+
+

कोइराला परिवारको दशैंः कोइराला निवास ‘मक्का मदिना’ जस्तै !

शैलजासँग टीका लाएर चुनावमा भिड्यौंः कमल कोइराला

मात्रिका पौडेल मात्रिका पौडेल
२०७३ असोज २२ गते १०:३१

Kamal koirala_810२२ असोज, काठमाडौं । नेपालको राजनीतिमा कोइराला परिवार एउटा अविच्छिन्न विरासत हो । भारतको नेहरु, गान्धी परिवार वा पाकिस्तानको भुट्टो जर्दारी परिवारजस्तै नेपालमा कोइराला परिवारले देशको शासन सत्ता र कांग्रेस पार्टीको नेतृत्वमा कुनै न कुनै रुपमा ८ दशकदेखि प्रभाव पारेकै छ ।

आठ दशक यसकारण भनिएको हो कि कोइराला परिवारका पिताजी अर्थात कृष्णप्रसाद कोइरालाले राणा शासनलाई चुनौति दिएर जेलमै देहत्याग गरेका थिए । उनका तीन भाइ छोरा मात्रिका, वीपी र गिरिजा तीनै भाइ यो देशको प्रधानमन्त्री बने । उनकै सालीका छोरा तथा भतिजा सुशील कोइराला पनि प्रधानमन्त्री बने ।

कांग्रेस भन्नु नै कोइराला र कोइराला भन्नुनै कांग्रेस थियो कुनै जमानामा । तर, त्यही परिवारमा एकजना ‘अल्टर’ निस्कए कमल कोइराला । पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा कमल कोइराला बाबु प्रधानमन्त्री भएकै बेला कम्युनिस्ट बनेर जेलसमेत परे

अहिले पनि कांग्रेस राजनीतिमा डा. शशांक कोइराला महामन्त्री छन् । डा. शेखर र सुजाता निर्णायक तहमा छन् । उनीहरुभन्दा पछिल्लो अर्थात चौथो पुस्ताका अभिनेत्री मनिषा कोइरालाका भाइ सिद्धार्थ कोइरालासमेत कांग्रेस राजनीतिमा जम्न खोज्दैछन् । यसअघि मनिषा कोइराला पनि राजनीतिमा आउन खोजेकी थिइन् । तर, असफल भइन् ।

कांग्रेस भन्नु नै कोइराला र कोइराला भन्नुनै कांग्रेस थियो कुनै जमानामा । तर, त्यही परिवारमा एकजना ‘अल्टर’ निस्कए कमल कोइराला । पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका छोरा कमल कोइराला बाबु प्रधानमन्त्री भएकै बेला कम्युनिस्ट बनेर जेलसमेत परे ।

पत्रकार, वकिल र कुटनीतिज्ञको भूमिकामासमेत फिट भइसकेका पूर्वराजदूत कमल कोइराला अहिले पनि एमालेमै छन् । उनी नेपालको कम्तिमा ७ दशक लामो इतिहासका जीवित साक्षी हुन्, जसको अध्ययन र अनुसन्धान अनि विश्लेषणको उचाइ निकै माथि छ ।

यसपटक अनलाइनखबरमा कमल कोइराला दशैंको अनुभव लिएर प्रस्तुत भएका छन् । कोइराला परिवारको पाँचौ पुस्तासम्मका साक्षी बनेका कमल कोइरालाको स्मरणमा कोइराला निवासको दशैं यस्तो छ-

kamal koirala (2)

विस्मृतिको दशैं

कोइराला निवासमा राजनीतिक रौनक जति हुन्थ्यो, चाडबाडमा खासै रौनक मैले कहिल्यै देखिनँ । धेरैवटा दशैं त मनाउनै पाइएन । मलाई याद भएअनुसार हामीले दशैंमा रमाइलो गर्ने भनेको मामाघरमै थियो ।

हाम्रा हजुरबुबा पिताजी कृष्णप्रसाद कोइरालालाई जुद्ध समशेरले जेलमा राखेका थिए । जेलमै उहाँको २००१ सालमा निधन भयो । उहाँको हातबाट टीका थापेको मलाई सम्झना छैन ।

मैले सुनेअनुसार पिताजी कृष्णप्रसाद १९८० मा जेल पर्नुभएको हो । त्यसअघि भोटेवहालस्थित सरदार कालिदास कोइरालाको घरमा कोइराला परिवारको दशैं हुन्थ्यो रे ।

त्योबेलाको जमानामा हजुरबाले टीका लगाएर १ रुपैयाँ दिनुहुन्थ्यो । एक रुपैयाँ भनेको त ठूलो पैसा हो त्यो बेला । २ पैसामा टन्न खाजा आउँथ्यो

