Comments Add Comment

ठेकेदारको मनलाग्दीः पोहोरै बन्नुपर्ने पुलको पिल्लर पनि उठेन

एकै ठेकेदारका अनेक काम, सबै योजना अलपत्र

२६ असार काठमाडौं । गत मंगलबार संसदको विकास समितिको छलफलमा बोल्दै दाङकी सांसद अनिता देवकोटाले गुनासो गरिन्, ‘म निर्वाचित हुने बेलामा ठेक्का लागिसकेको पुलको निर्माण मेरो कार्यकाल सकिन लाग्दा पनि सम्पन्न भएन ।’ उनी कुरा गरिरहेकी थिइन् दाङको पत्रे खोला र कटुवा खोलामा निर्माणाधिन पुलको ।

हुन पनि ठेकेदारको लापरबाही र सडक विभागको बेवास्ताका कारण यी दुवै पुलमा अत्यधिक ढिलाई भएको छ । एक वर्षअघि नै पुल निर्माण भइसक्नु पर्नेमा अहिलेसम्म आधा काम पनि सकिएको छैन ।

कटुवा र पत्रे खोलामा बन्न लागेका पक्की पुलको जिम्मा शंकर माली निर्माण सेवाले लिएको छ । घोराही बजारको सडक विस्तारको जिम्मा कान्छाराम कन्स्ट्रक्सन् र मालि निर्माण सेवाले लिएको छ । त्यस्तै तुल्सीपुर बजारको सडक बिस्तारको जिम्मा गौरिपार्वती निर्माण सेवाले लिएको छ ।

चार स्थानमा फरक-फरक कम्पनी देखिए पनि सबैको जिम्मेवारी भने दाङका पदम शर्माले लिएका छन् । ३ वटै कम्पनीको स्थानीय प्रतिनिधिका रुपमा रहेका शर्माले ४ वटा काम एकैपटक अघि बढाएका छन् ।

तर न्युन जनशक्तिका कारण अहिलेसम्म कुनै पनि काममा राम्रो प्रगति देखिदैन । सडक बिस्तारका काम ५० प्रतिशत पनि सकिएका छैनन् भने पुल निर्माणको आधारभूत संरचनाको पनि काम सकिएको छैन ।

बर्षात सुरु भएसँगै दाङका खोलानाला बढ्न थालेका छन् । पुल अभावका कारण अहिले कजवेबाट विभिन्न खोलामा सवारीसाधन वारपार गर्नुपर्ने अवस्था छ । तर खोलानाला बढेकाले बेलाबेलामा गाडीहरु घन्टौ रोकिनुपर्नेे तथा सवारी साधन नै बगाउने समेत गरेको छ ।

सडक विभागका अनुसार कटुवा र पत्रे खोलाको पुलको ठेक्का २०७१ भदौमै दिइएको थियो । विभागको पुल महाशाखाका उपमहानिर्देशक अर्जनुजङ्ग थापा ठेकेदारको लापरबाही र विभागकै कर्मचारीको बेवास्ताका कारण यसमा ढिलाई भएको बताउँछन् ।

थापाले भने-‘ठेकदारले लापरवाही गरेकै कारण समयमा निर्माण हुन नसकेको हो । यसमा सडक विभागले पनि समयमै कडाई गर्न सक्नुपथ्र्यो किनकी समयमै काम नगरे ठेक्का तोड्ने अधिकार सडक बिभागलाई दिएको छ । त्यसैले यसमा केही डिभिजन सडकको पनि दोष देखिन्छ ।’

चारै स्थानमा ठेक्का लिएका शर्मा भने नाकाबन्दी र स्थानीयस्तरमा गिट्टी बालुवा अभावका कारण ढिलाई भएको दावी गर्छन् । साथै सडक बिभागले सुपर स्ट्रक्चरको डिजाइन फेरेका कारण पनि ढिलाई भएको उनको तर्क छ ।

सुपर स्ट्रक्चरको डिजाइन भने डिभिजन सडक कार्यालय घोराहीले फागुन महिनामै दिइसकेको हो । बुधबार दाङ डिभिजनका प्रमुख सिरबहादुर घिमीरेले अनलाइनखबरसँग कुराकानी गर्दै भने, ‘ठेकेदारले क्षमता भन्दा बढि ठाउँमा काम ओगट्ने गरेका कारण यस्तो भएको हो ।’

तुल्सीपुर उपमहानगरपालिकाका वडा न १७ का भौनाराम चौधरीले भने, ‘ठेकेदारका कारण यो वर्ष पनि दःुख पाइने भयो । बर्षातमा त समयमा कार्यालयमा पुगिन्छ-पुगिँदैन टुङ्गो हुँदैन ।’

घोराही तुल्सीपुर सडकखण्ड धेरै लामो छैन । तुल्सीपुर र घोराहीबजारमा जागीर खानेहरु बर्षातको खोलाकै डरले शहरी क्षेत्रमै डेरा गरेर बस्न बाध्य छन् ।

डिभिजन सडक कार्यालयका अनुसार खोलानाला बढेको भन्दै अहिले ठेकेदारले काम पुरै ठप्प पारेर बसेको छ । नदिलाई ड्राइभर्ट गरेर निर्माणको काम अघि बढाउन सकिने भए पनि यसमा ठेकेदारले चासो दिएको छैन ।

पत्रे र कटुवा खोलाको पुल २०७२ सालसम्मै बन्नुपर्ने थियो । भूकम्प र नाकाबन्दी कारण भन्दै सरकारले यसलाई १ वर्ष म्याद थप गरिदिएको थियो । थप म्याद सहित यसले २०७३ असोज सम्ममा सक्नुपर्ने हो । तर २०७४ को असोजसम्ममा पनि आधरभूत संरचनाको काम सक्ने देखिदैन ।

लमहीदेखि तुल्सीपुर सम्ममा अहिले ५ वटा खोलामा पक्की पुल बन्न लागेका छन् । अन्य बबई खोला, गुर्जे खोला र संग्राम खोलामा पनि पुल बन्न लागेका छन् । ती खोलामा पनि ठेकेदारको कार्य प्रगती हेँर्दा समयमै नसकिने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment