१६ वैशाख, काठमाडौं । ‘काम पाइएन डिग्री पास गरेर, भैसी पालेँ गाउँतिरै झरेर, चिन्ता छैन केही….’
पशुपति शर्माले गाएको यो चर्चित गीतलाई व्यवहारमा उतार्न खोजेका थिए नवलपरासीका ३२ वर्षीय विष्णु पौडेलले । तर गीतमा भने जस्तो सजिलो किन हुन्थ्यो, व्यवहारमा लागू गर्न । फलस्वरुप उनी आज कोरियामा मजदुरी गर्न चाहनेको लामो लाइनमा उभिएका छन् ।
कोरियाली भाषा परीक्षाको आवेदन केन्द्र रहेको महाराजगञ्जस्थित काठमाडौं भ्याली स्कुलमा भेटिएका हुन् यी डिग्रीहोल्डर । पढाइ सकेर गाउँ जाँदा डिग्री गरेको केटोे भैँसी पाल्न आयो भनेर गाउँलेले उडाएको उनले बताए । तैपनि हिम्मत नहारिकन व्यवसायिक भैसीपालन सुरु गरेका उनी यसमा सफल हुन भने सकेनन् ।
पौडेल भन्छन्, ‘भैँसी पालेर गतिलो आम्दानी गर्न घाँस चाहियो । तर, सामुदायिक वनले घाँस काट्न त के पाइला राख्न पनि दिँदैन जंगलमा । अनि मेरो भैँसीले के खाएर दूध दिने ? भैँसीले दूध नदिएपछि मैले कसरी कमाउने ?’
बिहिबार दिउसो पुग्दा प्लाष्टिकका ‘म्याट्रेस’ यत्रतत्र छरिएका थिए । प्रहरीका अनुसार ति म्याट्रेस बुधबार बेलुकी लाइन बस्न आएका आवदेकहरुले ल्याएका हुन् ।
लामो लाइनको व्यवस्थापन गरिरहेका एक प्रहरी जवानले भने- ‘हिजो बेलुकी ५ बजे आवदेन बन्द हुनासाथ नै युवाहरु आजलाई लाइन बस्न आए । रात यतै बिताए ।’
रातिदेखि लाइनमा बस्नेमध्येका एक हुन् दोलखाका शम्भु बोलखे । उनी राति २ बजेदेखि लाइन बसेका रहेछन् । विहान १० बजेसम्म पनि आवेदन केन्द्र भित्र छिर्न उनको पालो आएको थिएन । ३० वर्षीय बोलखेसँग बीएड पास गरेको सर्टिफिकेट छ ।
यति पढेको मान्छे विदेशमा श्रम गर्न किन जानुपर्यो ? भन्ने हाम्रो प्रश्नमा पौडेलले जवाफ दिए, ‘प्रमाणपत्रले खान दिँदैन, नत्र कसलाई रहर थियो र ?’ भनेर प्रतिप्रश्न गरे ।
उनले आफ्नो छेउमा उभिएका एक युवकलाई धाप मार्दै भने- ‘यो भाई २० वर्षको भयो, म ३० को । उसको गोजीमा बाउले दिएको पैसा होला, मैले त ऋण खोजेको । मेरो घैँटोमा घाम लागेर १० वर्षअघि विदेश गएका भए यतिबेला बिहे गरिसक्थेँ होला ।’उनको ठट्यौलो उत्तरपछि वरपरका युवामाझ हाँसोको फोहोरा छुट्यो ।
बोलखेले हौसिदै झन् कडा टिप्पणी गरे, ‘यो देश फलाउने, फुलाउने जिम्मा हाम्रै हो, तर, हामीलाई देशले सिनो सम्झिएको छ । यो सिनो पर गइदिए दुर्गन्ध कम हुन्थ्यो भन्ठानेको छ । यो देशमा पसिना बेचेर खान्छु भन्नेलाई दलालको ब्यवहार हुन्छ ।’ वरपरका केही युवाले सिठ्ठी फुकेर समर्थन गरे ।
झण्डै २ हजार युवाको लाइनमा भेटिए नुवाकोटका युवक थापामगर । उनले कक्षा १२ पास गरेका छन् । काठमाडौं माछापोखरी बस्दै आएका उनी कमाउनकै लागि कोरिया जान चाहेको बताउँछन् । ‘यहाँ बसेर केही हुँदैन, नबिग्रेको मान्छे पनि उल्टै बिग्रिन्छ’ उनले भने-‘न कमाइ छ, न भोलिको कुनै आश ।’
थापामगरसँगै उभिएका प्रदीप काफ्ले स्याङ्जाका हुन् । उनी अहिले शंकरदेव कलेजमा मास्टर्स डिग्री पढिरहेका छन् । बिहान ३ बजे लाइनमा आएको बताउने काफ्लेले १ बजेसम्म फारम भेरेर निस्किने अनुमान गरे । ‘हामी ३ बजे आउँदा यहाँ लामो लाइन लागिसेकेको थियो, बेलैमा नआएको भए पालो नपाइने रहेछ ।’
कोरियाको सपना किन ? ललितपुरका सुवर्ण डंगोललाई हामीले सोध्यौं । उनले जवाफ दिए-‘यो प्रश्नको उत्तर मलाई पढाउने सरलाई गएर सोध्नुस् । उहाँ यही लाइनमा हुनुहुन्छ ।’ आफ्नै शिक्षकसँग प्रतिश्पर्धा गर्नुपरेको भन्दै उदेक मानिरहेका थिए डंगोल ।
‘म त लफंगा भएँ भनेर कोरिया ट्राइ गर्दैछु’ उनले भने-‘कलेज पढाउने मास्टरलाई पनि कोरियाको ज्वरो चढेको छ । अब देश कता जाँदैछ भन्ने यसैबाट बुझ्नुस् न ।’
रसुवाका सन्तमान तामाङ देश यही हालतमा रहिरहे अधिकांश युवा ‘पागल’ हुने बताउँछन् । ‘यो देश तातोहाँडी हो, यहाँभित्र बस्दा युवालाई जलन हुन्छ’ उनले कडा शब्दमा भने-‘यहाँ जन्मुनु पनि बिडम्बना जस्तो भएको छ । राज्य लाश जस्तो छ, राज्य चलाउनेहरु लुटेरा जस्ता । बेरोजगारी, महंगी र तनावले युवालाई पागल बनाउदैछ ।’ उनले ९० प्रतिशत युवा डिप्रेसनमा गइसकेको दावी पनि गरे ।
लाइनमै भेटिएका केही युवा कोरियाले यस वर्ष कामदारको कोटा घटाएकोमा असन्तुष्टी व्यक्त गर्दै थिए । ‘श्रीलंकाबाट कामदार लैजान भन्दै नेपालको ८ हजारको कोटा ३ हजारमा झारिएको छ’ बाराका सुमन आचार्यले भने- ‘हाम्रो सरकारले कोटा घट्न नदिन कुनै पहल गरेन । बीएस्सीको पढाइ छोडेर भाषा पढेको, तर गाह्रो पर्ने भो ।’
तस्विरहरूः कविन अधिकारी
प्रतिक्रिया 4