कालिदास कृष्णप्रसादका जेठा दाजु हुन् । म ६ वर्षको उमेरमा बिराटनगर गएँ २००१ सालमा । त्यो वर्ष पिताजीको निधन भएकाले दशैं मनाइएन । २००२ सालमा पिताजीका दुई श्रीमतीपट्टिका हाम्रा बा, काकाहरु छुट्टिए । वीपी कोइराला, गिरिजाप्रसाद, केशव, तारिणीहरुको एउटा परिवार भयो, जसकी आमा दिव्या कोइराला हुनुहुन्थ्यो ।

जेल र निर्वासनको असर दशैंमा

हाम्रा बाबा मात्रिकाप्रसाद कोइरालाकी आमा मोहनकुमारीको परिवार अलग भयो । त्यो वर्ष पनि दशैंसँगै मनाएको याद भएन । २००३ सालमा वीपी निर्वासनमा पक्राउ पर्नुभयो । गिरिजाबाबु, मनमोहन अधिकारीहरु पनि जुटमिल काण्डमा पक्राउ परे । दशैं खासै २००३ सालमा पनि मनाउने अवस्था रहेन ।

kamal koirala (3)

मामाघरमा १ रुपैयाँ दक्षिणा

खासमा २००७ सालको प्रजातन्त्र स्थापनाअघि कोइराला परिवारमा दशैं कहिल्यै मनाइएन भन्दा पनि हुन्छ । केटाकेटीका बेला हामी मामाघर जान्थ्यौं । त्योबेलाको जमानामा हजुरबाले टीका लगाएर १ रुपैयाँ दिनुहुन्थ्यो । एक रुपैयाँ भनेको त ठूलो पैसा हो त्यो बेला । २ पैसामा टन्न खाजा आउँथ्यो । सय पैसाको रुपैयाँ हुन्थ्यो ।

अहिले कांग्रेसको नेतृत्वमा रहेका शेखर, शशांक, श्रीहर्ष, सुजाताहरु जन्मिसकेका थिएनन् । कोइराला परिवारकै ठूलो नाति मै थिएँ । म सबैको प्यारो हुने नै भएँ ।

२००७ सालको प्रजातन्त्र स्थापनापछि कोइराला परिवारमा सबै सदस्यहरु एक ठाउँमा भेला हुने वातावरण बन्यो । मेरो बाबा मात्रिकाप्रसाद कोइराला, काका वीपी कोइराला, गिरिजाप्रसाद कोइराला तीनजना त प्रधानमन्त्री नै बन्नुभयो देशको ।

वीपीलाई रुची नभएको दशैं

वीपीलाई खासै दशैंप्रति रुची थिएनजस्तो लाग्छ । तर, पनि हजुरआमाको हातबाट टीका लाउन सबै एकैघरमा भेला हुन्थे । पछि वीपी र मात्रिकाको बीचमा राजनीतिक दूरी बढे पनि दशैंमा टीका लगाउन भने हाम्रो बाबासँग वीपी आउनुहुन्थ्यो ।

राजा त्रिभुवनको हातको टीका लाउन बाबा, सान्दाजुहरु जानुहुन्थ्यो । हामी वीपीलाई सान्दाजु भन्थ्यौं । किनकि फूपूहरुले सान्दाजु, गिरिजाले दाजु भनेको हुनाले हामीले पनि त्यही सिक्यौं ।

कोइराला निवासमै लिंगे पिङ हाल्थे । नोकर-चाकर घरभरि थिए । उनीहरुको काम नै पिङ हाल्ने, खसी काट्ने, पकाउने, खुवाउने हुन्थ्यो । कोइराला निवासमा पाहुना कति आउँथे भन्ने साध्य नै नहुन

विसं २००८ सालमा हाम्रा बाबा मात्रिका प्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो । प्रधानमन्त्री निवासमै दशैं मनाइयो । यद्यपि बिराटनगरको कोइराला निवासमा जति रमाइलो चाहिँ नहुने ।

त्यो लिंगे पिङ, ती नोकर चाकर !

कोइराला निवासमै लिंगे पिङ हाल्थे । नोकर-चाकर घरभरि थिए । उनीहरुको काम नै पिङ हाल्ने, खसी काट्ने, पकाउने, खुवाउने हुन्थ्यो । कोइराला निवासमा पाहुना कति आउँथे भन्ने साध्य नै नहुने । जो जो आए पनि सबैलाई उत्तिकै मान मनितो हुन्थ्यो ।

भकारीभरि धान हुन्थ्यो । त्योबेला अथाह खेती थियो हाम्रो । विश्वबन्धु थापा र उनकी दिदी पनि हाम्रै घरमा बस्थे । चामल र चिउरा सकिएपछि भकारीबाट धान निकालेर नोकर चाकरले कुट्थे । खुब रमाइलो लाग्थ्यो ।

