पहाडले घेरेको समथर जमिन । जमिनको बीचमा बगेको कर्णाली नदी । पहाड नजिकै गुजमुज्ज परेका घरहरु । यो हुम्लाको उत्तरी भेगमा रहेको लिमी भ्यालीका तीन गाउँमध्येको एक हल्जी गाउँ हो ।
लिमी उपत्यका तिब्बतियन सांस्कृतिक हिसाबले निकै प्रख्यात छ । यस क्षेत्रमा तिल, जाङ र हल्जी गरी तीन गाउँ छन् । तीनमध्येको हल्जी गाउँमा रहेको मुख्य आकर्षण हो, हल्जी गुम्बा । हजार वर्षभन्दा पनि पुरानो यो गुम्बा धार्मिक तथा ऐतिहासिक रुपले निकै महत्वपूर्ण मानिन्छ । गत वर्षको भूकम्पका कारण गुम्बामा केही क्षति भएको छ । भित्ताहरु केही चर्केकोले भित्तामा कोरिएका चित्रहरुलाई असर गरेको छ ।
हल्जी गाउँका अगुवा कोजुक ओवाजोङ तामाङले गुम्बा महत्वपूर्ण भए पनि यसको उचित संरक्षण र प्रचारप्रसार हुन नसकेको बताउँछन् । ‘भूकम्पले क्षति गरेको ठाउँमा जसोतसो गाउँलेहरू मिलेर मर्मत गरेका छौं’, तामाङले भने ‘यसको उचित अध्ययन हुन सक्यो भने धेरै कुरा बाहिर आउन सक्छ । त्यसका लागि राज्यले नै हेर्नुपर्छ ।’
दुईतले मन्दिरमा प्रमुख मूर्ति पहिलो तलामा छ । मूर्तिहरु निकै कलात्मक छन् । तर, अधिकांश मूर्तिहरुमा धूलोको पत्र जमेको छ । लिमी गाविसका सचिव धर्मराज रोकायले ऐतिहासिक हिसाबले यो गुम्बा निकै महत्वपूर्ण रहे पनि यसले पाउनुपर्ने चर्चा नपाएको बताए । सदरमुकामबाट चार दिनको पैदल दूरीमा रहेकोले पनि यसले उचित चर्चा पाउन नसकेको उनको ठम्याइ छ ।
हल्जी गाउँ समुद्री सतहबाट तीन हजार ६ सय ६० मिटर उँचाइमा छ । यो बस्तीका बासिन्दाको जीवन गुजाराको भर चीनको ताक्लाकोट रहँदै आएको छ । खेती किसानीले बाह्रै महिना जीवन नधान्ने भएकाले यहाँका बासिन्दा व्यापार तथा ज्याला-मजदुरीका लागि ताक्लाकोट जाने गर्छन् ।
प्रतिक्रिया 4