परम्परागत प्रविधिका हलमा फिल्म हेर्दै आएका नेपाली दर्शकलाई मल्टिप्लेक्सको स्वाद चखाउने व्यवसायी हुन्, नकिम उद्दिन । भाष्कर ढुंगाना र राजेश सिद्दीसँग मिलेर उनले सुरु गरेको क्यूएफएक्स अहिले स्थापित ब्रान्ड बनिसकेको छ ।
नेपालमा अन्तर्राष्ट्रिय स्तरका हलहरु सञ्चालन गरी नेपालीहरुको फिल्म हेर्ने संस्कृतिमा आमुल परिवर्तन गर्न क्यूएफएक्सको ठूलो भूमिका छ । देशका प्रमुख शहर र देश बाहिर समेत क्यूएफएक्स विस्तार गर्ने योजना उद्दिनको टिमले बनाएको छ ।
नेपाल चलचित्र संघका अध्यक्ष समेत रहेका उद्दिनसँग फिल्म प्रदर्शन व्यवसाय, क्यूएफएक्सको विस्तार योजना लगायतका विषयसँग केन्द्रीत भएर अनलाइनखबरकर्मी नविन अर्यालले गरेको कुराकानी :
भूकम्प, नाकाबन्दी र आन्दोलनले मुलुकको अर्थतन्त्र थिलोथिलो हुँदा पनि फिल्म हलमा दर्शकको भिड घटेको छैन् । सायद यो संकटले नछोएको ब्यबसाय यही सिनेमा मात्र होला हैन ?
वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि करिव एक महिना हामीलाई समस्या भएको हो । त्यसपछि सिनेमा उद्योगले पिकअप लियो । बरु भारतीय नाकाबन्दीका कारण इन्धन अभाव चर्किंदा ठूलो संकट पर्यो । लोडसेडिङको बेलामा डिजेल नपाउँदा सिनेमा हल चलाउन अप्ठ्यारो भयो । हलहरु पुरै बन्द गर्नुपर्ने अवस्था भने आउन दिएनौं । व्ल्याकमा तेल किनेर भएपनि हलहरु चलायौं । तर, ‘शो टाइम’ भने कटौती गर्नुपर्यो । चल्ने फिल्मको ‘शो टाइम’ बढायौं । नचल्ने फिल्महरुको ‘शो टाइम’ घटायौं । यसरी पेट्रोललाई अधिकतम उपयोग गरी हलहरु चलायौं ।
नाकाबन्दी खुलेपनि अहिलेसम्म हामीले सहज रुपमा डिजेल पाउन सकेका छैनौं । अझै पनि हामी समस्याबाट गुज्रिरहेका छौं । भारतीय नाकाबन्दीले दर्शकको संख्या नघटे पनि हल चलाउन भने समस्या परिरहेको छ ।
यही बिचमा तपाइहरु धमाधम मल्टिप्लेक्स हल थपिरहनुभएको छ । मल्टिप्लेक्समा पुगेर फिल्म हेर्ने दर्शकहरु बढ्दै गएका हुन् ?
पछिल्लो समय काठमाडौंमा धेरै मल्टिप्लेक्स हलहरु खुलेका छन् । काठमाडौं बाहिर पनि मल्टिप्लेक्स हलहरु सञ्चालनमा आउने क्रम बढेको छ । आधुनिक प्रविधिका मल्टीप्लेक्समा फिल्म हेर्न दर्शकहरु बढिरहेका छन् । पुराना हलमा दर्शकहरु घटिरहेका छन् भने आधुनिक हलमा बढिरहेको अवस्था छ ।
क्यूएफएक्समा वाषिर्क फिल्म हेर्न आउने दर्शकको संख्या हरेक वर्ष १०/१५ प्रतिशतको दरले बढिरहेको छ । स्तरीय हलमा फिल्म हेर्ने दर्शकको चाहना पुरा गर्नका लागि हामीले हलको विस्तारमा जोड दिएका हौं । छिट्टै ललितपुरको पुल्चोकमा तीनवटा पर्दासहितको मल्टिप्लेक्स सञ्चालनमा ल्याउदैछौं । केही समयभित्र ठमेलको छायाँदेवी कम्प्लेक्समा पनि क्यूएफएक्स सञ्चालन गर्दै छौं ।
तपाइँले भन्नुभयो कि सिंगल पर्दाका पुराना हलमा दर्शक घटिरहेका छन् र मल्टिप्लेक्समा बढिरहेका छन् । यसको अर्थ मल्टिप्लेक्स कल्चरले सिंगल स्त्रिmनहरुलाई बिस्थापित गर्ने अबस्था आउन लागेको हो ?
