+
+

ललितपुरका माओवादीको दाबीः ०६४ साल फर्काइन्छ

एमाले हैन, कांग्रेससँग प्रतिस्पर्धा हुने दाबी

अनलाइनखबर अनलाइनखबर
२०७३ चैत ३१ गते ९:४३

३१ चैत, काठमाडौं । ललितपुर महानगरपालिकामा पहिलो पार्टी बन्ने दाबी माओवादी केन्द्रका नेताहरुले गरेका छन् । अनलाइनखबरले ललितपुर जिल्लामा क्रियाशील माओवादीका केही नेता तथा कार्यकर्ताहरुसँग आगामी चुनावबारे प्रतिक्रिया लिँदा उनीहरु जनमत आफूहरुको पक्षमा रहेको भन्दै उत्साहित मात्र देखिएनन् ०६४ सालको हाराहारीमा चुनावी नतिजा आउनेमा विश्वस्त समेत देखिए ।

पहिलो संविधानसभा निर्वाचनमा माओवादीले ललितपुरका तीनवटै निर्वाचन क्षेत्र जितेको थियो । तर, ०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने माओवादी नराम्रोसँग हारेको थियो ।

माओवादी पार्टीहरुबीच भएको एकताले पुनर्जागरण पैदा भएको बताउने माओवादी नेताहरुले वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने आंकलनसमेत गरे ।
प्रस्तुत छ, ललितपुर जिल्लामा क्रियाशील माओवादी केन्द्रका केही नेता–कार्यकर्ताहरुको प्रतिक्रिया जस्ताको त्यस्तै–

सबैलाई जितिसक्यौं, हामी आफैलाई जित्नु छ
दिनेश महर्जन ‘दिपेश’, ललितपुर महानगरपालिका इञ्चार्ज

हामीले एजेण्डाका हिसाबले सबैलाई जितिसकेका छौं । अब हामीभित्रैका गलत प्रवृत्तिहरुलाई जित्नु छ ।

संविधानसभाबाट नयाँ संविधान, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक अधिकार, दलित, महिला, आदिवासी जनजाती, मुस्लिम, अल्पसंख्यक, पिछडिएको वर्ग क्षेत्र लगायतलाई अधिकार दिनुपर्छ भन्ने हाम्रै एजेण्डा हुन् । भूकम्प पीडितलाई राहत, पुनर्निर्माणको कामलाई तिव्रता दिएका छौं । माओवादी केन्द्रको सरकार बनेपछि देशमा लोडसेडिङ हटेको छ । त्यसको सकारात्मक प्रभावले आर्थिक वृद्धिदर हालसम्मकै धेरै ६ प्रतिशत नाघेको छ ।

माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने हो भने अब पार्टीमा शुद्धिकरणको खाँचो छ । अनुशासनविपरित जाने हाम्रै साथीहरुलाई कारबाही गर्नैपर्छ ।

चुनाव आउन अब धेरै समय छैन । त्यसैले हामीले तत्कालका लागि घोषणापत्रको तयारीमा जुटेका छौं । अहिलेसम्म भएका उपलब्धीलाई संस्थागत गर्दै जाने कुरा चुनावको मुख्य एजेण्डा हो । अर्को कुरा यहाँ भएका विकास निर्माणको कुरा हो । बाटोघाटो, यहाँका ऐतिहासिक सम्पदा र सँस्कृतिहरुलाई विश्वको सामू चिनाउने कुरालाई पनि प्राथमिकता दिएका छौं । यहाँका नेवार समुदायको वृत्ति विकास र युवालाई रोजगारी सिर्जना पनि हाम्रा एजेण्डा बन्छन् ।

ललितपुरमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । हाम्रो अहिलेको सांगठनिक अवस्था हेर्दाखेरि २०६४ सालको सांगठनिक स्थितिको सेरोफेरोमा पुगिसकेका छौं । माओवादी एकतापछि अहिले निराशा पनि छैन । सबै साथीहरुमा उत्साहा आएको छ ।
स्थानीय तहको चुनाव जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता, सोच र मूल्यमान्यताहरु विकास हुँदै गएको छ । अब जहाँसम्म लाग्छ संघीयता पनि र स्थानीय तहको चुनाव संरचना छ त्यो पनि माओवादी केन्द्रको नै एजेण्डा भएकाले गर्दा हामीले जित्नुको विकल्प छैन ।

हामी त्यसैअनुसारको उम्मेदवार पनि चयन गर्दैछौं । यहाँ म लगायत बिभिन्न साथीहरुको नाम लिएर मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य उठ्ने भनेर मिडियाहरुमा हल्ला फैलाइएको छ त्यो पार्टीको आधिकारिक धारणा होइन ।

मलाई लाग्छ, उम्मेदवारको बिषयमा पार्टीले छिट्टै निर्णय गर्छ । इमान्दार, पार्टीप्रति प्रतिवद्ध र जित्ने व्यक्तिलाई अघि सार्नुप¥यो चुनावमा जसलाई उठाए पनि मलाई स्वीकार्य छ ।

ललितपुरबासीलाई जिल्लाभित्रै रोजगारी पहिलो प्राथमिकतामा
राजकाजी महर्जन, गोदावरी नगरपालिका इञ्चार्ज

हामीले महानगरपालिका र यहाँका जनतालाई समृद्ध बनाउने कुरालाई नै चुनावको मुख्य एजेण्डा बनाएका छौं । महानगरपालिकालाई व्यवस्थित ढंगबाट अगाडि लैजाने कुराहरु नै प्राथमिकतामा पर्छन् । त्यसभित्र स्थानीय जनताले प्र्रत्यक्ष अनभूति गर्ने गरी विकासका कार्यक्रम तयार पार्दछौं ।

अबको योजनामा सडक एउटा विषय त होला तर त्योभन्दा पनि यहाँका युवा, सबै जनतालाई यहाँभित्र नै रोजगारी सिर्जना गर्ने कुरा पहिलो प्राथमिकतामा पर्नुपर्छ । किनकि हामीले लोडसेडिङ हटाइसकेका छौं । अब साना–ठूला सबै उद्योगहरुलाई व्यवस्थित गर्नका लागि जुन मौका मिलेको छ त्यसलाई सदुपयोग गर्नुपर्छ ।

महानगरपालिकाभित्र रहने कतिपय दीर्घकालीन योजनाका हिसाबले हामीले सल्लाह गर्दै गर्ने कुरा त भयो यसमा सडक, पूर्वाधारको कुराहरु प्राथमिकतामा पर्ने त भइहाल्यो । पूर्वाधार तयार गर्नका लागि आवश्यक भनेको बिजुली र उद्योग नै हो । माओवादी केन्द्र र माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारले अहिले भर्खरै बैठक बसेर भूकम्प पीडितहरुको पक्षमा बिभिन्न योजनाहरु अघि सारेको छ ।

विगतका सरकारले गर्नै नसकेका कामहरु माओवादी पार्टी नेतृत्वको अहिलेको सरकारले गरेको छ । सरकारले भूकम्प पीडितलाई राहत रकम थप गरिदिएको छ । यसलाई सकारात्मक रुपमा लिँदै अझै व्यवस्थित गर्न हामीहरुले चुनावी एजेण्डा बनाउने तयारी गरेका छौं ।
चुनावमा तालमेल गर्नका लागि केन्द्रबाट अहिलेसम्म कुनै नीति वा निर्देशन आएको छैन । चुनावी तालमेलको सम्भावनै छैन त भन्न सकिन्न तर, पहिलो जोड माओवादी केन्द्र एक्लै चुनाव लड्छ । अरु कुनै दलले तालमेलको प्रस्ताव लिएर आए भने त्यसबारे अनुसार सोच्न सकिन्छ । जस्तै सत्ता गठबन्धनको हिसाबले नेपाली कांग्रेससँग तालमेलको सम्भावना रहनसक्छ । तर, आजको मितिसम्म तालमेलको विषयमा पार्टी केन्द्रले कुनै निर्णय नगरेकाले अहिले नै केही भन्न सकिँदैन ।

