+
+

कथाः चाँदनी

सन्तोष खतिवडा सन्तोष खतिवडा
२०७३ कात्तिक २१ गते १६:३७

उनी घरको मझेरीमा चुलेसीले मेवा ताछ्दै थिइन् । म उनको घर पछाडिको डाँडाबाट झरेको थिएँ । पसिनाले पूरै भिजेको शरीर तर मुख भने सुख्खा । हाम्रो आँखा परस्परमा जुधे । मेरा आँखाले धेरै बेर धानेनन्, तल झुकिहाले । उनको मुहारमा टलक थियो सायद, हेरिरहन कहाँ सकिन्थ्यो र ?

Santosh-Khatiwadaपानी माग्नै बिर्सेछु । उनको मुहारको तेजले वातावरण अझ गर्माइलो बनायो । मुख झनै सुख्खा भयो । प्याकप्याक मुख कष्टपूर्वक खोलेँ, ‘पा…नी पाऊँ न !’

उनी पानीको करुवा लिएर अगाडि आइन् । डाँडाबाट भर्खर देखिएको हिमाल जस्तै थिए उनका दाँत । मुस्कुराउँदै आएर करुवा मेरो हातमा थमाइदिइन् ।

काम विशेषले उनको घर पुगेको थिएँ । उनले ताछेको मेवा खाइयो । अरु बेला खाएको मेवामा भन्दा बेग्लै मिठास थियो उनले दिएकोमा । उनको बारीको भएर हो कि ? उनले ताछेर दिएकोले पो हो कि ? अझ भनूँ, उनी नजिकै भएर पो हो कि ?

उनीसँगको मेरो भेट पहिलो थिएन । मावली गाउँका गोठ र करेसाबारीमा लुकामारी खेल्दा उनी पनि हाम्रै पछि-पछि हुन्थिन् । हामीभन्दा साना भएकाले उनी र उनका साथीहरुलाई हामी खेल्दा प्रायः मिसाउँदैनथ्यौं । उनले चित्त दुखाएर रुँदा पनि मलाई वास्तै हुँदैनथ्यो ।

हामीले धेरैबेर तिनै बाल्यकालका कुरा गर्‍यौं । गाउँ पूरै परिवर्तन भएको, गाउँका पँधेरी, गोठ र स्कूल परिवर्तन भएको, जिउने तरिका पनि परिवर्तन भएको कुरा गर्‍यौं ।

गफैगफमा चोरऔंलाले डाँडातिर देखाउँदै उनले थपिन् ‘उ त्यो डाँडाको देवीको मन्दिर चाहिँ जस्ताको तस्तै छ ।’

उनको आवाजले निम्ता नगरे पनि गोला ठूल्ठूला आँखाको गाजलले भने ‘हिँड जाँऔं’ भने झैं लाग्यो ।

भोलिपल्ट जाने कुरा भयो ।

त्यो रात एक्लै छट्पटिएँ । मन व्यग्र, शरीर बेचैन । हातको घडी त्यति धेरै त्यसभन्दा अगाडि कहिल्यै हेरेको थिइनँ । कतिखेर निदाएछु, थाहै भएन ।

भोलिपल्ट डाँडा चढियो, दुई जना मात्रै । उनको नाम भने याद थिएन । मनमा खुलदुली लाग्यो, उतिबेला सबैले कान्छी भनेर बोलाउने यिनको अहिलेको नाम चाहिँ के होला ? सोचेँ, पूणिर्मा, चन्द्रमा या जून यिनैमध्ये कुनै नाम हुनुपर्छ ।

यी बाहेक अरु कुनै पनि नाम उनको उज्यालो मुहारमा सुहाउँदैन । मनै थामिएन, सोधिहालेँ । जवाफ आयो, ‘चाँदनी । हजुरले त मेरो नाम नै भुल्नुभएछ, मलाई त हजुरको याद छ । विवेक होइन ?’ म हाँसँे मात्रै ।

यात्रामा हामीले गाउँ, शहर अनि देशका कुरा गर्‍यौं । लक्ष्य र सपनाका कुरा पनि भए । सोख र इच्छाहरुबारे पनि आदानप्रदान गर्‍यौं, साथै मोबाइल नम्बर पनि । फेसबुकमा फ्रेन्ड रिक्वेस्ट मैले गर्ने सहमति भयो । करिब एक घण्टाको यात्रामा उनीसँग धेरै आत्मीय भएको महसुस भयो ।

