+
+
Shares

‘प्राज्ञिक दुरुपयोग हो, निजीमा काम गर्न स्वीकृति दिनै मिल्दैन’

केदारभक्त माथेमा केदारभक्त माथेमा
२०८३ वैशाख ३० गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिले त्रिविका प्राध्यापकलाई निजी क्याम्पस र अन्य संस्थामा काम गर्न नदिने नीति लागू गरिएको बताए।
  • उनले त्रिविमा जागिर खाएर अर्को संस्थामा काम गर्नु प्राज्ञिक अपराध भएको र यसलाई रोक्ने दायित्व पदाधिकारीको भएको उल्लेख गर्नुभयो।
  • पूर्वउपकुलपतिले त्रिविका प्राध्यापकले आफ्नो विभागमा अनुसन्धान र विद्यार्थीलाई सहभागी गराउनुपर्ने र बाहिर काम गर्न अनुमति दिने प्रावधान खारेज गर्नुपर्ने बताउनुभयो।

त्रिभुवन विश्वविद्यालयमा अध्ययन-अनुसन्धान गर्ने भनेको प्राध्यापक र विद्यार्थीले हो । प्राध्यापक नै विश्वविद्यालयमा बसेन भने कस्तो विश्वविद्यालय बन्छ ? त्रिविका शिक्षक बाहिर काम गर्न जाने गरेको विषय ठूलो हो । निजी क्याम्पसलगायत अन्य संघ-संस्थामा अहिले मात्र होइन, पहिले पनि जाने गरेका थिए ।

त्यसैले मेरो कार्यकालमा त्रिविका शिक्षकलाई निजीमा पढाउन दिएको थिइनँ । मिल्दै मिल्दैन भनेर स्वीकृति नदिइएको हो । त्रिविमा जागिर खाएर अर्कोमा काम गर्नु प्राज्ञिक अपराध हो । दुरुपयोग भयो । दुरुपयोग रोक्ने दायित्व त्रिवि पदाधिकारीको हो । पदाधिकारी दरिलो भएर उभियो भने नियमन गर्न सकिन्छ ।

त्यति मात्र होइन, मेरो कार्यकालमा विदेशबाट विद्यावारिधि गरेर आउनु भएका प्राध्यापकहरू त्रिविको सट्टा बाहिर संस्थामा अध्ययन-अनुसन्धान गरेको फेला पर्‍यो । उनीहरूको नाम नै सार्वजनिक गरेको थिएँ ।

मुख्यतः आफ्ना प्राध्यापक कहाँ के गरिरहेका छन् हेर्ने भनेको सम्बन्धित क्याम्पस र डिपार्टमेन्टको हो । विद्यार्थी आफ्नो विभागमा किन छैनन् ? विद्यार्थी भएन भने मेरो जागिर जान्छ भनेर शिक्षकले सोच्नु पर्‍यो । कसरी विद्यार्थी त्रिविमा ल्याउने र अध्ययन अनुसन्धानमा लाग्ने भन्ने हो । तर यहाँ प्राध्यापक नै निजीमा काम गर्न जाँदा विश्वविद्यालयको हालत के हुन्छ ?

बाहिर काम गर्ने ट्रेन्ड बढेपछि मेरो कार्यकालमा आफ्नो विश्वविद्यालय बाहेक अर्कोमा काम गर्न रोक लगाएको हो । यसमा प्राज्ञिक व्यक्ति जिम्मेवार हुनुपर्छ । त्यति मात्र होइन, त्रिविकै एउटा निकायबाट अर्कोमा काम गर्न स्वीकृति लिनुपर्छ । त्रिवि बाहेक अर्को संस्थामा काम गर्ने भन्ने हुँदै हुँदैन ।

पूरा समय पढाउँछु भनेर त्रिविले तलब, भत्ता, पेन्सन दिएको हुन्छ तर त्रिविमा तलब लिएर अर्कोमा पढाउन कुन नैतिकताले मिल्छ ? यसरी बाहिर काम गर्नु भनेको अनैतिक काम हो । प्राज्ञले आफ्नो मर्यादा र गरिमा बिर्सनु हुँदैन । समाजलाई राम्रो बनाउने काम पो शिक्षकको हो । शिक्षक आफैं अनुशासनमा बस्नुपर्छ ।

र, त्रिवि नेतृत्वले शिक्षक कर्मचारीको व्यवस्थापन गर्नुपर्‍यो । प्राध्यापकले आफ्नो डिपार्टमेन्टमा रिसर्च ल्याउनु पर्‍यो । विद्यार्थीलाई पनि अनुसन्धानमा सहभागी गराउने काम प्राध्यापककै हो । त्रिविमै काम जेनेरेट गर्नुपर्छ । सरकारले पनि अनुसन्धानको काम त्रिविलाई दिनुपर्छ । सबैभन्दा ठूलो विश्वविद्यालय हो । यसलाई स्तरोन्नति गर्दै लैजाने हो ।

निजीमा काम गर्ने वा संघ-संस्था खोल्ने हो भने त्यतै लाग्दा राम्रो हुन्छ । त्रिविमा अर्कोले अवसर पाउँछ । यदि त्रिविमा जागि गरेरपछि काम पनि त्रिविकै गर्नुपर्छ निजीमा अर्कोले रोजगारीको अवसर पाउँछ ।

एउटै व्यक्ति धेरै ठाउँमा दौडिँदा शैक्षिक गुणस्तर कमजोर हुन्छ । जहाँ दरबन्दी त्यहाँ काम गर्ने हो । यसरी लुकिछिपी बाहिर काम गरेको छ भने त्रिविले अनुगमन र नियमन गर्न जरुरी छ । आंशिक रूपमा काम गर्न दिने प्रावधानलाई नै पुनरावलोकन गर्नुपर्छ । त्रिविले नै बाहिर काम गर्न अनुमति दिनु भनेको डरलाग्दो विषय हो । यो तत्काल रोकिनुपर्छ । अनुमति दिने प्रावधान खारेज हुनुपर्छ ।

(त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति माथेमासँग गरिएको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?