चुनावमा को उठ्ने भन्ने कुरा व्यक्ति प्रधान होइन । मुख्य गरी पार्टीलाई प्रधान बनाउनुप¥यो भन्ने मेरो व्यक्तिगत धारणा छ । उठाएपछि चुनाव जित्नुपर्यो , हार्ने मान्छे चुनावको उम्मेदवार हुनु भएन । मानौं म हार्छु भने मलाई पार्टीले उम्मेदवार बनाउनु हुँदैन र म जित्ने भए जान पाउनुपर्छ ।

ललितपुर जिल्लामा विगतको निर्वाचन हेर्दा पार्टी केन्द्रीय कार्यालयले हस्तक्षेप गर्दा दुई नम्बर निर्वाचन क्षेत्रमा मैले जितेको थिएँ । मेरो भनाई के हो भने ताप राप सबै मिलाउनुपर्यो  । एउटा तात्ने, अर्को सेलाउने गर्नुभएन । माथिबाट हस्तक्षेप गर्दा पनि हाम्रो कुनै विमती छैन । चुनाव भनेको एउटा रंगमञ्च हो भन्ने मलाई लाग्छ । रंगमञ्च कुन अर्थमा भने– यसमा बोलेरमात्र भएन त्यो कलात्मक हुनुपर्यो , गायर भएन सूर मिल्नुपर्यो  ।
विकासको योजना, भिजन, बोलिचालीमात्र होइन महानगरबासीले उम्मेदवारको शिक्षा समेत हेर्छन् । यीसहित लिडिङ गर्नसक्ने नेता छान्यो भने चुनाव जित्न सकिन्छ भन्ने मेरो धारणा हो । पार्टीले विधिवत के निर्णय गरिसकेको छ भने उम्मेदवारी दाबी गर्नेले दाबी गर्न पाउँछ । त्यहीअनुसार मेरो दाबी ललितपुरको मेयर पदमा छ ।

नेपाली कांग्रेसलाई प्रतिस्पर्धी दल मानेका छौं
बुद्धलक्ष्मी महर्जन, महाधिवेशन आयोजक समिति सदस्य

देश विकास गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, महंगी घटाउनेलगायतका एजेण्डा एउटा राजनीतिक दलको हुने नै भयो तर हाम्रो चुनावको खास एजेण्डा बनेको हाम्रै पहलमा, हाम्रै आन्दोलनले बनेको संविधानको कार्यान्वयन हो ।

माओवादी जनयुद्धको रापतापले बनेको संघीयतासहितको संविधान अहिले कार्यान्वयनको चरणमा छ । संविधान कार्यान्वयनभित्रको एउटा एजेण्डा बैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचन हो । त्यसैले आगामी चुनावी परिणाम माओवादी केन्द्रको पक्षमा पार्न हामी क्रियाशील छौं । हामी पूर्ण विश्वस्त पनि छौं कि चुनावमा हामी नै जित्छौं ।

हामीले चुनावमा नेपाली कांग्रेसलाई प्रतिस्पर्धी दल मानेका छौं । विगतमा हाम्रै आन्तरिक कारणले कांग्रेसले जिते पनि अहिले हाम्रै कारणले कांग्रेस हार्छ ।

दलित, महिला, जनजाति, अल्पसंख्यकहरुको हक संविधानमा सुनिश्चित त भयो तर यसको प्रत्यक्ष अनुभूति सबै जनताले गर्न पाएका छैनन् । त्यहि भएर हालका उपलब्धी संस्थागत गर्ने मुख्य एजेण्डा लिएर नै हामी जनताको बीचमा गएका छौं । एक ढंगले या भनौं एजेण्डाको हिसाबले हामीले चुनाव जितिसकेका छौं । त्यसलाई व्यवहारमा उतार्न सम्पूर्णरुपमा हामी चुनावमा होमिएका छौं ।

जनताबाट पनि सकारात्मक प्रतिक्रिया पाएका छौं । देश र जनताको जिम्मेवार पार्टी भएकाले अरुले भन्दा माओवादी केन्द्रले बढी जिम्मेवारी बहन गर्छ ।

बाटोघाटो बाहेक ललितपुरका ग्रामिण क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैन । हामी चौबिसै घण्टा सेवा दिने अस्पताल खोल्न चाहान्छौं । फोहरमैलाको समस्या समाधान गर्नुछ । भूकम्पले बिगारेका पुराना ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण गर्ने, संरक्षण गर्ने कुरालाई पनि हामीले जोड दिएका छौं ।

यी एजेण्डालाई कार्यान्वयन गराउन सक्ने इमान्दार, सक्षम, जनताका समस्या बुझेर समाधान गर्ने, जनतामा लोकप्रिय, कालो धब्बा नलागेको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ ।

हामी देशभरका सबै ७४४ स्थानीय तहमा पहिलो हुनुपर्छ । यदि माओवादी केन्द्र पहिलो भएन भने दुई–दुईपटक बनेको यो संविधान लागू हुन पाउँदैन । संविधान लागू भएन भने देश अँध्यारोतिर फर्किने खतरा हुन्छ । किनकि राजावादीहरुले र विखण्डनकारीहरुले टाउको उठाइरहेका छन् ।

यस्तो अवस्थामा यदि माओवादीले जितेन भने १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, तराई मधेस आन्दोलन, आदिवासी जनजाति, महिलाहरुको आन्दोलन सबै खेर जाने खतरा हुन्छ ।

हाम्रो स्थिति २०६४ सालको जस्तै छ
नवराज ढुंगाना ‘विश्वास’, वाईसीएल ३ नम्बर प्रदेश सहइञ्चार्ज

विगतमा हामीले निर्माण गरेको जनसत्ता जस्तै अहिले जनता घरदैलोबाटै सबै सेवा सुविधा पाउने चरणमा छन् । रुपमा हेर्दा त जनसत्ता होइन तर सारमा हेर्दा जनसत्ता जस्तै–जस्तै हो । किनकी जनताले सिंहदरवारबाट हुने काम अब स्थानीय तह अर्थात आफ्नै घरदैलोबाट पाउँदैछन् । यो काम माओवादी नेतृत्वको सरकारबाट सम्भव भएको हो भनेर जनतालाई बुझाउनु जरुरी छ ।

अहिलेको हाम्रो चुनावी एजेण्डा पनि त्यही हो । यीनै विषयहरु लिएर चुनावमा होमिन पार्टीले निर्देशन दिएको छ र हामी निर्देशन कार्यान्वयन गरिरहेका छौं ।

चुनावले भूकम्प पीडितलाई राहत तथा क्षति भएका संरचना पुनर्निर्माणको काम ओझेलमा परेको होकि जस्तो देखिए पनि वास्तविकता त्यस्तो होइन । यो सरकार बन्ने बित्तिकै प्रत्येक भूकम्प पीडितको घर बराबर एक लाख थप गरेको छ । सरकारले अरु जनमुखी निर्णयहरुसँगै राहत र पुनर्निर्माणको कामलाई पनि सँगसँगै अघि बढाएको छ । हामीले चुनावी एजेण्डामा पुनर्निर्माणको कामलाई पनि जोड दिएका छौं ।

पार्टी पूरै चुनावमा गइसकेको छ । अहिले हामी चुनावी एजेण्डालाई अन्तिम रुप दिन र पार्टीको आन्तरिक कामलाई सुदृढ पार्न क्रियाशील छौं । हामीले भेला सम्मेलन सकेर अब उम्मेदवारहरुको छलफल गर्दैछौं । जनतामा जो स्थापित छ त्यसलाई उम्मेदवार बनाउनुपर्छ । म आफै जनयुद्ध लडेर आएको मान्छे त हुँ तर अहिले त्यतिधेरै स्थापित छैन भने टिकटमा दाबी गर्नुपर्छ भन्ने मान्यता मेरो छैन । तर, दाबी गर्ने व्यक्तिले चुनावमा जित्नुपर्छ । त्यसरी जानसक्यो भने र हिजोको निरन्तरता, कामको क्षमता योग्यता सबैको नापजाँच गरेर उम्मेदवार छनोट गरियो भने सकारात्मक परिणाम निकाल्न सकिन्छ ।