छुट्टनिे बेला उनको मुस्कानको लोभ भएन मलाई । उनको मुहार पनि पक्कै मेरो जस्तै अँध्यारो भयो होला । उनी पनि म जस्तै दुःखी भइन् होला । म जस्तै उनी पनि छुट्टनिै चाहन्नथिइन् होला, यही सोच्दै उनको मुहारमा हेरेँ । सोचे विपरीत उनको मुहारमा कुनै पीडा थिएन । थियो त केवल स्वाभाविक मुस्कान । बिदाइमा औपचारिकता मात्रै भयो ।

जे भए पनि उनीसँगको भेटले मनमा एउटा अलग्गै हौसला प्रदान गरेकोे थियो । उनीसँगको संवाद सम्भिmएर ओठ आफैं मुस्कुराउँथ्यो, उनको मुस्कानको यादमा आँखाहरु टोलाउँथे ।

उनलाई भेटेको पनि लगभग एक साता भइसकेको थियो । तर, हामी सम्पर्कमा थिएनौं । उनको फोन नम्बर आफूसँग भए पनि म अधैर्य र उत्ताउलो बनेर तुरुन्त फोन गर्न चाहिनँ । बरु एक सातामा धेरै पल्ट मोबाइलका स्त्रिmनमा उनको नाम देखिन्छ कि भनेर घरिघरि हेरिरहेँ । फोन एकैछिन कतै छुट्दा पनि मिसकलमा उनको नाम भेटिन्छ कि भनेर खोजिरहेँ । तर, फोन आएन ।

फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन उनको प्रोफाइल लगातार खोजेँ । तर, उनको नामसँग फोटो मिल्ने कुनै प्रोफाइल नै भेटिनँ । एक सातापछि उनको मोबाइलमा पहिलो म्यासेज पठाएँ, ‘आई विस टु बि विथ यु फर ˆयु मोर डेज बट कुड नट । एनिवे, हाउ आर यु ?’

उनको रिप्लाईको प्रतीक्षा सुरु भयो । तर, अहँ रिप्लाइ आएन । मिनेट, घण्टा अनि दिनहरु बित्दै गए, तर रिप्लाइ भने आएन । सोचेँ, कतै नम्बर पो गलत भयो कि ? हतारहतार नम्बर चेक गरेँ । तर, नम्बर त सही नै थियो ।

उनीसँग भेटेर फर्केपछि मेरो बिहेको लागि केटी खोजिरहेकी आमालाई नखोज्नु भनिसकेको थिएँ । ‘हजुरको लागि बुहारी खोजिसकेको छु’ भनेर सुनाउँदा खुसीले रंगिएको थियो आमाको मुहार ।

उनले म्ाोबाइल कतै छुटाइन् होला या नेटवर्कको समस्याले मेसेज डेलिभर भएन होला, मनलाई सान्त्वना दिने यिनै दुई कारण थिए । रिप्लाई नआएपछि फोन गरेँ । तर, उठेन । धेरैपल्ट फोन गर्दा पनि उठेन ।

उनीसँग जादुमय हिसाबले नजिकिएको थिएँ, उनलाई जीवनसाथी बनाएर जीवनको बाँकी यात्रा अगाडि बढाएको सपना देख्न थालिसकेको थिएँ ।

कहिलेकाहीँ आफैलाई सोध्ने गर्थेँ, ‘उनीसँग जीवन बिताउने सपना पूरा होला त ?’ उत्तर पनि आफैं दिन्थेँ, ‘सोच, भावना र चाहना मिले त जीवन अगाडि बढिहाल्छ नि !’

उनको मुहारको तेज, मुस्कानको मिठास आँखाको डिलमै अड्किएपछि अब खोज्न पनि अरु कसलाई खोज्नु र यी आँखाले ?

फोनको रिप्लाई आउने प्रतीक्षामा केही सुन्दर रात पट्यारलाग्दा बने, दिनहरु उराठलाग्दा भए । उनका सपना सजाउने बानी परेका आँखाहरु न्यासि्रएर आफ्नै मनसँग जिज्ञासा गर्न थाले । कता होलिन् उनी, के गर्दै होलिन् ?

फेसबुक चलाउन छाडेको पनि धेरै दिन भइसकेको थियो । न्यास्रिएका आँखाहरुले फेरि फेसबुकमा उनलाई खोज्न थाले । मेसेज बक्समा केही मेसेज रहेछन् । एउटा मेसेज रहेछ ‘मुनलाइट’ नामको ।

हत्तपत्त खोलेर हेरेँ । लेखिएको थियो- ‘विवेक सर, आर यू देयर ?’

मुनलाइट नामको प्रोफाइल त मेरो चाँदनीकै रै’छ । मेरी चाँदनी…! ओठ मुस्कुरायो । आफैंलाई गाली गरेँ, यत्तिका दिन चाँदनी र चाँद खोज्दै बसेँ !