नेपालमा आधुनिक प्रविधिका सुविधा सम्पन्न हलमा फिल्म हेर्न संस्कार विकास गर्ने श्रेय हामीलाई जान्छ । हाम्रो प्रयासले केही हदसम्म दर्शकको राम्रो पर्दामा फिल्म हेर्ने चाहाना पुरा भएको छ ।
अझै पनि धेरै ठाउँमा मल्टिप्लेक्स पुग्न सकेको छैन । उपत्यका बाहिर बल्ल मल्टिप्लेक्स हलहरु खुल्न थालेका छन् । ललितपुरको पाटनमा अहिलेसम्म मल्टिप्लेक्स हल छैन । त्यही भएर पुल्चोकमा क्यूएफएक्स बनाइरहेका छौं । पाटनबासी धेरै नै उत्साहित छन् ।
केही समयभित्र ठमेलको छायाँदेवी कम्पलेक्समा पनि क्यूएफएक्स सञ्चालन गर्दै छौं । काठमाडौं उपत्यकामा अरुले पनि मल्टिप्लेक्स सञ्चालन गरेको हुँदा यहाँका दर्शकले मल्टिप्लेक्सको सेवा सुविधाको आनन्द लिन पाइरहेका छन् ।
भर्खरै पोखरामा मल्टिप्लेक्स खुलिसकेको छ । नारायणगढमा हामीले क्यूएफएक्स जल्मा हल चलाइरहेका छौं । बुटवलमा स्तरीय हल खुलिसकेका छन् । नेपालगञ्ज, विराटनगर, धरान, विर्तामोड, वीरगञ्ज, विराटनगरमा मल्टिप्लेक्स हलहरु बन्दैछन् । इटहरीमा एउटा सञ्चालनमा आइसकेको छ । अर्को मल्टिप्लेक्स सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
समग्रमा क्यूएफएक्स आफैले उपत्यकाबाहिर हलहरु सञ्चालन गर्न नसके पनि अरु कम्पनीहरुले मल्टिप्लेक्स खोलिरहेका छन् । उपत्यका बाहिर पनि मल बनाएर मल्टिप्लेक्स चलाउने र पुरानो हललाई कुमारी हलसरह रिनोभेट गरेर डिजिटल पर्दामा फिल्म देखाउने क्रम जारी छ । अब धेरै शहरका दर्शकले मल्टिप्लेक्समा फिल्म हेर्ने चाहना पुरा हुँदैछ ।
समग्रमा क्यूएफएक्स आफैले उपत्यकाबाहिर हलहरु सञ्चालन गर्न नसके पनि अरु कम्पनीहरुले मल्टिप्लेक्स खोलिरहेका छन् । उपत्यका बाहिर पनि मल बनाएर मल्टिप्लेक्स चलाउने र पुरानो हललाई कुमारी हल जसरी रिनोभेट गरेर डिजिटल पर्दामा फिल्म देखाउने क्रम जारी छ । अब धेरै शहरका दर्शकले मल्टिप्लेक्समा फिल्म हेर्ने चाहना पुरा हुँदैछ ।
तपाइँहरु आफै क्युएफएक्स ब्राण्ड लिएर काठमाण्डौ बाहिर जान किन हिचकिचाइरहनुभएको हो ?
