२१ जेठ, काठमाडौं । बजारमा जीवन बीमा कम्पनीहरुको प्रतिकित्ता सेयर मूल्य २ हजार ५ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । सबैभन्दा कम मूल्य हुनेको पनि ८ सयमा सेयर कारोबार भइरहेको छ ।
तर, अबको २ वर्षभित्रमा लगानीकर्ताले कम्तिमा पनि १० जीवन बीमा कम्पनीमा माथि उल्लेखितभन्दा कम मूल्य तिरेर सेयरमा लगानी गर्ने वातावरण बन्ने भएको छ ।
१० नयाँ बीमा कम्पनी सञ्चालनको तयारीमा रहेकाले लगानीकर्ताले यस्तो अवसर पाउने भएका हुन् ।
सञ्चालनमा आएको पहिलो वर्षको वार्षिक वित्तीय विवरण प्रकाशनपछि मात्र कुनैपनि कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्न सक्ने धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ मा उल्लेख छ ।
बीमा समितिका अनुसार प्रक्रियामा रहेका १० नयाँ जीवन बीमा कम्पनी अबको तीन महिना (असोज) सम्ममा सञ्चालनमा आइसक्ने छन् । आगामी आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेपछि नयाँ बिमा कम्पनीहरुले सेयर जारी प्रक्रिया अगाडी बढाउन सक्छन् ।
‘अहिले संस्थापक समूहको ७० प्रतिशत पूँजी पुर्याएर कम्पनीहरु सञ्चालनमा आउन सक्छन्,’ बीमा समितिका निमित्त कार्यकारी निर्देशक श्रीमान कार्कीले भने ।
संस्थापक सेयर लिन ब्रोकर, पत्रकारदेखि सर्वसाधारणसम्म
यी बीमा कम्पनीहरुमध्ये लगभग सबैले ७० प्रतिशत सेयर पुँजी (प्रतिबद्धता समेत) जुटाइसकेका छन् । बीमा समितिले पनि अहिले पेश भएका संस्थापक लगानीकर्ताहरुको नामको सूचीमा तत्काल नयाँ नाम थप्न नपाइने व्यवस्था गरेको छ ।
कम्पनीहरुको संस्थापक सेयरमा व्यवसायी, बैंकर व्यवसायी, दोस्रो बजारका कारोबारहरु मात्र हैन पत्रकार, सेयर ब्रोकरहरुले पनि लगानी गरेका छन् । केही कम्पनीले भने पहिले नै लगानी प्रतिबद्धता गरेकाहरुसँग प्रतिकित्ता १ सय ३० रुपैयाँसम्म हाल्न भनेको बजार स्रोतले बतायो ।
सय मै पाइएला कि बढी तिर्नुपला ?
हुनतः लगानीकर्ताले बजारमा हाल चलेको जीवन बीमा कम्पनीहरुको मूल्यभन्दा कममा नै साधारण सेयर पाउने सम्भावना रहेको छ । तर सेयरको प्रतिकत्ता अंकत मूल्य १ सय रुपैयाँ नै भने नहुन सक्छन ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले प्राथमिक सेयर (आइपीओ) निष्कासनमा समेत प्रिमियम मूल्य तोक्न सक्ने व्यवस्था गरेको छ । कम्पनीहरुको नेटवर्थ धनात्मक (सकारात्मक) भएमा नेटवर्थको ४ गुणासम्म मूल्य राख्न पाइनेछ ।
अहिले सञ्चालनमा आएका कम्पनीहरुको नेटवर्थ पनि १ सय ५० को हाराहारीमा रहेको छ । यसलाई आधार मानेर हेर्ने हो भने पनि कम्पनीहरुले प्रिमियम वापत मात्रै ६ सय रुपैयाँ तोक्न सक्ने छन् । अंकित मूल्य १ सय समेत जोड्दा लगानीकर्ताले ७ सय रुपैयाँसम्म सेयरमा लगानी गर्न सक्ने अवस्था बन्नेछ ।
यद्यपी कम्पनीहरु सबैले प्रिमियम मूल्य राखेर नै सेयर जारी गर्लान् भन्न सकिदैन । त्यस्तै, प्रिमियम मूल्य पनि यही दरमा पुग्ला भन्न सकिने अवस्था पनि कम्पनीको अवस्था (नेटवर्थ) ले नै देखाउने छ ।
यो पनि पढौं
नयाँ जीवन बीमा कम्पनीमा बैंकरदेखि बैंकर व्यवसायीसम्म
‘समूह’ लगानी स्वीकार गर्ने समितिको नीतिले एकभन्दा बढी बीमा कम्पनीमा लगानी गर्दै व्यवसायी
बीमा कम्पनी सञ्चालन गर्न बैंकहरुको रुची, सुची दिन समितिको आनाकानी
बीमा समितिका अध्यक्ष केसी हट्ने निश्चित भएपछि नयाँ कम्पनीले दियो दर्ता आवेदन
प्रतिक्रिया 4