+
+

नेपाल प्रहरीमा पहिलोपटक बीमाको व्यवस्था

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २३ गते १४:०३

२३ मंसिर, काठमाडौं । नेपाल प्रहरीको छ दशक लामो इतिहासमा पहिलोपटक प्रहरी कर्मचारीका लागि एक लाख रूपैयाँको जीवन बीमा व्यवस्था गरिएको छ ।

Nepal-Policeसरकारले गत कात्तिक २३ गते प्रहरीलाई एक लाखको जीवन बीमाको व्यवस्था गर्ने निर्णय गरेसँगै सोहीबमोजिम प्रहरी नियमावलीमा त्यसको व्यवस्था गर्न लागेको हो ।

मन्त्रिपरिषद्ले गरेको सो निर्णयअनुसार बीमाका लागि प्रत्येक प्रहरीको मासिक तलबबाट कट्टा गरिने २०० र सरकारका तर्फबाट २०० थप गरी जम्मा ४०० रूपैयाँ कोषमा जम्मा गरिने प्रहरी प्रवक्ता कमलसिंह बमले जानकारी दिए ।

जीवन बीमा कार्यक्रमअन्तर्गत जम्मा भएको रकम सहभागी प्रहरी कर्मचारीलाई सेवाबाट निवृत भएमा र प्रहरी कर्मचारीको मृत्यु भएमा भुक्तानी दिइने व्यवस्था गर्न नियमावली संशोधनका लागि पठाइसकेको प्रवक्ता बमले बताए । यो कार्यक्रम चालु आर्थिक वर्षबाट लागू हुने बताइएको छ ।

कोषमा रकम कट्टा गर्न सुरु गरेको २० वर्ष अवधि नपुगी कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको परिवारले एक लाख रूपैयाँ बीमा रकम पाउनेछ । सो कार्यक्रमअन्तर्गत प्रहरी कर्मचारी सेवाबाट अवकाश भएमा भने रकम कट्टी गरेको वर्षका आधारमा १० हजारदेखि एक लाख रूपैयाँसम्म भुक्तानी पाउने व्यवस्था रहेको छ ।

त्यस्तै प्रहरी कर्मचारीले जम्मा गरेको कोषको वार्षिक प्रतिफल भने आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र सम्बन्धित व्यक्तिको खातामा जम्मा गरिने उनले बताए ।

यसअघि प्रहरीको कल्याणकारी महाशाखाले २०६९ सालदेखि प्रहरी कर्मचारीका लागि आफैँ विशेष कल्याणकारी योजनाअन्तर्गत सोही प्रकृतिको व्यवस्था गर्दै आएको छ । सो योजनाअनुसार प्रत्येक कर्मचारीको तलबबाट प्रति महिना २५० रूपैयाँ जम्मा गर्ने र कार्यकालभर मृत्यु भएमा तीन लाख रूपैयाँको बीमा रकम दिने तथा अवकाश हुँदा ब्याजसहितको रकम पाउने व्यवस्था छ ।

कल्याणकारी योजनामा दर्जाअनुसार एक लाखदेखि दुई लाख ५० हजार रूपैयाँसम्म सहुलियत ब्याजदरमा कर्जा र कडा प्रकृतिको रोग लागेका वहालवाला कर्मचारीलाई एक लाख रूपैयाँ उपचार सहयोग दिने व्यवस्था रहेको प्रवक्ता बमले बताए ।

यसबाहेक प्रहरीको कल्याणकारी कार्यका लागि संयुक्त राष्ट्र सङ्घको विश्व शान्ति कार्यमा खटिने प्रहरीको पारिश्रमिकबाट जम्मा हुने ‘नेपाल प्रहरी कल्याण कोष’समेत रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?