क्यूएफएक्सलाई राजधानी बाहिर पनि विस्तार गर्ने हाम्रो योजना छ । नेपालमा बैंकबाट ऋण लिएर काम गर्ने भन्दा अर्को उपाय छैन । विदेशमा भएको भए भेइञ्चर्स क्यापिटल, प्राइभेट फण्ड लगायत धेरै ठाउँबाट पैसा लिएर काम गर्न सकिन्थ्यो । नेपालमा पूर्वाधारको अभाव र सहज ऋण नपाउँदा हामीजस्तो ग्रोइङ कम्पनीलाई आफ्नो व्यवसाय विस्तार गर्न धेरै अप्ठ्यारो परिरहेको छ ।
हामीलाई काठमाडौं बाहिरबाट धेरै अफर आइरहेको छ । हामीले आर्थिक व्यवस्थापन गर्न नसक्दा तुरुन्तै सबैतिर फैलिन नसक्ने अवस्था छ । त्यही भएर हामी फ्रेञ्चाइज मोडलमा हलहरु विस्तार गर्ने योजनामा छौं । नारायणगढको क्यूएफएक्स जल्मा फ्रेञ्चाइज हो । फ्रेञ्चाइज मोडलमा उपत्यका बाहिरका केही ठाउँमा जाने योजना बनाएका छौं । खासगरी प्रमुख शहरमा फ्रेञ्चाइज र आफ्नै लगानीमा हलहरु विस्तार गर्छौं ।
क्यूएफएक्सको नेपालभित्र मात्र नभएर विदेशबाट समेत प्रस्तावहरु आइरहेको छ । भारतको सिक्किम, भुटान र कम्बोडियाबाट क्यूएफएक्स ब्रान्ड लैजाने प्रस्ताव आएको छ । एक जना कोरियन नागरिकले अस्तिमात्र कम्बोडियामा क्यूएफएक्स ब्रान्ड लैजान्छु भन्नुभएको थियो । हामी यसका लागि सकरात्मक छौं ।
यसको मतलव क्यूएफएक्स अब ग्लोबल ब्रान्ड बन्दैछ ? तपाइहरुको विदेश यात्रा कहिलेबाट सुरु हुन्छ ?
हो, हामी विस्तारै अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्दैछौं । भुटानको थिम्पुमा मल्टिप्लेक्स बनिरहेको छ । त्यहाँबाट हामीलाई आमन्त्रण गरिएको छ । सिक्किममा बनिरहेको मल्टिप्लेक्समा पनि क्यूएफएक्स ब्रान्ड लैजान खोजिरहेका छन् । कम्बोडियामा कोरियन कम्पनीले मल्टिप्लेक्स बनाइरहेको छ, उसले काठमाडौंमा आएर हाम्रो ब्रान्ड लैजान पाए हुन्थ्यो भनेर प्रस्ताव राखेको छ । हामी गृहकार्य गरिरहेका छौं ।
भर्खरै मात्र चलचित्र नीतिको ड्राफ्ट तयार भएको छ । अहिले प्रत्यक्ष वैदेशिक लगानी चलचित्र क्षेत्रमा ल्याउन पाइदैन । हामीले धेरै पहल गरेर विदेशी लगानी चलचित्र क्षेत्रमा आउन दिनुपर्छ भनेर ड्राफ्टमा राखेका छौं । नेपालीले पनि कम्तीमा विदेशमा फिल्म प्रदर्शन उद्योगमा लगानी गर्न पाउनुपर्छ भनेर ड्राफ्टमा राखेका छौं । नीति जस्ताको तस्तै पास भएर आयो भने हामीजस्तो कम्पनीलाई धेरै फाइदा हुन्थ्यो ।
तपाइँहरुको फ्रेञ्चाइज मोडल कस्तो छ ? क्युएफएक्ससँग जोडिन चाहाने हलहरुले के गर्नुपर्छ ?
फ्रेञ्चाइजमा स्थानियहरुको लगानी हुन्छ भने व्यवस्थापन हाम्रो हुन्छ । पूर्वाधारमा अरुको लगानी हुन्छ भने व्यवस्थापनमा क्यूएफएक्स रहेको हुन्छ । त्यसले क्यूएफएक्स विस्तार गर्न हामीलाई धेरै सहज हुन्छ । किनभने सबै ठाउँमा हामी आफ्नै लगानीमा हलहरु विस्तार गर्न सक्दैनौं ।
फ्रेञ्चाइजमा व्यापार राम्रो भयो भने हामीलाई भन्दा लगानीकर्तालाई बढी फाइदा हुन्छ । तर, हामीले आफ्नो व्यापार विस्तार गर्ने हो भने फ्रेञ्चाइजभन्दा अर्को उपयुक्त मोडल पनि छैन ।
अहिले क्यूएफएक्सका पर्दाहरु कति छन् ?
