Comments Add Comment

पाथिभराको वन क्षेत्रमा रातारात बन्छन् घर, वन कार्यालय निरिह

pathibhara bathi१० असार, ताप्लेजुङ । जिल्ला वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत जीवनकुमार यादब सहितको टोलि केहि दिनअघि पाथिभरा क्षेत्रमा भइरहेको वन फडानी र अबैधानिक बस्तीको अनुगमनमा निस्कियो ।

अनुगमनका क्रममा पाथिभरा क्षेत्रस्थित बलुडाँडामा पुग्दा निर्माणाधिन एउटा घर चित्रो र प्लाष्टिकले पुरै छोपेको देखेर खोलेर हेर्दा बनिरहेको घर भेटियो । यो एउटा प्रतिनिधि उदाहरण मात्रै हो ।

अनुगमनका शिलशिलामा भेटिएको उक्त घर वन कार्यालयका कर्मचारी आउने थाहा पाएपछि लुकाउन छोपिएको थियो । यस क्षेत्रमा अहिले अबैधानिक रुपमा रातारात दैनिक यस्ता घर निर्माण भइरहेका छन् भने सामुदायीक वन फडानी समेत रोकिएको छैन ।

नजिकै ठूलो घरमा होटल गरिरहेका जितबहादुर लिम्बुले बनाउन सुरु गरेको सो घर हटाइहाल्न वनका कर्मचारीले निर्देशन दिए पनिसँगै रहेका मयम पाताल सामुदायीक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण लिङ्खिमले हटाउने भए सबै स्थानको हटाउन नभए हेरेर मात्र र्फकन भन्दै वनका कर्मचारीलाईनै थर्काउन थाले । सामुदायीक वन उपभोक्ता समितिका अध्यक्षको गालिगलौज सुनेका वन कर्मचारी वन र अबैधानिरूपमा बनेका  बस्ति हेरे र कार्यालय फर्किए ।

सामुदायीक बन उपभोक्ता समितिका पदाधिकारीकै संरक्षणमा पाथिभरा क्षेत्रमा वन फडानी भईरहेको छ भने, दैनिक नयाँ नयाँ घर निर्माण हुनुको साथै पुराना घर थप्ने र बढाउने क्रम पनि रोकिएका छैन ।

करीव तीन वर्ष अघि प्रकाश पौडेल प्रमुख जिल्ला अधिकारी भएको समयमा सरकारले जिल्ला वन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई सो क्षेत्रमा निर्माण भइरहेका बस्ती हटाउन निर्देशन दिएको थियो ।

तर जिल्लामा भएको सर्वपक्षिय भेलाले सो क्षेत्रमा रहेका होटलले पाथिभरा आउने तिर्थयात्रिलाई पनि सेवा पुर्‍याईरहेकोले तत्काल नहटाउने तर अब बाँकि थप्न र बढाउन  नपाउने निर्णय गरे पनि प्रमुख जिल्ला अधिकारी र जिल्ला वन अधिकृतको सरुव सँगै वन फडानी र घर टहरा विस्तार हुन सुरु भएको स्थानीयनै बताउँछन् । अहिले पाथिभरा क्षेत्रको सामुदायिक वनभित्रै २५ घरमा ४३ भन्दा बढि होटलहरु सञ्चालनमा रहेका छन् ।

रातमा बनाईन्छ घर र टहराहरु

सामुदायीक वनभित्र अबैधानिक रुपमा बसिरहेका उनीहरु कुनै पनि समय यस स्थानबाट हट्नु पर्ने भए पनि होटल र पसल गरी आम्दानि गर्ने लोभमा रातारात घर निर्माणमा लागेका छन् । दिउँसो घर टहरा बनाए पाथिभरा आउने तिर्थयात्री र अनुगमनमा आएका कर्मचारीले देख्ने र जिल्ला वन कार्यालय र प्रशासनमा उजुरी पर्ने डरमा यस स्थानमा रातको समयमा मात्र घर टहरा निर्माण गर्ने गरिएको छ ।

रातको समयमा ३० देखि ५० जना सम्म कामदार लगाएर एकै रातमा घर निर्माण गरिन्छ अनि घरलाई पुरानो देखाउन काठमा कालो रङ लगाउने गरिन्छ विहान देखि पसल र होटलनै सञ्चालन हुन्छ माथिल्लो फेदिका एक स्थानीयले नाम नलेख्ने सर्तमा भने ।

pathibhara bathi3पहिले बाबुले बनाएको एउटा घर नजिकै छोराले घर थप्छ, त्यसको नजिकै ज्वाईलाई ल्याएर राख्छ, त्यसपछि अरु नातागोताले घर बनाउँछन् यसो गर्दा गर्दै अहिले बन क्षेत्रमा बजारनै भईसक्यो यस क्षेत्रमा होटलबाट राम्रो आम्दानि हुने भएकाले सकैको आकर्षण यस क्षेत्रमा बढेको छ माथिल्लो फेदिका होटल व्यवसायी नरबहादुर भट्टराईले बताए ।