अनि रिप्लाई पनि गरिहालेँ, ‘यस्, आई एम ।’

उनले केही टाइप गरेको संकेत आइरह्यो ।

‘आराम हुनुहुन्छ ?,’ रोमन नेपालीमा लेखिएको थियो यसपल्ट ।

‘ठीकै छु । तिमी कता हराएकी थियौ ?’ टाइप गरेँ अनि फेरि मेटेँ, लेखेँ- ‘तपाईं कता हराउनुभयो ?’

तिमी लेखिहाल्ने आँट नै आएन ।

धेरैबेर रिप्लाई आएन ।

अलिब बेरमा मात्र शब्द पोखिए, ‘म अलिकति काममा व्यस्त थिएँ के ।’

मलाई थोरै भए पनि राहत मिल्यो ।

धेरै कुरा गर्नु थियो, कहाँबाट सुरु गर्ने अनि के लेख्ने भने बडो अलमल परेँ ।

के लेखूँ हुँदाहुँदै लेखेँ ‘अनि के छ तपाईंको खबर ?’

उताबाट जवाफ आयो, ‘हजुरले मलाई तपाईं नभन्नुस् । कस्तो अफ्ठ्यारो लाग्छ । हजुर त्यति ठूलो मान्छे ।’

मन फुरुङ्ग भयो, त्यो मेसेज दुईपल्ट पढेँ । उनी मलाई ‘तिमी’ भन्न स्वीकृति दिंदै थिइन् ।

‘कति ठूलो ? तिमीभन्दा ५-६ इन्च त ठूलो हुँला नि । त्यसलाई के ठूलो भन्नु !’

‘हाइट भनेको होइन, तपाईं त्यति ठूलो कम्पनीमा, ठूलो पोष्टमा काम गर्ने मान्छे …।’

म सँग उत्तर भएन । ह्याप्पी वाला स्माइली पठाइदिएँ ।

सोधेँ, ‘किन फोन र मेसेज रिप्लाइ नगरेको ?’ टाइप गर्दै थिएँ, मेसेज सेन्ट हुनुअघि नै उताबाट मेसेज आयो ।

‘हजुरसँग एउटा हेल्प मागूँ भनेर । सेन्ट गर्न बाँकी नै रहेको त्यो मेसेज डिलिट गरेर लेखेँ, ‘के हेल्प, भन न ?’

उनले लेखिन्, ‘जागिर चाहियो ।’

थप खुसी हुँदै थिएँ म । कतिखेर हो, आमा अगाडि आइपुग्नुभएछ । आमालाई देख्ने बित्तिकै उसको प्रोफाइलमा गएर फोटो निकालेँ अनि आमालाई देखाएँ ।

‘आमा कस्ती छिन् त चाँदनी ?’

आमाले घाँटी तन्काएर हेर्नुभयो अनि मलाई जिस्क्याए जस्तो गरी हाँस्दै भन्नुभयो, ‘ए ! कति राम्री रहिछन् त बुहारी । ल बाबु, अब छिटै बिहे गर्नुपर्छ ।’

विवाहको कुरा गरिहाल् भन्दै आमा किचेनतिर लाग्नुभयो । मेसेज बक्समा अर्को मेसेज आइसकेको थियो, ‘किन हजुर केही बोल्नुभएन नि ?’

मैले लेखेँ, ‘ए, जब चाहियो तिमीलाई ? आऊ न त काठमाडौं, आऊ मेरो अफिसमा, तिमीलाई कस्तो जब चाहियो ? मलाई पनि तिमीसँग भेट्न मन छ ।’

मेसेज टाइप गरिरहँदा उनीसँगै जीवनयात्रा गरिरहेको चित्र आँखा अगाडि नाचिरहेको थियो । टोलाइरहेको थिएँ म । उनले सेन्ट गरेका मेसेज भन्दा अन्तै कतै रमाइरहेकोे थियो मेरो मन ।

सपना र कल्पनाको दृश्यमा रमाइरहेका मेरा आँखा फेरि सम्हालिएर दौडिन थाले मेसेज बक्समा । लेखिएको थियो, ‘होइन, मलाई हैन, मेरो साथीको लागि । उसको जब नभएर हाम्रो बिहे हुन सकेको छैन । हजुरले यति हेल्प गरिदिनुपर्‍यो । हजुरले उसलाई जब दिनुभयो भने मंसिरमा हामी बिहे गर्छौं ।’ उनी खुलिन् । म बन्द भएँ ।

आमा नेपथ्यबाट कराइरहनुभएको थियो, ‘बाबु, सकिएन बुहारीसँग कुरा …?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?