+
+

टेक्सासमा किराँत धर्मावलम्बीहरुको उभौली पूजा

विजय थापा विजय थापा
२०७४ जेठ १८ गते ११:३३

१ जून, टेक्सास । अमेरिकामा रहेका किराँत धर्मावलम्बीहरुको राष्ट्रिय सम्मेलन तथा किराँत खिबेक्वा याक्वा लाधुंङशेमी सेवा, चौथो वाषिर्क किराँत उभौली कार्यक्रम टेक्सासको डालस शहरमा विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

किराँतहरुको केन्द्रीय संगठन किराँत कम्यूनिटी अर्गनाइजेसन अफ अमेरिका र किराँत सोसाइटि अफ टेक्सास फर रिलीजन एण्ड कल्चरको संयुक्त आयोजना मे २६ देखि २८ सम्म कार्यक्रम चलेको थियो ।

कार्यक्रमको पहिलो दिन किराँत कम्यूनिटी अर्गनाइजेसनको राष्ट्रिय भेला तथा साधारणसभा र विज्ञहरुको सम्मेलन, दोस्रो दिन उभौली पुजा, प्रार्थना, साकेला नाच, किराँत भजनकिर्तन र धर्मगुरुहरुको साधारणसभा भएको थियो ।

अन्तिम दिन सांस्कृतिक कार्यक्रम र किराँत धर्मको संरक्षण र प्रवर्धनमा भूमिका खेलेका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

अमेरिकामा रहेका किराँत परिवारहरुको विशाल जमघट रहको सो सम्मेलनमा ३५ राज्यका प्रतिनिधीहरुले आफ्नो राज्य संगठनको वाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए भने केन्द्रीय समीतिले आगामी वर्षको कार्ययोजना पेश गरेको किराँत कम्यूनिटी अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष सुकमान सुब्वाले बताए ।

‘आफ्नो कला, धर्म र संस्कृतिकोे संरक्षण गर्दै अमेरिका जस्तो बहुसांस्कृतिक मुलुकमा किराँत पहिचानलाई सरकारी मान्यता दिलाउन हाम्रो प्रयास हो ।’ अध्यक्ष सुब्वाले भने ।

‘विश्वका मानवजातिको सुख, शान्ति र समृद्धिको लागि हेरक वर्षको उभौली पर्वमा भगवान तगेरा निगंवाभुमाङसंग हामी प्रार्थाना गर्ने गर्दछौँ ।’ प्रमुख अतिथि एवं किराँत धार्मिक प्रशिक्षक तथा तुम मागसेवासा गुर मनप्रसाद थलगंले भने ।

किराँत धर्मका प्राज्ञ प्रा.डा. नरेश लावती र रणबहादुर सुब्वाले किराँत संस्कृति बारे उठेका जिज्ञासाहरुको जवाफ दिएका थिए ।

कार्यक्रममा संस्थाले प्रत्येक वर्ष प्रदान गर्ने पत्रकारिता सम्मान पत्रकार किरण मरहठ्ठालाई प्रदान गरिएको थियो भने बरिष्ठ समाजसेवी सम्मान गणेश सुब्वालाई प्रदान गरिएको थियो ।

उभौली र उधौली किराँत धर्मका दुई ठुला पर्वहरु हुन् । जसमध्ये उधौली हिउँदमा मनाइन्छ भने उभौली अन्नपात राम्रो होस् भन्ने कामना गर्दै बर्षायाममा मनाइन्छ ।

यस अघि यो कार्यक्रम जर्जीया, ओहायो र टेनीसीमा गरिएको थियो । अमेरिकाका ४१ राज्यहरुमा किराँतहरुको बसोवास रहेको छ ।

कार्यक्रममा करिव १ हजार किराँत धर्मावलम्बीहरुको सहभागिता रहेको ओहायो राज्य प्रमुख सनमान सावाँले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?