विगत पाँच वर्षदेखि मेरो ईच्छाविपरीत छोराछोरीलाई समेत क्रिश्चियन बनाएकी मेरी श्रीमतीले रात दिनको प्रार्थनामा आफ्ना परमेश्वरसँग करार गर्दैछिन्- “तिम्रा प्रभावले म मेरा लोग्नेलाई सियोनतिर डोेर्याउन सकूँ ।
मेरी श्रीमतीको प्रार्थना छ- विनाकुनै गुनासो, आफ्नो श्रीमान दिनरात घरभित्र र बाहिरको काममा खटिरहोस् । आफ्ना साथीभाइ र नाता सम्बन्धबाट विल्कुलै अलग रही परिवारभित्र कुनै निर्णय लिन नसक्ने होस् र सँधै मेरै निर्णयअनुसार चल्ने शक्तिहीन बनोस् । मेरो लोग्ने जसरी भए पनि भनेजति पैसा कमाएर सबै हिसाब खुरुखुरु बुझाउने जोइठिङ्रेे बनोस् ।”
यतिबेला म अनिर्णयको बन्दी बनेको छु, नत परिवारलाई चटक्कै माया मार्न सक्छु, न त तिनको उन्नति प्रगतिका लागि कुनै सपना बनाउन नै ।
म भन्छु- ‘तिम्रा परमेश्वरले धार्मिक अन्धकारका युगमा जस्तो कुनै चमत्कार देखाउने कष्ट गरिरहन पर्दैन, मेरा मस्तिष्कमा उठ्ने सहज जिज्ञाशाको चित्तबुझ्दो समाधान गरिदिए मात्रै पुग्छ ।’
गृहयुद्धमा फसेको तात्कालिक रोमन साम्राज्यको अन्योलग्रस्त परिवेशलाई आफ्नो पक्षमा पार्न, चौथो शताब्दिका सम्राट कन्स्टयान्टाइनले सानो सम्प्रदायका रूपमा रहेको क्रिश्चियन धर्मलाई राजधर्म बनाउने क्रममा जे जस्तो हर्कत अपनाए, आजको एक्काइसौं शताब्दीमा त्यो शैली कसरी स्वीकार्य हुन सक्दछ ? चाहे त्यो राजनीतिक भ्रष्टाचार र दलालीकरणले चौतर्फी सङ्कटग्रष्ट बनेको हाम्रो नेपाली समाज नै किन नहोओस् । धर्म-प्रचारको राजनीति इतिहास भइसक्योे । अब त्यो कसैको भविष्य बन्न सक्दैन ।
तर विडम्बना ! नेपालभित्र जताततै हामी देखिरहेका छौं- झोलामा बाइबल बोकेको समूह टाई-कोटमा सजिएर घरघर पुग्दै दैलो ढक्ढक्याइरहेछ । आमा-बुबा, दाजु-भाइको साइनो लगाउँदै, सानातिना घरेलु काम वा सङ्कटमा हात फैलाउँदै, सिँगाने बालकलाई समेत नमस्कार गर्दै, अत्यन्तै सु-संस्कृत, सभ्य र नम्र लाग्ने भाकामा दैलाबाट कराइरहेका हुन्छन्- ‘ए हजुर एकै छिन हाम्रो कुरा सुन्न मिल्ला कि ?’
सतहमा यिनीहरूको शैली हेर्दा लाग्छ- समाजको अन्धविश्वास र कुरीतिलाई चिर्ने, असभ्यता र पछौटेपनको सफाइ गर्न आएका अलौकिक दूत नै हुन् कि क्या हो ! आफ्नै कोठा वा घर आँगनमा यति आकर्षक, यति सभ्य, यति नम्र देखिने यिनीहरूको यस्ता आग्रहलाई इन्कार गर्नु पनि कसरी ? एकपटकलाई इन्कार गरे पनि, जतिसुकै कठोर गाली वा निषेध गरे पनि कृत्रिम मुस्कानसहित ‘धन्यवाद फेरि आऔँला है’ भन्दै बिदा हुनेका कुरा अर्को पटक त सुन्न परिहाल्छ नि ।
धर्म परिवर्तन गराउने अभियानमा अग्लो कद, खैरो छालाको कुनै विदेशी जस्तो लाग्ने युरोपेली वा अमेरिकी पनि देखिन छाडे अब त । बरु भर्खर नेपाली सिक्दै गरेका, निर्दोष बालकझै मायालु बोल्ने, हाम्रै समाजका गुरुङ्ग, मगर, शेर्पा, तामाङ्ग दाजुभाइ जस्ता देखिनेे दक्षिण कोरिया, ताइवान वा जापानका युवा/युवती साथमा हुन्छन् । कसरी बोल्दा, के भन्दा मानिसलाई आफ्नो पासोमा पार्न सकिन्छ भन्ने कुरामा उनीहरू निकै खप्पिस हुन्छन् ।
स्थिति अनुसार स्रोता सक्षम जस्तो लागे, निजले अपनाउँदै आएका धर्म-परंपराको प्रशंसा समेत गर्दै, परिवारका कुनै असन्तुष्ट सदस्यसम्म पुग्ने बाटो ढुक्नेे तर अलिक कमजोर देखे, त्यसैलाई अधार्मिक वा सैतानी भनी घृणा गर्दै तत्कालै धर्म परिवर्तन गराउनसमेत कुनै कसर बाँकी नराख्ने चातुर्य उनीहरूमा सजिलै देखिन्छ ।
विज्ञानका तस्वीर र भनाइ प्रसङ्गलाई समेत काटकुट पारी आफ्नो अनुकूलतामा श्रव्य-दृश्यरूपमा प्रस्तुत गर्न खप्पिस उनीहरूको कुरा सुन्दा लाग्छ- यो पृथ्वी त साँच्चै पड्किन ठिक्क परेको टाइम बम पो रहेछ । एउटा जाबो सुतली बम पड्कँदा त स्थिति त्यति भयानक हुन्छ, पुरै यत्रो पृथ्वी नै विष्फोट हुँदा त झन् कत्रो आवाज निस्केला, कत्रो आगाको मुस्लो उठ्ला ! नपत्याउनु पनि कसरी ? वैज्ञानिकको तस्बिरले आफै बोलिरहेको कुरा, प्रमाणसहित बाइबलमा उल्लेख भएको कुरा । तर आत्तिनु पर्ने पनि केही छैन । ‘आफ्नै सन्तानप्रति परमेश्वर कसरी निर्मोही रहन सक्नुहुन्छ र ? विद्यालय वा खेलमैदान वा सानातिना काम व्यवहारमा बाहिर गएको सन्तानका लागि मिठो खाना तयार पारी प्रतिक्षारत बाबुआमा जस्तै परमेश्वर हामीलाई स्वर्गमा लानको लागि नजिकैबाट बोलाइरहनुभएको छ । उक्त बाइबलधारीको मुखबाट हामीले नै सुन्नेगरी बोलिरहनुभएको छ ।’ यस्तो कुरा लेख्ने बाइबल सत्य छ किनभने ‘बाइबिल सत्य छ’ भन्ने कुरा बाइबलमा नै लेखिएको छ । तर्क गजबको छ ।
त्यसमा पनि दक्षिण कोरियाका, कथित दोस्रो क्राइष्ट, आङ्ग साङ्ग होङ्ग नामक धर्म-प्रचारककी विधुवा धर्मपत्नीलाई माता-परमेश्वरीको रूपमा चाकडी बजाउने आफूलाई मात्रै परमेश्वरको मण्डली ठानीे बाँकी अरुलाई झुट्टा चर्च भएको दाबी गर्ने एउटा सम्प्रदायले सङ्ख्या नै किटेर बोलिरहेको सुनिन्छ – ‘क्राइस्ट पछिको दुई हजार वर्षको अवधिमा पहिलो पटकमा सशरीर फलफूल र चराचरले सुशोभित बगैँचा रुपी स्वर्गमा पुर्याउने अलौकिक यानमा केबल एक लाख चवालिस हजार मात्रै सीट सङ्ख्या छन् ।’
सुनाउनेहरू भन्छन् त्यहाँ कोचाकोच उभिएर वा छतमा बसेर जाने व्यवस्था पनि छैन रे । सीट सीमित छ, प्रतिष्पर्धा निकै तीव्र छ । सकभर आफ्ना नजिकैका आफन्त अझ त्यसमा पनि आˆनै अङ्गको रूपमा रहेका श्रीमान् वा श्रीमतिलाई छुटाउनु आफै छुट्नु सरह हो । जतिसुकै रोईकराई गरे पनि सैतानलाई तपाईंमाथि के को दया-माया ? घिसारेर कहिल्यै नटुङ्गिने यातनै यातनाले भरिएको नरकतिर लगेरै छोड्छ । त्यहाँबाट फर्कने त आशै नगरे भो । बरु बेलैमा स्वर्गतिरको व्यवस्था गर्दै गरे बेस । आफ्नो खास घर त स्वर्ग हो, पृथ्वी त जेल न हो, पड्किन ठिक्क परेको बम ! यसको के भरोसा ?
अवलोकन गर्ने, जिज्ञाशा राख्ने, मनन-चिन्तन गर्ने, प्रयोग र परीक्षण गर्ने, विश्लेषण गर्ने, चित्त नबुझे प्रश्न गर्ने, आफ्ना अनुभव र अनुभूतिको आधारमा निष्कर्ष निकाल्ने, पूर्वानुमान गर्ने नैसर्गिक र स्वाभाविक प्रक्रियाबाट मानिसको मन-मस्तिष्कलाई विचलित गर्नका लागि यसभन्दा प्रभावकारी डर र प्रलोभनको तकनिकी अरु कुनै छैन । विज्ञान र चेतनाको घाँटी रेट्ने धारिलो छुरा बाइबल भन्दा अरु के नै पो हुन सक्ला र ?
त्यति मात्रै कहाँ हो र, बाटामा कतै भेटे, तपाइर्ं हाम्रै प्रतीक्षामा हालसम्म बाँचेको जस्तो स्वाँग रच्दै, एकैछिन अडिएर कुरा गर्न, साथमा हिँडन, चिया पिउन आग्रह गर्दै, पारिवारिक सञ्चो-बिसञ्चो, पेशागत सफलता असफलताका आत्मीय सम्वाद गर्दै कुनै पनि तरिकाले एउटा ‘धर्मदूत’ले तपाईलाई उसको पायक पर्ने सियोन -चर्च) सम्म पुर्याइसकेको हुँदैन, अर्को रेडिमेट मतियार तपाइर्ंलाई भित्र पुर्याउन मरिहत्ते गर्छ । हामी सोझा नेपालीको कोमल मन न हो, यस्तो विनम्र आग्रहलाई कसरी इन्कार गर्नुु ? बाल्यकाल देखि मान्दै आएको सनातन धर्मले भन्छः आखिर धर्म र आस्था भन्ने कुरा सबैको उस्तै हो । यो जगत् र यसका मालिक परमेश्वर पनि एउटै छन् । एउटा जाबो एकाध घण्टाको आराधनामा बसिहाल्दा बिग्रने पनि के नै हो र ?
जब तपाई सियोन (चर्च) को प्रार्थना हलभित्र प्रवेश गर्नुहुन्छ, ढोकासम्म पुर्याउने ती दलालहरू अलप भईसकेका हुन्छन् । तपाईंको छेवैमा अर्काे महा-खप्पिस आइपुग्छ । प्रार्थना गरेको बहानामा तपाईंको मनोदशाको अवलोकन गर्दै तपाइर्ंसँग खास-खास, खुस-खुस शुरु हुन्छ र विस्तारै त्यो दबाबमा रूपान्तरित हुन्छ ।
आराधना सकिँदा नसकिँदै, तपाई थप पाँच-सातजनाको घेरा बन्दीमा परिसक्नुभएको हुन्छ । तपाई अब अरू कसैको आग्रहमा होइन, आफ्नै स्वेच्छा र पहलमा चर्च प्रवेश गरेको व्यक्ति बनाइनुहुन्छ । उनीहरूको बुझाइ र व्यवहारले तपाइर्ंलाई धकेलेर दुई मध्ये एउटा त हुनै पर्ने बाध्यतामा पुर्याउर्ँछन् । नत्र तपाइर्ं चर्च र यसका क्रियाकलापमाथि निगरानी गर्ने जासुस वा शत्रु ठहरिनु हुन्छ । कि त तपार्इं आफ्नो इतिहास-संस्कृतिबाट विद्रोह गरी चर्च र बाइबलप्रति आकषिर्त भई धर्म परिवर्तन गर्दै पक्का क्रिश्चियन बन्न लालायित व्यक्ति ।
उनीहरूका कुराप्रति सकारात्मक हुँदै गर्दा लोभलाग्दा ढोकाहरू खुल्दै जान्छन् । रूपमा हेर्दा सबै आकर्षक, सफा, सभ्य र नम्र छन् । तर सारमाथि मनन गर्नुस् तपाईंका अगाडि बोल्नेहरू अरुका कुरा सुन्न सक्ने चिन्तन-मनन गर्न सक्ने मानिस हुँदैनन् । यिनीहरू त भरेका रेकर्ड बजाउने टाईकोटमा सजिएका ठयाक्कै मान्छे जस्तै देखिने पटक्कै कुनै संवेदना नभएका निर्जीव मेसीन औजार पो रहेछन् भन्ने सहजै बुझ्नु हुन्छ । यो पनि थाहा लाग्छ कि यी मान्छेरूपी कठपुतली स्वाँठहरूलाई बोल्न लगाउने रिमोट-कन्ट्रोलधारी व्यक्ति त बाहिर कतै अदृश्य पो हुँदा रहेछन् ।
तर विडम्बना ! सेमिनार अन्तक्रिया आदिको आकर्षक निमन्त्रणा गरी उनकै प्रचारवाजीले भरिएको प्रायोजित भिडियो कोच्याए पनि, चारजना यौन पिपाशुहरूले एउटी अवला नारीमाथि गरेजस्तै तपाईको चिन्तन अधिकारमाथि जतिसुकै बलात्कार गरेपनि कुनै प्रतिवाद नगरी त्यसलाई स्वीकार गर्नुस्, त्यही नै श्रेयस्कर होला । अन्यथा भूलवश कुनै जिज्ञाशा, फरकमत वा असन्तुष्टि राखिहाल्नु भयो भने, कुनै टिप्पणी गरिहाल्नुभयो भने, तपाई कसरी उनीहरूको प्रतिशोधमा पर्नुहुन्छ, तपाई अन्दाज लगाउन सक्नुहुन्न ।
तत्क्षण त ‘यत्तिका कुरा औंल्याइदिनु भएकामा, सुधार गर्ने मौका दिनु भएकामा विशेष धन्यवाद’ भन्न समेत चुक्दैनन् । अब, आफ्नो वौद्धिकताको प्रयोग गरेवापत भोग्नुपर्ने विषम विवशताको विकल्प तपाईसँग रहँदैन । यी नव श्री ३ महाराजहरुको मुखारविन्दबाट निस्किएका बाइबल कानुनका अकाट्य कुरालाई पाल्तु पशुझै खुरुक्क हुबहु पालना नगरेर, आफ्नो उन्मुक्त चिन्तन अधिकारको नैसर्गिक उपयोग गर्न चाहने तपाईं यसको अदृश्य प्रतिशोधमा परिसक्नुभयो ।
भोलि उनीहरूले राज्य कब्जा गरे- उनीहरूको लागि सबैभन्दा गतिलो प्रतिशोध, पेसा, व्यवसाय वा राजनीति केमा देखिएला थाहा छैन । तर हाल तपाईंको परिवारिक स्थिति प्रतिशोधमा पर्योे, तपाईंले जतिसुकै प्रयास गरेपनि न त त्यो सम्हालिने छ, न त अब परिवार तपार्इंको आफ्नो रहने छ । विज्ञान-सम्मत बुझाइ, विश्लेषण र व्यवहारबाट ऊ कहिल्यै भेट नहुने गरी सातकोश टाढा पुगिसकेको हुन्छ ।
अर्कातिर तपाईंका हरेक सोचाइ, प्रयास र व्यवहारहरू उनीहरूको रेडिमेट व्याख्याका ठिङ्गुराभित्र पर्न थाल्छन् । परिवार भित्रको छलफलबाट कुनै निष्कर्ष पो निक्लेला कि भनी आशा नगरे पनि हुन्छ । बाइबलले अनुमति नदिएको कुरा न त यो संसारमा थियो, न त हुनेवाला छ ।
तपाईंले के सोच्ने, के गर्ने सबै कुरा पहिल्यै बाइबलमा लेखिइसकेका छन् । तपाईंका कुरा भर्न न त त्यहाँ कुनै खाली स्थान छोडिएको छ, न त आफ्ना चिन्तन व्यवहारका सम्बन्धमा चित्त नबुझेका बाइबलका शब्दलाई मेटने इरेजरको व्यवस्था नै गरिएको हुन्छ । अब तपाईंको प्राकृतिक अस्तित्व मेटियो, तपाइर्ंको आˆनोपन वा आˆनो मन भन्ने कुरा पनि केही रहेन ।
