Comments Add Comment

काठमाडौं र ललितपुर महानगरको योजनाः बुढानीलकण्ठदेखि गोदावरीसम्म मोनोरेल

२८ असार, काठमाडौं । काठमाडौं र ललितपुर महानगरपालिकाले संयुक्त रुपमा मानोरेलको सम्भाब्यता अध्ययनको काम अघि बढाउने भएका छन् । शुक्रबार हुने काठमाडौं र ललितपुरको नगरसभामा पेश गरिने बजेटमा  मोनोरेलको सम्भाब्यता अध्ययन अघि बढाउने गरी प्रस्ताव पेश हुँदैछ ।

अब दुबै महानगरले आफ्नो प्रस्तावित बजेटमा मोनोरेल सञ्चालनको विषयमा अध्ययन थाल्न कार्यक्रम ल्याउने तयारी गरेका छन् ।

बुधबार काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र ललितपुरका मेयर चिरीबाबु महर्जनबीच पनि मोनोरेलको सम्भाब्यता अध्ययनलाई अघि बढाउनेबारे छलफल भएको छ । दुबै मेयर पहिलो चरणमा काठमाडाैंकाे बुढानिलकण्ठदेखि ललितपुरको गोदावरीसम्म मोनोरेल चलाउने गरी सम्भाब्यता अध्ययन थाल्न सहमत भएका छन् ।

यसअनुसार नगरसभाका पेश हुने बजेट बक्तब्यमा दुबै महानगरपालिकाले मोनोरेल सञ्चालनका लागि तयारी थाल्ने प्रस्ताव पेश गर्ने भएका छन् ।

अहिले काठमाडौं र ललितपुर महानगरपालिकामा पीपीपी मोडलमा मानोरेल चलाउन विभिन्न कम्पनीहरुले प्रस्ताव पेश गरेका छन् ।त्यसमध्ये एक मलेसियन कम्पनीको उचित प्रस्ताव आएकाले सो कम्पनीको प्रिजेन्टेशन हेरेर सम्भाब्यता अध्ययनको प्रक्रिया अघि बढाउन तयारी गरिएको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अनलाइनखबरलाई जानकारी दिए ।

यसअघि काठमाडौं महानगरपालिकाले काठमाडौंमा मोनोरेल चलाउनेबारे सम्भाब्यता अध्ययन गर्न एउटा कम्पनीसँग सम्झौता गरिसकेको छ । वाइबिडी सिमेक्स कम्पनी र महानगरपालिकाबीच मोनोरेल चलाउन सम्भाब्यता अध्ययन अघि बढाउनेबारे समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।

नगरको पनि साथ खोजिँदै

मलेसिया लगायतका देशमा ११ मिटर फराकिलो सडकमाथि पनि मोनोरेल चलिरहेकाले काठमाडौंमा यसको सम्भावना राम्रो हुन सक्ने निश्कर्ष दुबै महानगरको छ ।

अब पहिलो चरणमा काठमाडौंको गोदावरीदेखि बुढानिलकण्ठसम्म मोनोरेल चलाएर पछि विस्तार गर्न काठमाडौं र ललितपुरका अन्य नगरपालिकासँग पनि छलफल अघि बढाउने योजना बनेको छ । पछि भक्तपुरका क्षेत्रहरुलाई पनि समेट्ने गरी मोनो विस्तार गर्ने योजना बनेको छ ।

मेट्रो चलाउन काठमाडौंको क्षेत्रफल सानो भएको र जमिन मुनि हुने भएकाले अनेकन समस्याहरु आउने अवस्थाले मोनोरेललाई नै काठमाडौंका सबै स्थानीय तहको अपनत्व हुने गरी अघि बढाउन दुई महानगर एकमत भएका छन् ।

मानोरेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुन्छ । निर्माण अवधि पनि मेट्रो रेलकोभन्दा एकतिहाइ कम हुने भएकाले यसको राम्रो सम्भावना देखिएको निश्कर्ष उनीहरुको छ ।

मानो रेल गुड्न सकडमा ट्रली बसको जत्रै खम्बा राख्दा हुन्छ । आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक ब्यवस्थापनमा कुनैपनि किसिमको असर नगर्ने अपेक्षा गरिएको छ ।

अध्ययन नै अध्ययन

तर, काठमाडाैंमा रेलको सम्भाव्यता अध्ययन गर्ने भन्दै बजेट सिध्याउने काम निरन्तर भइरहेको छ । यसअघि कोरियन कम्पनी चुङसुङ इन्जिनियरिङले सन् २०१२ को नोभेम्बरमा काठमाडौं उपत्यकामा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरेको थियो । चुङसुङ इन्जिनियरिङले रिपोर्ट बुझाएको लामो समय बितेको छ । तर, काम अघि बढेको छैन ।

गत पुष २५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको लगानी बोर्डको बैठकले उपत्यकामा मेट्रो रेल सञ्चालनका लागि आर्थिक मोडल तयार पार्ने तथा चुङसुङ इन्जिनियरिङले गरेको रिपोर्ट अध्ययन गर्न राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गरेको छ । काम भने अलपत्र नै छ ।

के फरक छ मेट्रोरेल र मानोरेलमा ?

सञ्चालनका हिसाबले मेट्रोरेलको तुलनामा मोनोरेल सस्तो पर्छ । तर मेट्रोरेलको तुलनामा मोनोरेलको स्पिड कम हुन्छ ।

मोनोरेलले १ घन्टामा १० हजार यात्रुलाई सेवा दिन सक्छ भने मेट्रोरेलले ४० हजार यात्रुलाई सेवा दिन सक्दछ । तर, भाडा भने मेट्रोरेलको भन्दा मोनोरेलको कम हुन्छ ।

कोरीयाली कम्पनीले उपत्यकामा २५ किमी भूमिगत र ५२ किमी आकाशे गरी कुल ७७ किमी रेलमार्ग बनाउने मिल्ने सुझाव पेश गरेको थियो ।

एसियाली बिकास बैंकको काठमाडौं सस्टेनेबल अरबन ट्रान्सपोर्ट प्रोजेक्टले पनि काठमडौंमा मेट्रोरेल , मोनोरेल, ट्रलीबस वा ‘मास ट्रान्जिट’का लागि ठूला बस सञ्चालन गर्नेबारे अध्ययन गर्दैछ ।

यसको अध्ययनबाट पनि हालसम्म के सञ्चालन गर्ने भनेर अहिलेसम्म केही टुङ्गो लागेको छैन ।

जाइकाको अर्को प्लान

जापानी सहयोग नियोग (जाइका )ले पनि काठमाडौंको शहरी यातायातको मास्टर प्लान बनाउँदैछ । यसमा पनि मेट्रो रेल, मोनोरेल र मास ट्रान्जिटका लागि सीटी बस सञ्चालन के गर्ने भनेर अध्ययन हुँदैछ ।

त्यस्तै रेलको नियमन तथा प्रवर्धन गर्ने गरी आएको रेल विभागले पनि अहिले विभिन्न विदेशीहरुसँग रेल सञ्चालनको बिषयमा छलफल गर्दै आएको छ ।

यसरी काठमाडौंमा रेल सञ्चालनका लागि आवश्यक पर्ने सम्भाव्यता अध्ययनका लागि विभिन्न निकायबाट खर्चहरु हुँदै आएका छन् ।

नीतिगत मार्गदर्शकका लागि सरकारले विश्वसनीय र राजनीतिक सुझबुझको कार्यदल बनाई आगामी ५० वर्षमा काठमाडौं कस्तो हुन्छ र कुन ठाउँमा के बनाउने भनेर अध्धयन गर्नुपर्ने हो, यो नै भएको छैन । यस्तो मार्गनिर्देशन नभएका कारण नै जताततै सम्भाव्यता अध्ययन मात्रै भएको बिज्ञहरु बताउँछन् ।

अब भने नयाँ संविधानअनुसार भएको चुनावबाट चुनिएको स्थानीय सरकारले नै रेल चलाउने अग्रसरता देखाएकाे छ । काठमाडाैंमा योजनाअनुसार मोनोरेल चले त्यसले यातायात ब्यवस्थापनमा मात्रै नभएर राजधानीकाे समृद्धीमा पनि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment