+
+

नेपालमै खुल्यो भूकम्पको पूर्वसूचना केन्द्रः जहाँ भूकम्प आउनुअघि साइरन बज्छ

यस्तो छ चीनको सहयोगमा जडान गरिएको यन्त्र

रविन्द्र घिमिरे रविन्द्र घिमिरे
२०७३ मंसिर २९ गते ११:०१

earthquake-early-warning-center-nepal-nast-neewc-1

२९ मंसिर, काठमाडौँ । भूकम्प कहिले आउँछ भनेर पत्ता लगाउने कुनै प्रविधि छैन । तर, भूकम्प आउनुभन्दा केही सेकेण्डअघि त्यसका तरंगलाई मापन गरेर पूर्वसूचना दिने प्रविधि भने तयार छ । र, यसलाई अब नेपालमा पनि प्रयोग गर्न थालिएको छ ।

नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलोपटक भूकम्पको पूर्वसूचना दिने यन्त्र जडान थालेको छ । यसका लागि नाष्टले चीनको सहयोग लिएको छ । नाष्टले काठमाडौं वरपरका क्षेत्रमा पाइलटिङ गरिरहेको छ ।

यो प्रविधिले भूकम्पका प्रारम्भिक तरंगलाई विश्लेषण गर्छ र ५ रेक्टरभन्दा माथिका भूकम्पबारे केही सेकेण्डअघि नै सूचना प्रवाह गर्छ । त्यसका कारण सावधान रहन र सुरक्षित स्थानसम्म पुगेर बस्न सहयोग पुग्छ ।

यस्तो छ पूर्वचेतावनी केन्द्र

यो प्रविधिको मुख्य कन्ट्रोल रुमका रुपमा नाष्टको केन्द्रीय कार्यालयभित्रै ‘नेपाल भूकम्प पूर्वचेतावनी केन्द्र’ स्थापना गरिएको छ । जहाँ कम्प्युटर र इन्टरनेटको माध्यमबाट भूकम्पको पूर्वसूचना प्राप्त हुन्छ । तर, पूर्वसूचना दिने यन्त्र धेरै ठाउँमा जोड्न नसकिएकाले देशभरको सूचना यो सर्भरसम्म आइपुग्दैन ।

earthquake-early-warning-center-nepal-nast-neewc-2-jpg

इन्स्टिच्युट अफ केयर लाइफ नामक चाइनिज संस्थाको सहयोगमा खुमलटारस्थित कार्यालयमा भूकम्पको पूर्वसूचना संकलन गर्ने र प्राप्त गर्ने ‘सर्भर’ तथा ‘रिसिभर’ राखिएको छ । काठमाडौं वरपरका जिल्लाका ४० स्थानमा भूकम्पको तरंगलाई मापन गरेर सर्भरमा ल्याउने गरी सेन्सरहरु जडान गरिएको नाष्टका टेक्निकल अफिसर रोशन पाण्डेले अनलाइनखबरलाई बताए ।

‘यो नयाँ प्रविधि होइन । तर, नेपालका लागि यो बिल्कुल नयाँ पनि हो । यसले भूकम्प आउँदैछ है भनेर पूर्वसूचना केही सेकेण्डअघि मात्रै दिन्छ,’ अफिसर पाण्डेले भने, ‘मानवीय क्षति कम गर्न यो प्रभावकारी हुन सक्छ ।’

सेन्सरले पठाउँछ पूर्वसूचना

भूकम्पको धक्का महसुस हुनुभन्दा अघि आउने प्रारम्भिक तरंगका आधारमा सेन्सरहरुलेे भूकम्प आउने सूचना सर्भरमा पठाउँछन् । नाष्टले अहिले आफ्नो कार्यालयमा भूकम्प आउनुपूर्वको सांकेतिक यन्त्र जडान गरेको छ । यसले भूकम्प आउनुभन्दा २० सकेण्डअघि साइरन बजाएर भूकम्पको प्रारम्भिक सूचना दिन्छ ।

तर, यसका लागि सेन्सर र सर्भरको इन्टरनेटको गति ‘फाष्ट’ हुनुपर्छ । इन्टरनेटको गति कमजोर भए सूचना आउन उति नै ढिला हुन्छ ।

earthquake-early-warning-center-nepal-nast-neewc-3-jpg

यो प्रविधिबाट सम्भावित ठूलो धनजनको क्षतिलाई कम गर्न सकिने नाष्टको विश्वास छ । यस्ता भूकम्पको पूर्वसूचना संकलन गर्ने यन्त्र १५ किलोमिटरदेखि २० किलोमिटर दूरी बनाएर राखिन्छ । यसमा इन्टरनेटका लागि मोबाइलको सीम राखिन्छ ।

त्यही इन्टरनेटमार्फत नै सर्भरसम्म भूकम्पका प्रारम्भिक तरंगबारे सूचना यी सेन्सरहरुले प्रवाहित गर्छन् ।

विकसित मुलुकमा यो यन्त्रको प्रयोग सुरु भएको भएको लामो समय भइसकेको छ । ०७२ सालको बैशाखमा भूकम्प आएपछि मात्रै नेपालमा यो प्रविधि प्रयोगबारे सोचिएको हो ।

थप ४० वटा जोड्ने योजना

नाष्टले अब तत्काल थप ४० वटा सेन्सर यन्त्र विभिन्न ठाउँमा राख्दैछ । नेपालभरबाट यस्ता सूचना संकलन गर्न ३२० भन्दा बढी सेन्सर राख्नुपर्ने अनुमान छ । तर, नाष्टसँग यसका लागि बजेट छैन । त्यसैले चीनको संस्थासँग उसले सहयोग मागेको छ ।

भूकम्पको पूर्वसूचना संकलन गर्ने थप यन्त्र जडानका लागि नाष्टले सरकारसँगै विभिन्न क्षेत्रसँग पहल गरिरहेको छ । सेन्सरमा राख्ने सीमकार्डमा रिचार्ज सेवा उपलब्ध गराउन मोबाइल सेवा प्रदायकसँग नाष्टले आग्रह गरेको छ । नेपाल टेलिकमले खासै चासो नदेखाएपछि नाष्टले एनसेलसँग यसका लागि सहयोग मागेको छ ।

earthquake-early-warning-center-nepal-nast-neewc-4-jpg

कसरी पूर्व चेतावनी दिने ?

यस्ता सूचना संयन्त्रलाई बलियो बनाउन सके मोबाइल एपमार्फत भूकम्पको पूर्वसूचना दिन सकिने नाष्टका टेक्निकल अफिसर पाण्डे बताउँछन् । यसले भूकम्पप्रति चनाखो गराउने यो प्रविधिलाई प्रयोगमा ल्याउन सकिए मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ ।

यो प्रविधिबाट संकलित सूचना नागरिकसम्म पुर्‍याउन सार्वजनिक सञ्चारमाध्यम, साइरनलगायतको पनि सहायता लिन सकिन्छ ।

अहिले काठमाडौंका ३ स्थानमा यस्ता साइरनहरु जडान गरिएका छन्, जहाँ भूकम्पको प्रारम्भिक सूचना प्रवाह गरिन्छ । यसबाहेक एप लगायतका प्रविधिमा काम भएको छैन । यो प्रविधिको कतिपयले आलोचना गरेका छन् । तर, इन्टरनेटको गतिलाई यो प्रविधिमा चुस्त राख्न सके निकै प्रभावकारी हुने नाष्टको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?