तर पनि सङ्घर्ष नै जीवन हो भन्दै तपाईं आफ्नो बुझाई वा निष्कर्षमा अडान लिदै जानोस्, सच्चाइपूर्ण निष्कर्षमा पुग्ने जतिसुकै प्रयास गर्नोस्, तपाईंलाई मेहनत वा प्रयासरत व्यक्तिका रूपमा होइन, सैतानको खेलौनाको रूपमा हेर्ने गरिन्छ । अहो अब त भएन, कहिलेसम्म सङ्घर्ष मात्रै गर्ने भनेर तपार्इं परिवारप्रति नम्र र उदार बन्दै जानोस्, यो तपाईंको महानता होइन, परमेश्वरको शक्तिको करामत बन्छ । कसैको प्रार्थनाको कारण परमेश्वरले तपाईंमाथि पारेको प्रभावको रूपमा हेरिन्छ ।
तपाईंलाई अझ पेल्ने, तपाईंका कुनै कुरा नसुन्ने, मनोमानी ढङ्गले तपाईंमाथि अन्याय र दबाब दिने, तपाईंलाई परिवारबाटै एक्लाउने कुराले अलौकिक प्रोत्साहन पाउँछ । तपार्इ पक्का क्रिश्चियन नबन्दासम्म पापी र सैतानको प्रतिच्छायाँ हुनुहुन्छ ।
तपाइर्ंमाथि गरिने कुनैपनि लाञ्छना, शारीरिक-मानसिक यातना, दबाब र अन्याय तपाईंमाथि नभई सैतानमाथिका कारबाहीको रूपमा जायज र अनिवार्य बन्दै जान्छन् । उनका परमेश्वरले त्यसै कुरामाथि लाहाछाप लगाउँदै जान्छन् ।
तपाईंका मेहनत, सङ्घर्ष, सामाजिक सम्बन्ध, व्यवहार सबै परमेश्वरको इच्छाका मातहत हुन्छन्, बाझिएमा बाझिएको हदसम्म अमान्य । केही नयाँ कुरा सोच्नु वा सचेतना र सामूहिक प्रयासमा कुनै नयाँ उपलव्धिको लागि प्रयास गर्नु, भोलिको लागि चिन्तन गर्नु, योजना बनाउनु, मित्र बनाउनु सामूहिकतामा कुनै प्रयास गर्नु, परमेश्वरको क्षेत्राधिकारमाथि अतिक्रमण, स्वर्गीय सत्तामाथिको चुनौती, परमेश्वरको अस्तित्व र महिमामाथिको प्रतिशोध र महापापको रूपमा अर्थ लगाइन्छ । उक्त प्रायोजित परमेश्वरको चाहना छ- मानिस केवल दास बनोस्, उनकै आज्ञाको प्रतीक्षामा जिओस् ।
यति भइसक्दा पनि यदि तपाईले आफ्नो मानसिक सन्तुलन गुमाउनु भएन भने, सहज रुपमा बुझ्नुहुनेछ- बाइबलका कोरा शब्दलाई नै अन्तिम सत्य ठान्ने ठूलो सङ्ख्याका लण्ठूहरू बाइबलको आवरणले आफ्ना कर्तुतहरूको ढाकछोप गर्न खप्पिस धूर्तहरूको माखे-साङ्गलोभित्र फस्दै जाँदा रहेछन् । यिनै छट्टुहरूको मुखबाट परमेश्वरकै अगमवाणीहरू सुन्दारहेछन् । सदा-सदा उनीहरूकै आज्ञाको पालना गर्नलाई नै अलौकिक र स्वर्गीय ठान्दा रहेछन् । कारण त्यो चर्च भनिने मानसिक झ्यालखानामा न त बाइबिलको समग्र अध्ययन हुन्छ, न त त्यसमाथि बहस वा छलफल नै ।
बरु कुनै स्वार्थी विशेषले आफ्नो अनुकूलतामा बाइबलका कथनहरूको अंश-अंशलाई ‘कट-पेष्ट डिजाइन’ गरेर बाँकी अरुहरूलाई बेबकुफ बनाइरहँदो रहेछ । मान्छेले मान्छेमाथि गर्ने शोषण र अन्यायको लागि यो भन्दा अर्को काइदा के नै पो हुन सक्ला र ?