अहिले क्यूएफएक्सका आठवटा पर्दाहरु सञ्चालनमा रहेका छन् । जयनेपाल सिंगल पर्दा भएको हल हो भने कुमारीमा दुईवटा पर्दा छन् । सिभिल मलमा तीनवटा र नारायणगढमा दुइवटा पर्दा छन् । एक महिनाभित्र सञ्चालनमा आउन लागेको पुल्चोकस्थित बिशाल बजारको मल्टिप्लेक्समा तीनवटा पर्दाहरु रहनेछन् । त्यस्तै, ठमेलको छायाँ सेन्टरमा ३ वटा पर्दा बनाइरहेका छौं ।
काठमाण्डौका मल्टिप्लेक्सहरु र यहाँहरुकै क्युएफएक्स पनि अझै टु के प्रबिधिबाटै संचालित छन् । फोर के प्रबिधिमा कहिलेबाट हेर्न पाइएला ?
अहिले हाम्रा सबै हलहरुमा ‘टु के’ प्रविधि रहेको छ । हामी विस्तारै ‘टु के’ प्रविधिलाई ‘फोर के’ ले विस्थापन गर्ने योजनामा छौं । पुल्चोकमा सञ्चालन हुने हलमा हामी ‘फोर के’ प्रविधिको क्यामेरा जडान गर्छौं । यो नै नेपालमा फोर के प्रविधि भएको पहिलो हल हुनेछ ।
हलिउडले हलहरुको एउटा स्टान्डर्ड बनाएको छ, टु के प्रविधि । अहिले नेपालमा ‘टु के’ प्रविधि भएका ३० वटा हल पुगिसकेका छन् । ‘फोर के’ को प्रोजेक्टर आइसकेको छ । क्यूएफएक्सले जहिले पनि नयाँ प्रविधि भित्राउने र आफ्नो दर्शकलाई सकेसम्म नयाँ सेवा सुविधा दिन कहिल्लै पछि पर्दैन ।
क्यूएफएक्स अहिले लोकपि्रय ब्रान्ड बनिसकेको छ । छिट्टै ग्लोबल ब्रान्डमा रुपान्तरण हुँदैछ । ब्रान्ड बनाउन कत्तिको संघर्ष गर्नुभयो ?
सहकर्मी भाष्कर ढुंगाना, राजेश सिद्दी र मैले सिनेमा व्यापारको यात्रा सुरु गरेको १२/१३ वर्ष पुगिसकेको छ । यो यात्रामा नेपालभित्र चलचित्रको व्यापार एउटा उचाइमा पुगेकै हो । हामीले डिजिटल प्रविधि भित्राएर होस् वा अन्तर्राष्ट्रिय स्तरका हल बनाएर होस, अथाव कागवेनी र सानो संसारजस्ता फिल्म बनाएर होस् कम्तिमा सिनेमा व्यवसायको प्रदर्शन, वितरण र निर्माणलाई आधुनिकिकरण गरेका छौं ।
हामीले सिभिल मल खोल्ने बेलामा क्यूएफएक्स ब्रान्ड बनाएका थियौं । हामी हलहरु विस्तार गर्ने योजना बनाएपछि ब्रान्डमा जान खोजेका हौं । नेपालमा पहिलो पटक सिनेमा क्षेत्रमा कर्पोरेट संस्कारको विकास गर्ने पनि हामी नै हौं । हामी तीनैजना लगानीकर्ता आफै म्यानेजमेन्टमा नरहेर प्रोफेसनल म्यानेजमेन्ट टिमलाई जिम्मा लगाएका छौं । हामी सबै मिलेर काम गर्दा ब्रान्ड विस्तारमा सहयोग भएको छ ।
ब्रान्डलाई यो तहसम्म ल्याउन हामीले निकै मेहनत गरेका छौं । मलाई विश्वास छ, क्यूएफएक्स नेपालभर विस्तार गर्ने र विदेशमा पनि लैजाने सपना साकार बनाउन हाम्रो टिम सफल हुनेछ ।
हलहरु थप्दा पुराना हलहरुको भौतिक संरचनामा सुधार गर्नुहुन्छ कि नयाँ सपिङ कम्पलेक्स खोज्नुहुन्छ ?
