२२ वैशाख, काठमाडौं । सरकार परिवर्तनको विषयमा कांग्रेस र मधेसवादी दलहरुबीच औपचारिक वार्ता भएको छ । वार्तामा दुवै पक्ष केपी ओली नेतृत्वको सरकार तत्कालै ढाल्नुपर्नेमा एक मत भएका छन् ।
वार्तामा सहभागी कांग्रेस नेता चीनकाजी श्रेष्ठका अनुसार दुवै पक्षका नेताहरुले वर्तमान सरकार चौतर्फीरुपमा असफल भएको भन्दै तीव्र आलोचना गरेका छन् ।
यो सरकार ढालेर नयाँ गठन गर्नुपर्नेमा सहमति भए पनि नयाँ सरकार कसको नेतृत्वमा बनाउने भन्ने टुंगो नलागेको उनले बताए ।
‘मधेसवादी नेताहरुले ओलीको विकल्पमा जसलाई अघि सार्दा पनि हामी साथ दिन्छौं भन्नुभएको छ,’ श्रेष्ठले भने, ‘हामी त कांग्रेसकै प्रधानमन्त्री होस् भन्ने चाहन्छौं, तर अरु विकल्पमा पनि जान सकिन्छ ।’
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कोषाध्यक्ष सितादेवी यादवलगायत सहभागी थिए।
यस्तै मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना अध्यक्ष राजेन्द्र महतोलगायत सहभागी थिए ।
प्रतिक्रिया 4