
३ पुस, काठमाडौं । बिरामी लठ्याउन प्रयोग गरिने औषधि वर्षौंदेखि लागूऔषध प्रयोजनमा ठूलो परिमाणमा प्रयोग भइरहेको देखिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरोले बर्सेनि लाखौं डलर बराबरको डाइजेपाम, ब्रुप्रेननफ्रिन तथा फेनार्गन जस्ता औषधिजन्य लागूऔषध बरामद गर्ने गरेको छ । ती यस्ता औषधि हुन्, जुन वैध रुपमा खरिद गरेर ल्याउन सकिन्छ । किनकि यी सबै पदार्थ औषधिजन्य पदार्थको रुपमा बिरामीलाई समेत प्रयोग गरिन्छ ।
तर, यी औषधिको दुरुपयोग गरी लागूऔषधको रुपमा प्रयोग गर्ने क्रम बढेको छ । जुन नेपालको लागि भयावह बनिरहेको छ ।
गत साता ब्यूरोले अवैध लागूऔषध कारोबारको अभियोगमा पाँच जनालाई पक्राउ गर्यो । तर, उनीहरु सबै भरिया थिए । पक्राउ पर्नेहरुको साथबाट ब्यूरोले एक हजार एम्पुल लागूऔषध पनि बरामद गर्यो । उनीहरुको साथमा आठ सय ६० एम्पुल डाइजेपाम, त्यत्तिकै संख्यामा ब्रुप्रेननफ्रिन र फेनार्गन भेटिएको थियो ।
सस्तो औषधिको महँगो बजार
डाक्टरको सिफारिसमा मात्रै खरिद गर्न पाइने डाइजेपाम, फेनार्गन जस्ता औषधिको मूल्य सामान्यतः ५० देखि ७० रुपैयाँसम्म पर्छ । तर, अवैध बजारमा यसको मूल्य १५ सय रुपैयाँसम्म पर्ने लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरीहरुको दाबी छ ।
लागूऔषध दुर्व्यसनीहरुले ती सामान्य औषधि नशालु पदार्थको रुपमा प्रयोग गर्छन् । यस्ता औषधिहरु दुर्व्यसनीकै कारण कारोबारीका लागि आम्दानीको स्रोत मात्र बनिरहेको छैन, नेपालको लागि जोखिम बनिरहेको ब्यूरोका डिआईजी जयबहादुर चन्द बताउँछन् ।
गत साता ब्युरोले बरामद गरेका लगभग दुई हजार पिस डाइजेपाम, फेनार्गन तथा बे्रपि्रननपि|mनको बजार मूल्य १५ लाख देखिन्छ ।
पाँच वर्षमा एक अर्बको औषधि लागूऔषध बन्यो
पछिल्लो पाँच वर्षमा ९८ लाख डलर बराबरको लागूऔषध बरामद गरेको लागूऔषध नियन्त्रण ब्यूरोको तथ्यांक छ ।
ब्युरोले सन् २०११ मा मात्रै सात लाख डलर बराबरको औषधिजन्य लागूऔषध बरामद गरेको थियो भने २०१२ मा ११ लाख, १३ मा २५ लाख डलर बराबरको औषधि नियन्त्रण गरेको थियो । यस्तै, २०१४ मा २० लाख, १५ मा १५ लाख र १६ मा १७ लाख डलर बराबरको औषधि बरामद गरिइएको ब्युरोले जनाएको छ ।
खुला सिमानाको प्रयोग गरेर यस्ता लागूऔषध भारतबाट आउने गरेको ब्यूरोका एसएसपी गणेश केसी बताउँछन् । यस्ता नियन्त्रित औषधिहरु औषधि पसलहरुले समेत लागूऔषध दुव्र्यसनीलाई बिक्री गर्ने गरेको केसीको भनाइ छ ।
‘यस्ता लागूऔषध कारोबारको अभियोगमा ब्यूरोले एक वर्षमा तीन हजारभन्दा बढीलाई पक्राउ गरी कारबाही गरिसकेको छ । यो निकै भयावह अवस्थामा छ,’ एसएसपी केसीले भने ।
कसरी बिक्री हुन्छ ?
डाइजेपाम, फेनार्गन, ब्रुप्रेननफ्रिन जस्ता औषधि बिरामीलाई लठ्याउन सिरिन्ज मार्फत प्रयोग गरिन्छ ।
नेपाल प्रहरी अस्पतालका पूर्व एआईजी डा. रामानाथ सिंहका अनुसार, बिरामीको दुखाइ कम गर्न अथवा अपरेशनको समयमा लठ्याउन ती औषधिको प्रयोग गरिन्छ ।
‘अस्पतालमा यी औषधिमध्ये आवश्यकताअनुसार कुनै एउटा मात्रै औषधि सिरिन्जबाट प्रयोग गरिन्छ,’ उनले भने ।
तर, दुव्र्यसनीहरुले फेनार्गन, डाइजेपाम तथा ब्रुप्रेननफ्रिन एउटै सिरिन्जमा मिसाएर प्रयोग गर्ने भएकोले यो लागूऔषध बनेको ब्युरोका डिआईजी जयबहादुर चन्द बताउँछन् ।
‘डाइजेपाम, फेनार्गन तथा ब्रुप्रेननफ्रिन मध्ये एउटा मात्रै कसैसँग भेटियो भने उसलाई कारबाही हुँदैन । दुव्र्यसनीले भने ती तीनवटै औषधिलाई मिसाएर लागूऔषधका रुपमा प्रयोग गर्छन्’, चन्दले भने । यसर्थ एकसाथ तीनवटै औषधि बोक्ने व्यक्ति लागूऔषध कारोबारको अभियोगमा समातिन्छन् ।

औषधि पसललाई कसले कारबाही गर्ने ?
औषधिजन्य लागूऔषध बिक्री गर्न कतिपय औषधि पसलहरु नै सक्रिय रहेको ब्यूरोको अनुगमनका क्रममा भेटिएको छ । कतिपयले ट्याब्लेटमा त कतिपयले सिरिन्जमै लागूऔषध खरिद गर्ने गरेका छन् ।
औषधि पसलेहरुले दुर्व्यसनीको लागि छुट्टै रेट तोक्ने गर्छन् । ‘५० रुपैयाँमा पाइने सिरिन्ज दुर्व्यसनीलाई दुई सयदेखि तीन सयसम्ममा बिक्री गर्छन्’, ब्यूरोका एक अधिकृतले भने ।
त्यस्तो लागूऔषध कलेज पढ्ने विद्यार्थीले सबैभन्दा बढी प्रयोग गर्ने गरेको पाइएको छ । डिआईजी चन्द भन्छन्, ‘खैरो हेरोइन, कोकिन जस्ता लागूऔषध धेरै महँगो हुने भएकोले हाम्रो समाजमा त्यति प्रयोग हुँदैन, तर औषधिजन्य लागूऔषधले एउटा पुस्तालाई नै सखाप बनाउने खतरा छ ।’
पूर्व एआईजी डाक्टर रामनाथ सिंहको बुझाइमा औषधि पसलहरुमा नियमित अनुगमन नहुनु नै यसको दुरुपयोग हुने मुख्य कारण हो । ‘खुला सीमाबाट भित्रने क्रम रोक्न नसके पनि औषधि पसलेहरुले दुर्व्यसनीहरुलाई यस्ता ड्रग्स बेच्ने भएकाले त्यो नियन्त्रण गर्नुपर्छ ।’
नियन्त्रित लागूऔषध भएकोले कसले कति ल्यायो, कति बिक्री गर्यो र कसलाई बिक्री गर्यो भन्नेसम्मको तथ्यांक औषधि पसलेहरुले राख्नुपर्ने डा. सिंहको बुझाइ छ ।
प्रतिक्रिया 4