+
+

घरेलु कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १० गते ७:३६

nepali-baidesik-rojgariघरेलु कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने प्रक्रिया शुरु भएको छ । नेपाल सरकारले संस्थागत रुपमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका जारी गरेको लामो समयपछि संस्थागत रुपमा नेपाली महिला घरेलु कामदार युएई र लेवनान गएका हुन् ।

गत महिना एकजना महिला घरेलु कामदार गौशलास्थित अर्थ भिजन म्यानपावर सर्भिसेज प्रालिबाट संस्थागत रुपमा लेवनान गएकोमा मंगलबार दुई जना महिला युएई गएका छन् । राजधानीको  स्यारोन म्यानपावर सर्भिसेज प्रालिले दुई महिला कामदारलाई संस्थागत रुपमा पठाएको हो ।

मंगलबार झापा गौरादह सीतापुरीकी मीना सुब्बा र बर्दिया तारातालकी कलावती चापागाई नेपाल एयरलाईन्सको उडानबाट त्यसतर्फ लागेका हुन् । सुब्बा ७ वर्षसम्म कुवेतमा कामगरी फर्केकी कामदार हुन भने चापागाई पहिलो पटक गएकी हुन् ।

दुईवर्षे भिषा अवधिका लागि गएका उनीहरुले मासिक तीन सय अमेरिकी डलर पारिश्रमिक पाउने छन् । घरेलु कामदार भएकाले उनीहरुले आफूले कामगर्ने घरमा खान, बस्न पाउने छन् । युएई जान स्यारोन म्यानपावरबाट विदाई हुनअघि उनीहरुले आफूहरु निःशुल्क  रुपमा जान पाएको र प्रस्थान गर्नुअघिको तालिम खर्च पनि रोजगारदाताले नै व्यहोरिदिएको बताए ।

म्यानपावर कम्पनीका सञ्चालक श्यामबहादुर क्षेत्रीले लामो समयको प्रयासपछि पहिलो पटक संस्थागत रुपमा महिला घरेलु कामदार पठाउन पाएको भन्दै खुशी व्यक्त गरे । उनले भने, ‘संस्थागत रुपमा घरेलु कामदार नपठाउन विभिन्न अवरोधका वावजुद हाम्रो प्रयासले मूर्तरुप लियो यसमा खुशी लागेको छ ।’

संस्थागत रुपमा जान लागेका महिलाहरुलाई विदाई गर्न आएका घरेलु कामदार सरोकार समाज नेपालका महासचिव डी बी तामाङले  नेपाल सरकारले जारी गरेको घरेलु कामदार सम्बन्धी निर्देशिका पहिलो कार्यान्वयनमा आएको भन्दै तिहार लगत्तै धेरै महिला कामदार संस्थागत रुपमा घरेलु कामदारको रोजगारीमा जाने स्थिति बनेको जानकारी दिए ।

सरकारले २०७२ सालमै घरेलु कामदार संस्थागत रुपमा पठाउन प्रक्रिया शुरु गरेको हो तर विदेशस्थित नेपाली दूतावासहरुले सरकारद्वारा जारी निर्देशिका अनुरुप एजेन्सी दर्ता गर्ने लगायतका प्रक्रिया पूरा नगर्दा घरेलु कामदार जाने क्रम शुरु हुन सकेको थिएन । करीब तीन दर्जन म्यानपावर घरेलु कामदार पठाउन २५ लाख धरौटी राखी वैदेशिक रोजगार विभागमा सूचीकृत भएका छन् । वैधानिक प्रक्रिया शुरु नहुँदा हजारौं महिला भारत, वंगालादेश र श्रीलंकाको बाटो हुँदै र अधिकाशंलाई भिजिट भिषा बाट अवैधानिक रुपमा खाडीका विभिन्न मुलुकमा पुर्‍याइएका छन् ।

हालसम्म यूएईस्थित नेपाली दूतावासले मात्र संस्थागत रुपमा जाने घरेलु कामदार जाने व्यवस्था गर्न एजेन्सी दर्ता गरेको छ । खाडीका अन्य देशस्थित दूतावासले धरौटी रकम बढी भएको जस्ता विभिन्न समस्या देखाउँदै एजेन्सी दर्ता प्रक्रिया नै शुरु गरेका छैनन् । युएईस्थित दूतावासले गत कात्तिक १ गतेबाट अवैधानिक रुपमा जाने घरेलु कामदार रोक्न श्रम स्वीकृतिको लागि दूतावासको पत्र अनिवार्य गरेको छ ।

संस्थागत रुपमा जाने व्यवस्था लागू भएपछि नेपाली महिलाहरुको तस्करीमा कमी आउनुका साथै उनीहरु सुरक्षित हुने विश्लेषण गरिएको छ । खाडी मुलुकमा नेपाली महिलालाई घरेलु रोजगारीमा जान रोक लगाएको मौका पारी लगत्तै दलालहरुले त्रिभुवन विमानस्थलबाटै सेटिङ मार्फत् भिजिट भिषामा युएई लगी किर्गिस्तानसम्म पुर्‍याउने गरेका छन् ।

सरकारले वैधानिक प्रक्रिया शुरु गर्दा पनि ओमन र कुवेतस्थित नेपाली दूतावासले चासो नदेखाउँदा अहिले पनि ठूलो संख्यामा नेपाली महिला कामदार अवैध रुपमा विदेशमा पुगिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?