२० कात्तिक, काठमाडौं । भदौमा परीक्षा सकिएको भए पनि शिक्षाशास्त्र संकायका विद्यार्थीले टिचिङ प्राक्टिस गर्न पाएका छैनन्। २५ पूर्णांकको अभ्यास शिक्षणको नम्बर नआउँदासम्म विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न मिल्दैन।
लिखित परीक्षा समाप्त भए पनि तराई बन्दका कारण ती क्षेत्रका विद्यार्थीले यस्तो अभ्यास गर्न पाएका छैनन् । लिखित परीक्षा दिएका विद्यार्थीको उत्तरपुस्तिका पनि परीक्षणका लागि केन्द्रमा ल्याउन नसकेको अन्नपूर्ण पोस्टमा खबर छ ।
परीक्षा नियन्त्रक केशव बास्तोलाका अनुसार उत्तरपुस्तिका क्षेत्रीय कार्यालय र परीक्षा केन्द्रमा नै थन्किएका छन्।त्रिविको उपत्यकाबाहेक विराटनगर, पोखरा, कैलाली र नेपालगन्जमा क्षेत्रीय कार्यालय छन्।
केही केन्द्रमा उत्तरपुस्तिका संकलन गरिएको भए पनि इन्धन अभावका कारण सवारीसाधन गुडाउन नसकिएपछि परीक्षार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन नसकिएको त्रिविले जनाएको छ। बास्तोलाले भने, ‘ती उत्तरपुस्तिका बोक्ने गाडीलाई पर्याप्त इन्धन दिन सकिएको छैन। यताबाट केही इन्धन हालेर पठाए पनि आउने बेलामा सकियो भने के गर्ने भन्ने समस्याले सताएको छ।’
इन्धन अभावकै कारण परीक्षा सञ्चालन तथा नतिजा प्रकाशनसम्बन्धी अन्य काममा समेत बाधा पुगेको त्रिविको भनाइ छ। जेनेरेटर चलाउन आवश्यक डिजेल नहुँदा लोडसेडिङको समयमा कर्मचारीलाई काममा लगाउन सकिएको छैन।
शैक्षिक तालिकाअनुसार पढाइ सञ्चालन गर्न नसकेको तथा परीक्षासम्बन्धी अन्य काम गर्न नसक्दा लथालिंग बनेको परीक्षा नियन्त्रण कार्यालय यसपटकको इन्धन अभावका कारण थप मर्कामा परेको छ। २०६३ सालमा भएको लोकतान्त्रिक आन्दोलनपछि लिकबाट बाहिर गएको सबै तहको शैक्षिक गतिविधि त्रिविको शैक्षिक क्यालेन्डर अझै पनि पूर्ण रूपमा लिकमा आउनसकेको छैन।
प्रतिक्रिया 4