होटल व्यवसाय गर्ने कोहि सुकुम्बासी छैनन्

पाथिभरा क्षेत्रको सामुदायीक वनभित्र घर बनाउने र व्यवसाय गर्ने कसैको पनि पुर्खेउली थलो यस स्थान होईन । पहिले तिर्थयात्रीको सुविधाका लागि बनाईएको पाटिमा ताप्लेजुङकै फुरुम्बु, लिङ्खिम, फावाखोला र सिकैचाबाट आएका स्थानियले घर बनाएर बसेको जिल्ला बन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत जीवनकुमार यादबले बताए ।

पहिले एक दुई घर बसेपनि उनीहरुले होटल व्यवसायबाट राम्रो आम्दानी गरेको देखेर अरुले पनि यस क्षेत्रमा घर निर्माण गर्ने क्रम बढेको हो । तिर्थयात्रिको चाप बढ्ने समयमा होटल व्यवसाय गर्ने र चाप घटेपछि होटल बन्द गरी उनीहरु आआफ्नै घर फर्कर्ने गरेका छन् ।

उनीहरुले तिर्थयात्रिको चाप बढेको समयमा सेवाको लागि भन्दा पनि कमाउनका लागि मात्र होटल खोलेको देखिन्छ, तिर्थयात्रिलाई खाएको र सुतेको पनि बढि रकम असुलेको उजुरी आईरहन्छ पाथिभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेलले बताए ।

सामुदायिक बनका पदाधिकारीलेनै दिन्छन् घर टहरा बनाउने अनुमती

एउटा घर वा टहराबाट पाँच देखि दश हजार रुपैयाँ सम्म वार्षीक रुपमा लिएर घर टहरा बनाउन सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष र पदाधिकारीलेनै दिने गरेको यस क्षेत्रका होटल व्यवसायिले बताएका छन् ।

अध्यक्ष र पदाधिकारी आए खान बस्नको पनि राम्रो व्यवस्था गर्नुपर्छ बाषिर्क रुपमा आय हेरी पाँच देखि दश हजार सम्म सामुदायिक वनका अध्यक्ष र पदाधिकारीलाई दिए पछि घर टहरा निर्माण गर्दा उनिहरुले पनि केहि भन्दैनन् जंगलबाट दाउरा र घर बनाउन पनि केहि रुख काट्न पाईछ एक व्यवसायिले भने ।

यता जिल्ला वन कार्यालयमा पनि सामुदायीक बनका पदाधिकारीकै मिलेमतोमा घर टहरा निर्माण भएको भन्ने उजुरी र गुनासो आउने गरेको सहायक वन अधिकृत यादबले बताए । उजुरी र गुनासो आएपछि सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीलाई कार्यालयमा बोलाउँदा अटेर गर्ने गरेको उनको भनाइ छ । पाथिभरा क्षेत्रमा कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परीषदसँगै पाँच वटा सामुदायीक बन उपभोक्ता समिति रहेका छन् ।

पाथिभरा क्षेत्रमा काम गर्ने सरकारी समितिलाई अधिकारनै छैन

पाथिभरा क्षेत्रको विकासका लागि सरकारले स्थापना गरेको पाथिभरा क्षेत्र विकास समितिलाई यस क्षेत्रमा बस्ती राख्ने र हटाउने अधिकारनै नभएको समितिका अध्यक्ष सजन पौडेलले बताए ।

pathibhara bathi2विकासका लागि भन्दै स्थापना गरीएको छ तर वन क्षेत्रमा बसेका बस्ती व्यवस्थापनका लागि पनि अधिकार छैन पौडेलले अनलाइनखबरसँग भने हामीले देखेका र कार्यालयमा आएका बन अतिक्रमण र अबैधानिक बस्ती सम्बन्धि उजुरी प्रशासन र वन कार्यालय लाई दिने हो उनिहरुलेनै कारवाहि गर्नेछन् ।

सरकार मातहतको पाथिभरा क्षेत्र विकास समिति निर्माण हुनु अघि स्थानीय स्थरमा गठित (एनजिओ) पाथिभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संबर्धन समितिलेनै समेत यस क्षेत्रमा घर टहरा निर्माण गर्न केहिलाई अधिकार दिएको होटल व्यवसायिले बताए ।

अब कारवाहि हुन्छः प्रमुख जिल्ला अधिकारी

पाथिभरा क्षेत्रमा रहेको सामुदायीक बनको अतिक्रमण बढेको र अबैधानिक घर टहरा निर्माण भएको भन्ने गुनासो आएको र आफूले पनि देखेको बताउँदै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले कारवाहिका लागि जिल्ला वन कार्यालयलाई निर्देशन दिएको बताए ।

त्यस क्षेत्रको अनुगमन गरी कारबाहि प्रकृया अघि बढाउन जिल्ला पन अधिकृतलाई निर्देशन दिएको छु, नसके प्रहरी प्रसासनलाई सहयोग माग्न पनि भनेको छु नतिजा चाँदै आउनेछ अनलानखबरसँग कुरा गर्दै प्रजिअ पाण्डेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment