ता मूर्धन्य उत्तरआधुनिक सिद्धान्तकारहरू पनि अभिन्न छन् ।

यी सन्दर्भले स्रष्टाको अध्ययन र रुचिको विस्तृत आयाम एवम् कृतिको सघन विस्तृतिका परिचायक हुन् । जम्मा १२८ पृष्ठको कृतिमा यति धेरै अन्तरपाठीयताको संयोजन गरेबाट कृतिकारको बौद्धिक, आध्यात्मिक एवम् कलात्मक चिन्तनको परिपक्वता स्वयम्सिद्ध भएको छ ।

अति सुन्दर कृति इरेजरमा केही दुर्वल पक्ष पनि विद्यमान छन् । लेखकले परम्परालई त्याज्य ठहराउनुको सट्टा परम्पराका यी यी पक्षलाई निरन्तरता दिनुपर्ने र यी यी विषयलाई पन्छाउँदै जानुपर्ने भनी प्रष्ट्याएको भए उत्तम हुने थियो । यसका साथै शक्तिको प्रयोगलाई निरपेक्ष रुपमा त्याज्य ठहराउनुको सट्टा त्यसलाई सापेक्षतामा मूल्याङ्कन गरेको भए अत्युत्तम हुन्थ्यो । एकतन्त्री राणा शासनको विरुद्धको सङ्ग्राममा वी.पी. जस्ता सर्वमान्य राजनेताले पनि मुक्ति सेना गठन गर्नुपरेको इतिहास हाम्रा सामु ताजै छ । यसका साथै समानतावादीले/एकतन्त्रवादीले मात्र शक्तिको आड लिएका छैनन्, सामानवादीले पनि शक्तिको आड लिएको विश्वव्यापी दृष्टान्तलाई भुल्न हुँदैन । त्यस्तै अत्याधिक अन्तरपाठीयताले यस कृतिलाई केही दुर्वोध्य बनाएको छ ।

जे होस्, यस कृतिका सकारात्मक पक्ष अत्यन्त प्रबल छन् । स्रष्टाले व्यङ्ग्य प्रहार गर्दा कतिपय ठाउँमा बिम्ब र प्रतीकको सहारा लिएका छन् त कतिपय अवस्थामा पात्रपात्राका जनबोली प्रयोग गरेका छन् । कृतिमा प्रयुक्त स्थान नाम-बल्खु, सानेपा, पेरिसडाडाँले पनि प्रतीकात्मक अर्थ बोकेका छन् । केही रोचक शब्द निर्माण एवम् प्रयोग गरेका छन् । जनता र जा-उता (दुश्मन), समानतावादी (साम्यवादी) र सामानवादी (पुँजीवादी), पाठ्य ब्रह्माण्ड र पाठ्यभूगोल, शब्दशक्ति र हस्तशक्ति केही उदाहरण मात्र हुन् ।

गोविन्दराज भट्टराइको भूमिका रहेको यस इरेजरमा धर्मेन्द्र विक्रम नेम्वाङ र रोशन शेरचनले लघु टिप्पणी लेखेका छन् । सुन्दर साजसज्जा रहेको यस कृतिको रचना गर्भ पनि रोचक नै छ- विश्वविद्यालयका अध्यापक अधिकारीको पठनक्षितिज बहुविधा र गहन हुने नै भयो । त्यसमा पनि भावना, अनुभूति र करुणाका धनी अधिकारीले आफूलाई पद, प्रतिष्ठा र पैसाको दौडबाट अलग्याएर एकान्तमा रही अन्तरात्माको आवाज सुन्न बढी तल्लीन रहन्छन् ।

बहुलताको खोजीमा विचारमग्न अधिकारीको सृजना भण्डारमा एस. टी. कलरिजले भनेझैं प्राथमिक कल्पनाशक्ति (प्राइमरी इम्याजिनेशन) प्रचुर छँदै थियो । भट्टराई निवास तथा सयपत्री रेष्टुराँका साहित्यिक अन्तरक्रियामा अधिकारीको सक्रिय सहभागिता तथा प्रौढ साहित्यकारबाट प्राप्त प्रेरणा र सृजनाको उच्च मूल्याङ्कन, उनका आध्यात्मिक, दार्शनिक तथा साहित्यिक ज्ञान भण्डारलाई मूर्त रुप दिन गरिएको आग्रहको प्रतिफलका रुपमा इरेजररुपी काव्य रचिएको हो । यो पङ्तिकार यसको साक्षी छ ।

अन्त्यमा, दशकौँसम्म राजनैतिक खिचातानी र प्रतिशोधको अनुचित खेल चलिरहने हाम्रो समाजमा कुनै पनि किसिमका आन्दोलन वा हतियार सहितका क्रान्तिमा जोशिला युवाहरूलाई संलग्न गराउनका निम्ति उत्तेजक भाषण गर्ने गरिन्छ । त्यस खालका गतिविधिमा होमिनुपूर्व हरेक व्यक्तिले आफ्नो अन्तरात्माको आवाजलाई सुनेर मात्र आवश्यक निर्णय लिनु बुद्धिमानी हुन्छ । विगतको सशस्त्र युद्धका घात प्रतिघातलाई नजिकबाट नियाल्न र आगतमा सचेत भई स्वतन्त्रताको यात्रामा अगि बढ्न चाहने जो कसैले पनि शैली, विधा र प्रस्तुतिमा नवीनता बोकेको यो ‘इरेजर’ जबरजस्ती पढ्नै पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?