अहिले हाम्रो स्थिति २०६४ सालको जस्तै छ । २०६४ सालमा हामीले अप्रत्यासित नतिजा हात पारेका थियौं । मान्छेको अनुमानविपरितको माओवादीको पक्षमा चुनावको रिजल्ट आएको थियो । अहिलेको चुनावमा पनि हामी त्यस्तै रिजल्ट नजिक–नजिक छौं । संगठन सुदृढ भएकाले हामी अरु पार्टीहरुसँग कडा प्रतिस्पर्धामा हुन्छौं ।

अहिले ललितपुरमा हेर्दा कांग्रेस मुख्य प्रतिस्पर्धी देखिन्छ तर एमालेको संगठन पनि मजबुत भएकाले उसलाई पनि कमजोर आँक्नु हुँदैन ।

संविधानको रक्षा र कार्यान्वयन मुख्य प्राथमिकता
सुशीला पुन, उपमहासचिव, अखिल नेपाल ट्रेड युनियन महासंघ

नेपालको इतिहासमै पहिलो पटक हुन लागेको स्थानीय तहको चुनाव विगतको चुनावभन्दा भिन्न हो । हरेक केन्द्रमा भएका हाम्रा अधिकारहरु र संरचनाहरु प्रत्यक्ष गाउँस्तरमा ल्याउने भएकाले यस चुनावलाई सफल पार्न हामी सक्रिय भएर लागेका छौं । किनकी यो चुनाव माओवादी केन्द्रको एजेण्डाअनुसार हुन लागेकाले त्यसलाई स्थापित गर्नु आवश्यक छ ।

जनयुद्धमा शहिदहरुले गरेको बलिदान, वेपत्ता, घाइते अपांगहरुले गरेको योगदानको परिणाम हो यो चुनाव । त्यसैले यो चुनाव र जनयुद्धको बलबाट बनेको संविधानको माया हामी माओवादीहरुलाई जति अरु दललाई छैन ।

त्यसैले संविधानको रक्षा र कार्यान्वयन गर्दै देश विकासलाई अघि बढाउने कुरालाई हामीेले फोकस गरेका छौं । स्वास्थ्य, शिक्षा, रोजगार, आत्मनिर्भर लगायत सबै क्षेत्रमा जनतालाई विकासको अनुभूति कसरी दिलाउने भनेर हामी क्रियाशील छौं । यी एजेण्डाका साथसाथै जनतालाई बढीमा बढी कसरी जागरुक बनाउने मास्टर प्लानसहितको घोषणापत्र निकट भविष्यमा सार्बजनिक गर्ने तयारीमा छौं ।

२०६४ सालमा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा हामीले ऐतिहासिक जीत हासिल गरेका थियौं । तर, दोस्रो संविधानसभा निर्वाचनमा हामी आफ्नै आन्तरिक कारणले हा¥यौं । अहिले फेरि परिस्थिति बदलिएको छ ।

विगतमा बिभाजित भएका माओवादीहरुबीच अहिले एकीकरण भएको छ र विगतको समीक्षा गर्दै हामी अबको चुनावमा २०६४ सालकै नतिजा फर्काउने लक्ष्यसहित अघि बढेका छौं । महानगरपालिकाको २९ वटै वडामा पार्टी कमिटी पनि सुदृढ छ । ललितपुर जिल्ला र महानगरपालिकामा हाम्रो स्थान पहिलो नै छ । अहिले हाम्रो मुख्य प्रतिस्पर्धा कांग्रेससँग नै हुन्छ ।

एमालेको त गतिविधि नै छैन भन्दा पनि हुन्छ । गुट उपगुटमा फसेको एमालेको ललितपुरमा समानान्तर कमिटी बनेको छ । तर पनि चुनाव हो यसै भन्न सकिँदैन । कांग्रेस, एमाले, माओवादी केन्द्रबीच चुनावमा प्रतिस्पर्धा हुने देखिन्छ र हामी पहिलो हुने सुनिश्चित नै छ ।

शहिद, वेपत्ता र घाइते अपांगलाई पनि जोड्यो भने जित निश्चित छ
रुबी श्रेष्ठ, वेपत्ता परिवार

संघीय संरचनाअनुसार हामी स्थानीय चुनावमा जाँदै छौं । गणतन्त्र, धर्मनिरपेक्षता लगायतका कुराहरु अहिलेसम्म भाषामा मात्र सीमित भएको जस्तो देखिन्छ । व्यवहारिक रुपमा र व्यवस्थापकीय रुपमा ढाल्नु ठूलो चुनौति छ ।

माओवादी केन्द्रले विशेष गरी यही मुद्दालाई उठान गरेर चुनावमा होमिएको छ । हामी ललितपुरबासी पनि संविधान कार्यान्वयन र संविधानका उपलब्धी रक्षाका लागि क्रियाशील छौं ।

माओवादी जनयुद्धको बलमा राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना त भयो तर राजतन्त्र र गणतन्त्रको फरक के हो भनेर कार्यकर्ताको लेभलमा बुझे पनि तल्लो तहका जनताले बुझ्न पाएका छैनन् । त्यसलाई बुझाउनुछ ।

धर्मनिरपेक्षताले धार्मिक सहिष्णुता खलबलिन्छ, संघीयताले देशमा बिखण्डन ल्याउँछ भन्ने जस्ता थुप्रै खालका भ्रमहरु फैलाइएको छ । त्यसलाई माओवादीले चिर्छ र सही–गलत जनतालाई बुझाउने छ भन्ने हामीलाई विश्वास छ ।

त्यसका लागि पार्टीले उम्मेदवार पनि सही छनोट गर्नुपर्छ । पार्टीप्रति इमान्दार, अरु पार्टीका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नसक्ने र जनताले रुचाएको व्यक्तिलाई चुनावमा उठाउनु पर्छ । त्यस सँगसँगै दलित, महिला, आदिवासी जनजाति, अल्पसंख्यकको आधारमा समानुपातिक र समावेशी रुपले उम्मेदवार छनोट गर्नुपर्छ ।

पार्टीलाई यहाँसम्म ल्याइपुर्याउन  शहिद, वेपत्ता, घाइते अपांगहरुको पनि ठूलो योगदान छ । त्यसैले उनीहरुलाई पनि जोडेर चुनावको उम्मेदवार बनाइयो भने आगामी चुनावमा माओवादीको जित सुनिश्चित छ भन्ने मलाई लाग्छ ।

जनताको समस्या बुझ्ने र समाधान गर्नेलाई उम्मेदवार बनाउनुपर्छ
कुललाल डंगोल, पाटनबासी

पार्टीप्रति निष्ठावान, इमान्दार, जनतासँग भिज्ने, जनताको आधारभूत आवश्यकतालाई पूर्ति गर्ने, स्थानीयको पिरमर्का बुझेर समस्याको समाधान गर्नेखालको व्यक्तिलाई चुनावमा उम्मेदवार बनाउनुपर्छ ।

माओवादी केन्द्रले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी जस्ता उपलब्धीको रक्षा गर्ने खालका विषयलाई चुनावी एजेण्डा बनाउनुपर्छ ।

ललितपुर जिल्लाकै कुरा गर्ने हो भने ललितपुरबासीले स्थानीय निकायबाट पाउनुपर्ने आधारभूत अधिकार पनि नपाएको अवस्था छ । घर निर्माण गर्ने कुरा, बाटोघाटो बनाउने कुरा, पानीको लागि पनि संघर्ष गर्नुपर्ने बिडम्बना छ ।

ऐतिहासिक संस्कृति, सम्पदा हुँदाहुँदै पनि तिनीहरुको उचित संरक्षण हुन सकेको छैन । मठ, मन्दिर, देवालय, शिवालय ललितपुरको ऐतिहासिक पहिचान हो । त्यसैले यिनीहरुको संरक्षणमा विशेष जोड दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?