हामीले हलहरु विस्तार गर्दा कुनै पनि सम्झौता गर्दैनौं । सुविधा सम्पन्न हलमा स्तरीय सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो । हामी दर्शकको सुरक्षामा सम्झौता गर्दैनौं । त्यसैले पुराना हलको ‘रिनोभेसन’ भन्दा पनि मलहरुमा मल्टिप्लेक्स चलाउने हाम्रो प्राथमिकता हुन्छ ।
तपाईंहरुले सिंगल हल र मल्टिप्लेक्स दुबै चलाइरहनु भएको छ । दर्शकको आकर्षण कहाँ बढी पाउनुहुन्छ ?
दर्शकको आकर्षण मल्टिप्लेक्समै बढी पाइन्छ । नेपालमा मात्र होइन, विश्वभरको उदाहरण हेर्नुभयो भने पनि मलमा भएका सिनेमा हलहरु बढी चलेको पाइन्छ । मलको सिनेमा हल बढी चल्नुको कारण त्यहाँ फिल्मसँगै अन्य गतिविधि समेत गर्न पाइन्छ । फिल्म हेर्न जाँदा मलमा सपिङ गर्न सकिन्छ, राम्रा रेष्टुरेन्टहरु हुन्छन्, बच्चाहरुका लागि खेल्न गेमिङ जोनहरु हुन्छन् ।
तपाईंको बुझाईमा मलले हल चलेका हुन् कि हलले मल ?
दुबै एक अर्कामा अन्तरनिर्भर छन् । कतिपय मल चलेका कारण हल चलेका होलान् । कतिपय हल चलेका कारण मल चलेको पनि देखिन्छ । समग्रमा मल र हल एउटा प्याकेज हो । प्याकेज मिल्यो भने मल र हल दुबै चल्छन् । नत्र नचलेका पनि प्रशस्त उदाहरणहरु हामीमाझ छन् । खासगरी फिल्म हलकै कारण मल बढी चल्ने गरेको देखिन्छ ।
अहिले नयाँ पुस्ता पनि नेपाली फिल्ममा आकषिर्त भइरहेको देखिन्छ । नेपाली फिल्ममा सुधार हुँदै गइरहेको हो ?
हो, विस्तारै नेपाली फिल्ममा सुधार भइरहेको छ । गएको आर्थिक वर्षमा भन्दा यो वर्ष नेपाली फिल्म निकै राम्रो चलेका छन् । फिल्महरु पनि राम्रो बनेका छन् । नेपाली फिल्मले विस्तारै फड्को मार्दै छ ।
तर, तपाईहरुले नेपाली फिल्मलाई प्राथमिकता नदिएको आरोप लाग्छ नी ?
