+
+

प्रचण्डको एकतर्फी प्रेम ? जसलाई बाबुरामले यसरी टारे (भिडियोसहित)

'पुरानो माओवादको काम छैन, अहिले आ-आफ्नो बाटो हिँडौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ११ गते १९:२१

११ पुस, काठमाडौं । माओ दिवसका दिन राजधानीमा आयोजित स्व. भक्ति पाण्डे (चाचाजी)को पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले डा. बाबुराम भट्टराईको जति खुलेर प्रशंसा गर्दै पुनर्मिलनको खाँचो औंल्याए, डा. बाबुराम भट्टराईले चाँहि अहिले सम्बन्धविच्छेदकै निरन्तरतामा जोड दिएको देखियो ।

फरक यात्राको करिब १६ महिनापछि पहिलोपटक एउटा मञ्चमा देखिएका यी दुई नेताहरुको भाषण सुन्दा प्रचण्डले बाबुराममाथि एकतर्फी प्रेमभाव दर्शाएको तर, अर्कोपक्षको प्रेमी (बाबुराम)ले चाँहि पुनर्मिलनमा खासै रुची नदेखाएजस्तो देखिन्थ्यो ।

कार्यक्रममा प्रचण्डको भनाइ थियो-‘मैले के भन्न चाहेको छु भने अहिले हामी दुई ठाउँमा त छौं, तर देशको राजनीतिक घटनाक्रम र परिस्थितिले फेरि हामीलाई एकै ठाउँमा आउन बाध्य पार्दैछ ।अब हामी इमान्दार छौं भने….हामी एकै ठाउँ उभिनुको कुनै विकल्प देखेको छैन ।’

(प्रचण्डको पूरा कथन यहाँ पढ्नुहोस्- यी हुन् बाबुरामको प्रशंसामा प्रचण्डले खर्चेका नौ सय शब्द !)

तर, प्रधानमन्त्री प्रचण्डले देशमा प्रतिगमनको निकै ठूलो त्राशदी र खतरा औंल्याउँदै बाबुरामप्रति एकताको आशक्तिभाव प्रकट गरे पनि बाबुरामले चाँहि मिल्नका लागि वैचारिक र नीतिगत एकरुपता हुनुपर्नेमा जोड दिए । साथै डा. भट्टराईले माओ दिवसकै दिन पारेर प्रचण्डलाई यो पनि भन्न भ्याए कि पुरानो माओवादले नेपालमा अब काम छैन । साथै आफूले माओवादी पार्टी छाडेर प्रचण्डलाई सजिलो बनाइदिएको भन्दै भट्टराईले कटाक्षसमेत गरे ।

एक हुनुपर्ने बाध्यता आइलागेको प्रचण्डले भनिरहँदा बाबुरामको प्रस्ताव थियो-अहिले हामी आ-आफ्नो बाटो लागौं ।

माओवादी पार्टीमात्रै होइन, माओवादसमेत त्यागेर लगभग गैर कम्युनिष्ट जस्तै देखिने नयाँ शक्ति गठन गरेका डा. भट्टराईले १६ महिनाको यस अवधिमा क्रमशः शक्ति आर्जन गर्दै गइरहेका छन् । यसैले हुनुपर्छ उनी निकै तनावमुक्तजस्ता देखिन्छन् । उता प्रचण्ड चाँहि बादल समूहसँग पार्टी एकता गरेर पनि पार्टीलाई व्यवस्थित गर्न नसक्दा निकै तनावमा देखिन्छन् । उनलाई बारम्बार प्रतिगमनको भुतले तर्साइरहेको छ । सायद यही भएर उनले बाबुराम भट्टराईको विगतको जस्तै न्यानो साथको अपेक्षा गरेका हुन् ।

तर, डा. भट्टराई नि ? सोमबार प्रचण्डसँगै मञ्चमा उभिएका डा. भट्टराईले यसो भनेः

prachand-and-baburam-at-chacha-program-15

प्रचण्ड र बाबुरामको भूमिकाबारे मान्छेहरुले चर्चा गर्ने गर्छन् । त्यो कुनै हाम्रो व्यक्तिगत सम्बन्ध थिएन र अहिले पनि कुनै दुश्मनी छैन । उत्तिकै सौहाद्रता छ । तर, विचारमा हाम्रा भिन्नताहरु छन् । हिजो पनि थियो र त्यही कारणले गर्दा हाम्रो अन्तरसंघर्ष विचारमै केन्द्रित थियो ।

र, अहिले पछि हामी फरक बाटो लाग्नुको पछाडि पनि विचारकै कारणले गर्दा हो, अरु कुनै कारणले गर्दा होइन । यसबारे कुनै पनि प्रकारको भ्रम साथीहरुमा, स्रोताहरुमा र जनतामा नपरोस् भन्ने म आग्रह गर्न चाहान्छु ।

तर, यसको अर्थ कुनै सम्भावनै थिएन भन्ने…. भर्खरै प्रधानमन्त्रीजीले तपाई अलि हतारिनु भो भन्नुभो, मैले तपाईलाई गाह्रो हुन्छ कि, त्यसैले म अगाडि हिँडे है भनें । मिल्न सकिन्थ्यो होला, तर तपाई जुन ठाउँमा हुनुहुन्छ, जुन जिम्मेवारीमा हुनुहुन्छ, त्यसले गर्दा तपाईलाई गाह्रो हुन्छ । त्यसैले म एक्लै अगाडि बढेको हो । पहिले पनि मैले भनें र उहाँकै अगाडि म यो भन्न चाहन्छु ।

मैले भन्न खोजेको विषय के हो भने नेपाली समाज अब अर्को चरणमा प्रवेश गर्‍यो । अब यो यथार्थ हो । फेरि पनि उहाँ (भक्ति पाण्डे) को मनसाय के थियो भने यिनीहरु (प्रचण्ड र बाबुराम) मिल्नुपर्छ भन्ने थियो । तर, विचारमा हामी एक हुने हो, विचार, नीति र कार्यक्रम एक हुनुपर्‍यो । अब नेपालमा पुरानो माओवादको, आज माओ दिवस भएको हुनाले म भन्न चाहन्छु, माओवाद जुन एउटा भाष्य हो, परिभाषा हो, जुन रुपले हामीले हिजो बुझ्यौं, त्यतिले पुग्दैन । हिजोको युगको निम्ति त्यो ठीक थियो, यथार्थ कुरो स्वीकार नगर्ने, पार्टीभित्र गुटबन्दी गर्ने, पार्टीभित्र अस्वस्थ्य खालको प्रतिस्पर्धा गुटबन्दी गर्ने र एउटाले एउटाको भूमिका उचाल्दिने, अर्काले अर्काको भूमिका उचाल्दिने । र, यथार्थ कुरालाई हामीले बंग्याइदिने काम हिजो पनि भयो र अहिलेसम्म भइराखेको छ ।

कुनै पनि पूरक भूमिकाहरु केन्द्रित नभइकन कुनै पनि क्रान्तिकारी आन्दोलन सफल हुँदैन । त्यसकारण मलाई पनि लाग्छ हाम्रो पूरक भूमिकाकै कारण हाम्रो (आन्दोलन) त्यहाँसम्म पुगेको थियो । एउटाले मात्रै सबैथोक गरेको थियो भनिन्छ भने त्यो सत्य थिएन ।

अहिले चाँहि हामी आ-आफ्नो बाटोमा लागेर, आ-आफ्ना प्रयोगहरु गरेर अनि त्यसको आधारमा ढोका खुल्ला राख्दै फेरि भोलिको निम्ति नयाँ आधारमा रुपान्तरणसहितको नयाँ प्रकारको बाटो निर्माण गर्न हामी खुल्ला रहनुपर्छ ।

यो ढंगले सोच्नु नै भक्ति पाण्डेप्रति श्रद्धाञ्जली हुन्छ भन्ने मलाई लाग्छ ।

तस्वीर/भिडियो-श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?