+

पोखरा स्पोर्टस् अवार्ड-२०७२ सम्पन्न

२०७३ जेठ  २ गते ८:२९ २०७३ जेठ २ गते ८:२९
पोखरा स्पोर्टस् अवार्ड-२०७२  सम्पन्न

sports award_pokhara२ जेठ, पोखरा । पोखरामा पहिलो पटक आयोजित ‘पोखरा स्पोर्टस् अवार्ड-२०७२’ मा हेमन्त गुरुङ र मंजु गुरुङले वर्ष खेलाडीको अवार्ड हात पारेका छन् । उत्कृष्ट प्रशिक्षक विधामा कराँतेका सुरेन्द्र गुरुङ र उदीयमान खेलाडीतर्फ शशी चौधरी भाग्यमानी बने ।

नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको उक्त अवार्ड समारोह शालीन एवं भव्य बन्यो । समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट वरिष्ठ फुटबल खेलाडी कृष्ण थापालाई सम्मानित गरियो ।

पोखरामा खेलकुदको विकाससँगै खेलाडीको सम्मानका लागि मञ्चले विभिन्न ५ विधामा अवार्ड वितरण गरेको थियो ।

वर्ष खेलाडीमा उत्कृष्ट बनेका हेमन्त र मंजुले अवार्डसहित नगद २५ हजार सहित सामसङ मोवाइल पुरस्कार पाए । हेमन्त १२ औं सागमा फुटबलमा नेपाललाई स्वर्ण जिताउन मद्दत पुर्‍याएका थिए भने मंजु भलिबलकी चर्चित खेलाडी हुन् । उनी खेलकुद पत्रकार मंचले केन्द्रमा आयोजना गरेको स्पोर्टस् अवार्ड २०६५ मा पनि पल्सर वर्ष खेलाडी घोषित भएकी थिइन् ।

वर्ष खेलाडी पुरुषतर्फ हेमन्तसहित शारीरिक सुगठनका सुरेश गुरुङ र आर्चरीका अशिम शेरचन त्यस्तै महिलातर्फ मंजुसहित उसुकी झरना गुरुङ र भलिबलकी अरुणा शाही मनोनयनको सूचीमा थिए ।

उत्कृष्ट प्रशिक्षक विधामा फुटबलका शम्भु केसी र भलिबलकी कौशिला खत्रीलाई पछि पार्दै कराँतेका सुरेन्द्र गुरुङले नगद १० हजार सहित अवार्ड प्राप्त गरे । कास्की दाङसिङका ३७ वर्षे गुरुङ क्षेत्रीय कराँते संघमा ९ वर्षदेखि प्रशिक्षक छन् ।

उदीयमान खेलाडी विधातर्फ नगद १० सहित अवार्ड जितेेकी १५ वर्षे शशी भलिबल र एथलेटिक्सकी प्रतिभाशाली खेलाडी हुन् । उनले हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा एथलेटिक्सतर्फ ३ स्वर्ण जितेकी थिइन् । कैलालीकी शशी पोखराको टप्स स्कुलकी विद्यार्थी हुन् । विजेताले अवार्डले खेलमा थप खुसी र उत्साह थपेको बताए ।

लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित वरिष्ठ फुटबल खेलाडी कृष्ण थापा कास्की हेम्जाका हुन् । लामो समय फुटबल खेल र प्रशिक्षकमा समर्पित थापा राष्ट्रिय टिमका प्रशिक्षक भैसकेका छन् भने विभिन्न सम्मान र पुरस्कार प्राप्त गरेका छन् । सम्मानपछि उनले ‘गृह नगरमा प्राप्त उक्त सम्मान जीवनकै अमूल्य सम्मान हो’ भने ।

प्रमुख अतिथि राखेप सदस्यसचिव केशवकुमार बिष्टले मञ्चले आयोजना गरेको अवार्ड कार्यक्रमको निरन्तरताको कामना गर्दै आगामी वर्षदेखि १ लाख रुपैयाँ छुट्याइने घोषणा गरे । उनले आगामी सागका ७ खेल पोखरामा गर्ने तयारी भएको पनि जानकारी दिए  ।

मञ्चका कार्यवहाक अध्यक्ष सन्देश श्रेष्ठले समारोहलाई सभ्य र भव्य बनाउन सहयोग पुर्‍याउनेलाई धन्यवाद दिए । श्रेष्ठका अध्यक्षतामा भएको समारोहमा स्वागत सहसचिव अर्जुन गिरीले गरेका थिए । संचालन मंच सचिव दीननाथ बराल, सदस्य मन क्षेत्री र लक्ष्मी जिसीले गरेका थिए ।

पोखरा स्पोर्टस् अवार्ड
लेखक
सन्देश श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय