२६ असार, काठमाडौं । नेकपा एमालेले संविधान संशोधन विधेयक पारित हुन नदिने अडान दोहोर्याएको छ ।
सरकारले संशोधन विधेयक अघि बढाउने तयारी गरिरहेका बेला एमालेले संशोधन प्रस्ताव राष्ट्रहित विपरित र अनुचित भएको बताएको छ ।
एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकले स्थानीय चुनाव सम्पन्न भएपछि संशोधनबारे छलफल गर्ने सहमति विपरित सत्ता गठवन्धनले संशोधनबारे चर्चा चलाएको भन्दै असन्तुष्टि जनाएको छ ।
एमाले सचिव प्रदिप ज्ञवालीले भने, छ, ‘प्रस्तावित संशोधन प्रस्ताव राष्ट्रिय हित विपरित र अनुचित रहेको पार्टीको अडान दोहोर्याउँदै उक्त प्रस्ताव पारित हुन नसक्ने प्रष्ट पार्छ ।’
चुनावी परिणामप्रति सन्तोष व्यक्त
एमालेले दोसो चरणको चुनावमा पनि पहिलो शक्तिको रुपमा स्थापित भएको भन्दै सन्तोष व्यक्त गरेको छ ।
सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, चौतर्फी घेराबन्दी भन्दै एमालेले भनेको छ, अनेकौं प्रतिकुलताका बाबजुद नेकपा (एमाले) पहिलो शक्तिको रुपमा स्थापित हुन सकेकोमा पार्टी सन्तोष व्यक्त गर्दछ ।
साथै निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँमा भएका अनपेक्षित परिणामको समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन पठाउन जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
आगामी असोज २ गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनको तयारीमा लाग्न पनि एमालेले भनेको छ । साथै जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको नाम १५ दिनभित्र सिफारिस गर्न प्रदेश संगठन कमिटीलाई निर्देशन दिएको छ ।
प्रतिक्रिया 4