२८ वैशाख, काठमाडौं । प्रहरीले विप्लव माओवादीका तीनजना कार्यकर्ताहरुलाई बिभिन्न जिल्लाबाट मंगलबार पक्राउ गरेको छ । अर्घाखाँचीबाट दुई र कञ्चनपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाबाट मंगलबार जिल्ला सचिवालय सदस्य तार्जन रायमाझी र रामप्रसाद घिमिरेलाई पक्राउ गरेको छ । अर्घाखाँची जिल्ला इन्चार्ज गंगाप्रसाद ज्ञवालीलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रायमाझी र घिमिरेले मंगलबार सन्धिखर्क नगरपालिका-२ चुत्राबेसीमा सवारी साधन जबरजस्ती रोक्न खोजेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आगजनी गरेको अभियोगमा प्रहरीले नेकपा माओवादी विप्लव समूहका अर्घाखाँची इन्चार्ज ज्ञवालीलाई यही वैशाख २२ गते पक्राउ गरेको थियो ।
यसैगरी प्रहरीले अखिल क्रान्तिकारीका कञ्चनपुर जिल्ला संयोजक २० वर्षीय प्रकाशबहादुर जप्रेललाई पनि पक्राउ गरेको छ । उनलाई कञ्चनपुरको बेतकोट नगरपालिका-९ स्थित बाल जागृति उच्च माबिको स्कुल बस तोडफोड गरेको आरोप लगाइएको छ ।
स्कूलको कम्पाउण्डमा रोकी राखेको म १ ख ४७७ नम्बरको बसको शिशा माओवादी विप्लव समूहका कार्यकर्ताहरुले मंगलबार ढुंगा प्रहार गरी फुटाइदिएको प्रहरीको भनाइ छ ।
ढुंगा प्रहार गर्नेहरुको खोजी गर्ने क्रममा बेतकोट-१८ कटानमा डेरा गरी बस्ने जप्रेललाई म २ प २९४५ नम्बरको मोटरसाइकल, चन्दा संकलन गर्ने ठेली ४ थान र मोवाइल १ थानसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच दाङको सतबरिया-१ कमानपुरको जंगलमा बालुवा लिएर घोराहीतर्फ जाँदै गरेको रा १ ख ८२० नम्बरको ट्रिपरलाई अपरिचित समूहले मंगलबार ढुंगा प्रहार गरी तोडफोड गरेको छ । ढुंगा प्रहारबाट ट्रिपरको अगाडिको शिशा फुटेको छ ।
तोडफोडमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4