Comments Add Comment

प्रचण्डलाई फेरि प्रधानमन्त्री बन्न देउवाको प्रस्ताव !

बहुमतीय प्रधानमन्त्री बन्दिँन -प्रचण्ड

prachanda--sherbahadur८ असार, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवावीच बुधबार बिहान भेटवार्ता भएको छ । दुई नेतावीचको भेटमा सहमतीय सरकार गठनबारे छलफल भएको छ ।

कांग्रेस सभापति देउवालाई भेट्न बुधबार बिहान माओवादी अध्यक्ष प्रचण्ड बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेका थिए । एकसाताका लागि अष्ट्रेलिया भ्रमणमा जानुपर्ने भन्दै प्रचण्डले देउवासँग ‘विदाइ भेट’ गरेका थिए ।

तर, देउवालाई भेटिसकेपछि प्रचण्डको अष्ट्रेलिया भ्रमण अकस्मात स्थगन भयो । प्रधानमन्त्री केपी ओलीले आग्रह गरेपछि प्रचण्ड अष्ट्रेलिया नगएका हुन् ।

प्रचण्डको निजी सचिवालयले दिएको जानकारी अनुसार देउवा र प्रचण्ड दुबै नेताले आपसी छलफलमा संविधान कार्यान्वयनका लागि सहमतीय सरकार गठनमा जोड दिएका छन् ।

यसका लागि देउवाले फेरि पनि प्रचण्डलाई प्रधानमन्त्री बन्न अनौपचारिक प्रस्ताव गरेको माओवादी स्रोतको भनाइ छ । स्रोतले भन्यो- ‘देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न फेरि प्रस्ताव गर्नुभयो, तर प्रचण्डले बहुमतीय सरकारको प्रधानमन्त्री बन्दिँन भन्नुभयो ।’

नेपाली कांग्रेस र मधेसवादीसमेत सहमत हुन्छन् भने ओलीकै नेतृत्वमा पनि सहमतिको सरकार बन्न सक्ने प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो- ‘जसको नेतृत्वमा भए पनि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्नेमा उहाँले जोड दिँदै आउनुभएको छ ।’

दुई नेताको भेटबारे सञ्चारकर्मीलाई जानकारी दिँदै कांग्रेस सभापति देउवाले भने प्रचण्ड आफ्नो मित्र भएकाले विदेश जानुअघि भेट गर्न आएको प्रतिक्रिया दिएका छन् ।

यसअघि प्रचण्ड र देउवावीच सरकार परिवर्तन गर्ने सहमति भएर वीचैमा सो योजना असफल भएको थियो । माओवादी र एमालेवीच ९ बुँदे सहमति भएपछि प्रचण्ड पछि हटेका थिए, जसका कारण कांग्रेस र माओवादीवीच सम्बन्ध चिसिएको थियो । कांग्रेस नेता विमलेन्द्र निधीले आफूहरुलाई प्रचण्डले धोका दिएको गुनासोसमेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment