२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।
पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न आयोजित कार्यक्रममा लिङ्देनले संविधान विरोधी पार्टीका नेतालाई सरकारले नोटिसमा राखेको भन्दै आक्रोश पोखेका हुन् ।
उनले अगाडि भने, ‘म केपी ओलीको सरकारलाई चुनौतीको भाषामा भन्न चाहन्छु, यो संविधानले व्यवस्था गरेको गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको विरोधी हो राजेन्द्र लिङ्देन । सके पक्रेर देखाओस् ।’
आफूहरुले अराजकताभित्र भविष्य नखोजेको उनले बताए । त्यही कारण सरकार र ठूला पर्टीहरुलाई संविधानले काम गरेन भनेर आग्रह गरिसकेको भन्दै लिङ्देनले भने, ‘चाँडोभन्दा चाँडो सबै अटाउने, हिजोका र आजका राम्रा विषयहरुलाई समेटेर नयाँ यात्रा तय गर्नुछ । अब अगाडि जानुको विकल्प छैन ।’
संविधान पक्षधरहरुले जबर्जस्त गरिरहे आफूहरुले जनताको बलमा संविधान उल्ट्याउने उनको चेतावनी छ ।
प्रतिक्रिया 4