+
+

चितवनमा गुञ्जिए सङ्गीत श्रोता

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १२ गते १२:५९

Sangit-Shorata

चिच्याउनुहोस् र भन्नुहोस्-

कोर्रा खाइरहेका बन्दी चिच्याउनै छाड्यो भने के हुन्छ ?

च्याँट्ठिनुहोस् र भन्नुहोस्-

भोकभाकै छाडिएको बच्चा च्याँट्ठिन छाड्यो भने के हुन्छ ?

शनिवार दिउँसो चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटको भवनमा युवा कवि सङ्गीतश्रोता ‘समय सन्नाटा’ कविता वाचनका क्रममा निकै आक्रमक सुनिए । उनले कवितामार्फत देशका विकृति-विसंगतिमाथि कडा प्रहार गरे ।

अखिल नेपाल लेखक सङ्घ, चितवनले त्यहाँ उनको एकल कविता वाचन कार्यक्रम आयोजना गरेको हो । जहाँ सङ्गीतले आˆना १७ वटा कविता वाचन गरे । उनी दर्जनजति कविता सुनाउने तयारीका साथ त्यहाँ पुगेका थिए । तर, दर्शकको बलियो आग्रहपछि उनले थप कविता सुनाएका थिए ।

जता पनि देखिने पुरुषको बाहुल्यताविरुद्ध उनले ‘महिलाहरु कहाँ छन् ?’ शिर्षकको कवितामार्फत बोले । प्रमुख अतिथिको आसनदेखि राष्ट्रपतिको कार्यलयसम्म पुरुषकै दबदबा रहेको कुरा उनको कविताले बोलिरहेको थियो । कविताको अन्तिम हरफमा उनले सोधे:

म पनि हुँ एउटा पुरुष युवा

बैंँससहितकोे वयस्क ज्यान

अरे ओ कविज्यू !

मलाई बताइदिनुस्-

यो देशमा महिलाहरू कहाँ छन् ?

उनले आमाले दिएको आशीर्वचनलाई पनि ‘हतारहतारमा यात्रा’ कवितामार्फत सम्झिएस:

म आज यहाँ आइपुगेको छु, यो सहरमा

हतार-हतारमा

र, यति बेला पनि झल्झली सम्झिरहेको छु मैले

आमाको आशीर्वचन

‘हतारमा यात्रा गर्दा धेरै नहडबडाउनू कान्छा !’

सङ्गीतको ‘सुई’ कविताले आजको मान्छे र परिवेशले भोगेको पुँजीवाद र बजारको कठोर यन्त्रणालाई व्यक्त गरेको थियो ।

प्रिय सुनकला ! तिमीले चिन्यौ ?

को हो यो युगलाई सुई हान्दै हिँड्ने डाक्टर ?

र कसले गरिरहेछ यहाँ

उज्यालोको खुद्रा व्यापार ?

के त्यो एउटै मान्छे हो ?

कार्यक्रममा सङ्गीतले ‘हेडसर-वसन्ती’, ‘मुस्कान’, ‘समय सन्नाटा’, ‘कनेक्सन’, ‘अगने कामी’, ‘झोला’, ‘इच्छुकको इमेल’, ‘हतारहतारमा यात्रा’, ‘अभि सुवेदी: एक देब्रे ढल्कुवा उपसर्ग’, आदि शीर्षकका कविता पनि सुनाएका थिए । गायन तथा सङ्गीत सिर्जनामा समेत राम्रो दख्खल राख्ने उनले सहभागीको आग्रहपछि ‘मै उडी जाने काँ’ बोलको गीत गाएर माहोललाई झंकारयुक्त बनाएका थिए ।

कविता वाचन सुरु हुनुअघि कवि उदय अधिकारीले सङ्गीतको व्यक्तित्व र कविताका बारेमा बोलेका थिए । उनले सङ्गीतलाई विचारको तीव्रता भएको कविका रूपमा चिनाए । कविता वाचनको अन्त्यतिर कवि विनोदविक्रम केसीले सङ्गीतका कवितामाथि टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?