कोइरालाहरुको दशैं प्रायः रोकिन्छ

कोइराला परिवारमा दशैं धेरै मनाउन पाइँदैन । ठूलो हाँगो भएकाले कहिले कसको जूठो परिरहन्छ । हाम्रोमा एउटा चलन के छ भने-नजिकको नातेदार मरेपछि त्यो वर्ष अरुले पनि दशैं मनाउदैनन् ।
यसैपालि पनि हाम्रो दशैं हुँदैन होला । ज्योति कोइराला (तारिणीको छोरा)को ससुरा बितेकाले हामीले दशैं मनाउदैनौं । तर, पनि हाम्रो परिवारकी जेष्ठ सदस्य विनिता भाउजूको ज्ञानेश्वरको घरमा जम्मा हुन्छौं ।

उमेरमा जेठो म, नातामा जेठी बिनिता भाउजू

बिनिता भाउजू मेरी जेठी भाउजू हो । मेरा दाजु बितिसक्नुभयो । विनिता भाउजू उमेरमा मभन्दा कान्छी भए पनि नाताले जेष्ठ सदस्य हुनुभयो । उमेरले चाहिँ कोइराला परिवारको जेठो सदस्य मै हुँ । म अहिले ७९ वर्षको भएँ । शेखर, सुजाता, शशांक, निरञ्जन र ज्योतिहरु सबै मेरोमै आउँछन्  ।

शैलजा आचार्यसँग मैले भाइटीका लाउँथे । तर, टीका लाएर दुबैजना एकै निर्वाचन क्षेत्रमा चुनाव लड्यौं । ०४८ सालमा शैलजाले मलाई हराइन् । उनी मेरी बहिनी हुन् । ०५१ सालमा मैले चुनाव जितेँ

हाम्री हजुरआमा खसेपछि मेरा बाबाको घरमा दशैं मनाउथे । बाबापछि मेरी आमाको घरमा सबै जम्मा हुने चलन थियो । यद्यपि यसबीचमा वीपी, गिरिजाहरु भने निर्वासन र जेलमा भएकाले धेरै दशैं मनाउने कुरा भएन ।

मेरी आमा खसेपछि सुशीला भाउजू (वीपी पत्नी) कहाँ पनि केही दशैं मनाइयो । उहाँ शशांक कोइरालासँग बस्नुहुन्थ्यो ।

पछि गिरिजाबाबु हामी सबैको अभिभावक हुनुभयो । इन्दिरा फुपूको घरमा पनि हामी दशैं तिहार मनाउँथ्यौं ।

kamal koirala (1)

शैलजाः घरमा बहिनी, चुनावमा प्रतिद्धन्द्धी

इन्दिरा फुपूकी छोरी शैलजा आचार्यसँग मैले भाइटीका लाउँथे । तर, टीका लाएर दुबैजना एकै निर्वाचन क्षेत्रमा चुनाव लड्यौं । ०४८ सालमा शैलजाले मलाई हराइन् । उनी मेरी बहिनी हुन् । ०५१ सालमा मैले चुनाव जितेँ ।

हाम्रो परिवारमा राजनीतिक रुपमा जतिसुकै विवाद भए पनि चाडबाड र पारिवारिक कुरामा राजनीतिक प्रवेश हुँदैन । अहिले पनि म कोइराला परिवारको पहिलो र एक्लो कम्युनिस्ट हुँ । तर, मेरा भाइबहिनीहरु प्रकाश, शशांक, सुजाता, शेखरहरु राजनीतिको विषयमा मसँग बेलाबेला सरसल्लाह लिन आउँछन् । मलाई उनीहरुले सम्मान गर्छन् । म उनीहरुलाई माया गर्छु ।

कोइराला निवासमा टीका लाउन आउनेहरु धेरै हुन्छन् । किनकि कांग्रेसको लिगेसी अहिले पनि कोइराला परिवारमै छ । कांग्रेस कार्यकर्ताहरुका लागि कोइराला निवास मुस्लिमहरुको मक्का मदिना जस्तै हो

रौनकविहीन दशैं

अचेल दशैंमा पनि हाम्रो पूरै परिवार भेट हुन कम भएको छ । कोही कता, कोही कता छन् । दशैं कोइराला परिवारका लागि खासै रौनकको कहिल्यै हुन सकेन ।

आमरुपमा कोइराला परिवारमा तारा ज्याकी (मेरी फुपू बिजयालक्ष्मीकी छोरी) बाहेक प्रायः हिन्दू नै छन् । तर, दशैंमा रौनक हुँदैन । एक प्रकारले भन्ने हो भने जुनबेला महत्व हुन्थ्यो, त्यो बेला पूरै परिवार राजनीतिमा लागेर निर्वासन वा जेलमा परेका कारण दशैं मनाउन पाइएन । पछिल्लो पुस्तालाई दशैं नै चाहिएन ।

कोइराला निवासमा टीका लाउन आउनेहरु धेरै हुन्छन् । किनकि कांग्रेसको लिगेसी अहिले पनि कोइराला परिवारमै छ । कांग्रेस कार्यकर्ताहरुका लागि कोइराला निवास मुस्लिमहरुको मक्का मदिना जस्तै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?