हामी ठोकठाक गरेर बनाएका कुनै पनि फिल्महरु लगाउँदैनौं । जसरी ठोकठाक फिल्महरु बनिरहेका छन्, त्यस्ता फिल्महरु पाखा नलगाएको भए अहिले नेपाली फिल्म उद्योग ध्वस्त भइसक्थ्यो । हामी त्यस्ता फिल्मलाई पाखा लगाउँछौं, जुन हाम्रो हलमा चल्न लायक छैनन् । ठोकठाक गरेर बनाएका फिल्महरु देशको प्रधानमन्त्रीले भने पनि चलाउँदैनौं ।
क्यूएफएक्सले नेपाली फिल्मलाई एउटा निश्चित मापदण्ड तोकिदिएको छ । फिल्म ‘टु के’ प्रविधिमा बनेकै हुनुपर्छ । नेपालमा हेन्डिक्यामबाट समेत फिल्म खिच्न थालेका छन् । यस्तो मानसिकताबाट पनि फिल्म चल्छन् । आफुले जस्तो पायो त्यस्तो फिल्म बनाउने अनि क्यूएफएक्सले पाखा लगायो भनेर आरोप लगाउन पाइन्छ ? हामीले त त्यस्ता फिल्महरु पाखा लगाउनैपर्छ ।
हामी घमण्डका साथ भन्छौं, आज जसरी नेपाली चलचित्रमा सुधार भइरहेको छ, त्यो हाम्रो कारणले हो । अहिले नेपाली फिल्मको व्यापार बढ्दै जानुमा क्यूएफएक्सको महत्वपूर्ण भूमिका रहेको छ ।
क्यूएफएक्समा एउटा कमिटि छ । उक्त कमिटिले फिल्म हाम्रो हलमा लाग्न लायक छ कि छैन, दर्शकले मन पराउँछन् कि पराउँदैनन् भनेर हेर्छ । कतिपय फिल्महरु सिंगल स्क्रिनमा चल्ने हुन्छन भने कतिपय फिल्महरु मल्टिप्लेक्समै चल्ने खालका हुन्छन् । हामीले प्रायः खोज्ने भनेको मल्टिप्लेक्समा चल्ने फिल्महरु नै हो ।
हामीले राम्रा नेपाली फिल्महरु बनेमा निर्माता खोज्दै फिल्म माग्न जान्छौं । तर, हिरोइन पट्याउन फिल्म बनाउने, हिरो हिरोइन बन्न फिल्म बनाउने कामलाई प्रश्रय दिनु हुँदैन । यस्ता फिल्मलाई उक्साएर नेपाली फिल्म उद्योग विगार्नु हुँदैन ।
त्यस्तो तारिफ गर्न लायक नेपाली फिल्म कुन बन्यो ?
पछिल्लो समय तारिफ गर्न लायक धेरै फिल्महरु बनिरहेका छन् । नेपाली फिल्ममा पनि विस्तारै गुणस्तर सुधार भइरहेको देखिन्छ । कबड्डी कबड्डी क्यूएफएक्सका सबै पर्दामा लागेको थियो । जुन फिल्मलाई दर्शकले अत्याधिक रुचाए । कबड्डी कबड्डीले क्यूएफएक्सबाट मात्र झण्डै १ करोड ६० लाखको कारोबार गरेको छ ।
तपाईंहरु आफैं फेरि फिल्म बनाउनुहुन्न ?
यतिबेला हाम्रो फोकस भनेकै हल विस्तार गर्ने हो । फिल्म चलाउन सबैभन्दा पहिला हल बन्नुपर्छ । राम्रो हलहरु भयो भने बल्ल राम्रो फिल्म बन्ने हो । तपाईं विश्वव्यापी हेर्नुभयो भने पहिला हल नै आउँछ । हल बनेमा फिल्म बनाउन धेरै मान्छेहरु छन् । हल नै भएन भने कहाँ देखाउने ।
जुन बेलामा हामीले कागवेनी डिजिटलमा बनाएका थियौ । १४ वटा हलमा मात्र लाग्यो र १४ हलबाटै समाप्त भयो । कसैले पनि १४/१५ वटा हलमा मात्र फिल्म लगाउन ठूलो लगानी गर्दैन । फिल्म क्षेत्रको बजार बढाउन पनि पहिला हलको आवश्यकता पर्छ । त्यही भएर क्यूएफएक्स हलको विस्तारमै लाग्छ ।
फिल्म हलमा लगानी गर्ने उपयुक्त समय हो यो ?
कुन समयलाई उपयुक्त भन्ने ? हामीले जुन समयमा चलचित्र क्षेत्रमा हात हालेका थियौं, त्यो बेलामा माओवादी द्वन्द्व चर्किएको थियो । काठमाडौंमा दुई शो भन्दा तीन शो देखाउन सकिदैनथ्यो । हामीले यात्रा त त्यहीँबाट सुरु गरेका थियौं । त्यसैले उपयुक्त समय भन्ने नै छैन ।
प्रतिक्रिया 4