आफू क्रिश्चियन बनिहाले पनि कुनै आध्यात्मिक आत्मानुभूति त कहाँ हो कहाँ, दुई खुट्टे देख्नेवित्तिकै लखेटी लखेटी कुनैपनि तरिकाले बाइबलका शब्द कोच्याएरै छोड, क्रिश्चयन बनाएरै छोड भन्ने निर्देशनबाट तपाई प्रताडित हुन छोडनु हुन्न । यिनीहरूको जोडदारको प्रशिक्षण सुन्दा लाग्छ- ए बा यो त कताको धर्म हुनु पक्का राजनीति पो रहेछ । यिनीहरूको व्यवहार हेर्दै जाँदा इतिहासको दृष्टान्त आˆना अगाडि खुल्दै जान्छ ।
साम्राज्य विस्तारको क्रममा, गाँउ-वस्ती ध्वस्त पारिन्थ्यो रे, आँटिलाहरूलाई थलोमै मारिन्थ्यो रे । बाँकी कमजोरहरूलाई जस्तोसुकै अनुनय-विनय, रोइकराई गरेपनि त्यसलाई बुटले कुल्चँदै, लतार्दै-घिसार्दै कोच्दै ठोक्दै, रोदन-चित्कारलाई बाजागाजाका आवाजले छोप्दै, दास-भण्डारसम्म ल्याइन्थ्यो रे । त्यसपछि कतै भाग्ने वा विद्रोह गर्ने प्रयाश नगरी खुरुखुरु मालिकको आदेशमा काम गर्न मानसिक रूपमै तयार होऊन् भन्ने प्रयोजनले कथिएका कुराहरू नै पछि गएर बाइबलमा कथित सुसमाचारको रूपमा लिखितम् भएका रहेछन् । गाँठी कुरा त यसो पो हरेछ- हिँजो गाउँबस्तीमा मान्छेको शिकार गर्नेहरू नै आज डेरा-कोठा चहार्दा रहेछन् ।
युरोपको इतिहासले बताउँछ- अवलोकन, प्रयोग-परीक्षण र विश्लेषणमा आधारित वैज्ञानिक चिन्तन गर्ने कोपर्निकस, ब्रुनो, ग्यालिलियो आदि बाइबल नटेरेका आरोपमा स्वतन्त्र विचारकहरू चर्चद्वारा जिउँदै जलाइए, उनीहरू हजारौ वर्षसम्म यातनाका शिकार बने । तर हाल आफ्ना यस्ता घृणित कु-कार्यलाई इतिहासको गर्भभित्र लुकाँउदै, अझ नयाँ-नयाँ सम्प्रदाय खडा गर्दै, इतिहासका सबै गल्ती-कमजोरीहरूलाई रोमन क्याथोलिक सम्प्रदायका थाप्लामा खन्याएर आफू चोखिन खोज्ने, क्रिश्चियनहरू नेपाली समाजमा सलह झैं फैलिरहेका छन् ।
विडम्बना यस्तो छ कि नेपालका कतिपय उपबुज्रुकहरू परम्परागत हिन्दु अन्धविश्वासको विरोध गर्ने नाममा क्रिश्चियन धर्मको पक्षमा वकालत गर्न समेत पछि पर्दैनन् । कुन अदृश्य पैसा वा ख्यातिको प्रलोभनमा फसेका हुन् ? विवेक र वैज्ञानिकताको हत्या गर्ने, साम्राज्य विशेषकोे मतियार बनेर अरुहरूमाथि गरेको अत्याचार गर्ने क्रिश्चियनहरूको पाखण्डप्रति आँखा चिम्लने- धन्य छ उनीहरूको विवेक ।
बेलैमा विवेक नपलाए, हजारौ वर्षसम्म जिउँदै जलाइएका यी वैज्ञानिक चिन्तकहरूको चित्कारले उनीहरूलाई सदासदाका लागि धिक्कारिरहनेछ । त्यसमा अर्को एउटा नाम थपिन्छ, सुशील भट्टराई । जुन परिस्थितिमा आज म छु, बरू चर्चमा गएर आत्मदाहा गर्न तयार छु, तर दासत्व स्वीकार्दैन ।
(भट्टराई, विश्वभाषा क्याम्पस, काठमाडौंका प्राध्यापक हुन्)
प्रतिक्रिया 4