+
+

डेढ घण्टाअघि नै किन लगाइयो सेयर बजारको ढोका ?

अनलाइनखबर अनलाइनखबर
२०७३ साउन २४ गते २२:१०

nepse-stock-market
२४ साउन, काठमाडौं । लगातार घटिरहेको सेयर बजारले आज गिरावटमा नयाँ रेकर्ड राखेको छ । सोमबार एकैपटक अहिलेसम्मकै उच्च  अंक (८८.८१ ) ले घटेर साढे १ बजे नै सेयर बजारको ढोका लाग्यो । कारोबारको एकै दिनमा ५ दशमलव ०३ प्रतिशतले घटेपछि नियमित कारोबार बन्द हुने समय भन्दा डेढ घण्टा अघि नै बजारमा ब्रेक लाग्याे ।

१८८१ अंकको रेकर्ड बनाएर ओरालो लागेको बजार आज बन्द हुनु अघिसम्म १६७५.९१ अंकमा आइपुगेको छ । गत सता ९४ अंकले घटेको बजार आइतबार पनि ३ अंकले ओरालो लागेको थियो ।

निरन्तर रातो भएको बजारलाई बीचमा भएको सत्ता परिवर्तनले पनि हरियो गर्न सकेन । सोमबार बजारमा ८७ करोड ९३ लाख रुपैयाँ बराबरको ११ लाख कित्ता सेयर किनबेच भएको छ । लगातार ८ दिन बजारले हरियो परिसूचक पाउन सकेन । बजारमा आज अरु सबै समूह रातो भएपनि उत्पादनमूलक समूहमा भने ८.४५ अंकको सुधार देखिएको छ ।

बजारमा धितोपत्र बोर्डको सक्रियता बढेपछि सेयर परिसूचक घटेको आरोप कतिपय ब्रोकरहरुको छ । ‘बजारमा लागनी भएको कालो धनको छानविन गर्न समिति बनेकैले पनि बजारमा यस्तो असर देखिएको हो ।’ सेयर दलाल संघका निर्वतमान अध्यक्ष नरेन्द्र सिँजापति भन्छन् ।

यही समयमा खुला अर्थ बजारमा कम अनुदार मानिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वका सरकार बनेकाले पनि बजार प्रभावित भएको सेयर विश्लेशषकहरु बताउँछन् ।

यसअघि प्रचण्डले सरकारको नेतृत्व गर्दा पनि सेयर बजारमा लगानीकर्ता सशंकित भएका थिए । तर, बजारमा यसअघि देखिएको लगातारको वृद्धि अस्वभाविक भएकाले अहिले बजार त्यही गतिमा ओरालो लाग्नु स्वभाविक भएको केही लगानीकर्ताको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?