+
+

नेपालका लागि प्रेरणा बनोस् जापान

जापानबाट नेपालले के सिक्न सक्छ ?

खेम ज्ञवाली खेम ज्ञवाली
२०७४ भदौ २३ गते ११:१४

जापान आएको दुई साता नबित्दै एक जापानी वृद्धसँग करिब दुई घण्टा एउटा नेपाली रेस्टुरेन्टमा बसेर भलाकुसारी गर्ने अवसर जुट्यो । त्यसदिन म आफू बोल्नेभन्दा धेरै सुनेर बसेँ ।

देश विदेश घुमेका ती व्यापारी वृद्धले भन्दै थिए– दोस्रो विश्वयुद्धको भयानक बमबारीपश्चात हामीसँग केही थिएन । थिए त केवल पराजित जनता ! तिनै पराजित जनता नै हाम्रा अमूल्य सम्पत्ति भए । हाम्रो पुस्ताले कडा परिश्रम गर्याे  । हामीले हाम्रा सन्ततिको शिक्षामा जोड दियाैं, ताकि हाम्रो देश फेरि बलियो र सम्वृद्ध बन्न सकोस् । त्यसैले आज हामी धेरै सुविधासम्पन्न अवस्थामा छौँ ।

यी जापानी प्रौढ भन्दै थिए– हरेक ठूलोदेखि सानो काम गर्दा जापानीहरु त्यसको गुणस्तरियता र सरसफाइमा विशेष ध्यान दिने गर्छन् ।

उनलाई नेपाल उच्च–हिमशृंखला र जलस्रोतको धनी देश हो भन्नेसम्मको जानकारी रहेछ ।

‘देश धनी हुन विदेशी पैसा आकर्षित गर्नुपर्छ, कृषिप्रधान देश नेपालले विदेशमा खपत हुने खेती गर्नुपर्छ,’ यसो भन्दै गर्दा उनले जापानमा सबैभन्दा धेरै खपत हुने तरकारी दाइकोन (एक विशेष प्रकारको मूला) को खेती नेपालमा गर्न सुझाव दिँदै थिए ।

यी वृद्धको कुरा धेरै दिनसम्म मेरो दिमागमा खेलिरह्यो ।

हुन पनि दोस्रो विश्वयुद्धपूर्व जापानी सेनाले धेरै युद्धहरु लड्यो, कतिपयले तत्कालीन जापानी सेनालाई निर्दयी, हिंस्रक र बलात्कारी सेनाको उपमा दिने गर्छन् र उसको ज्यादती नियन्त्रणमा लिन अमेरिकाले हिरोसिमा र नागासाकीमा एटम् बम बर्साउन परेको तर्क पनि गर्छन् ।

संसार जित्ने सपना बोकेर हिँडेको देश कसरी पराजित भयो ? पराजयबाट तहस–नहस भएको अर्थतन्त्र कसरी माथि उठ्यो ? र, रत्नाखर डाकुजस्ता जापानीहरु कसरी बाल्मिकीजस्तो बौद्धिक र नैतिक भए ? यो रुपान्तरण हरेक मान्छे र देशका लागि प्रेरणादायी छ ।

जापान एउटा यस्तो देश हो, जहाँ एकले अर्कालाई गाली गर्ने, होच्याउने र आलोचना गर्ने त परै जाओस् अरुको आग्रह मन नै नपरे पनि सिधै अस्वीकार गरिँदैन । हाई स्कुल सकेका विद्यार्थीदेखि वृद्धसम्म सबै केही न केही काममा जोडिएका नै हुन्छन् । देशको राजनीतिभन्दा आम जापानीहरुलाई आफ्नै कामप्रति गहिरो लगाव छ ।

आफ्नो नेता र व्यवस्थाप्रति विश्वास भएर हो, या राजनीतिमा चासो नभएर हो, जापानमा धेरै कम प्रतिशत जनता मतदानमा भाग लिने गर्छन् । टोकियो जस्तो बढी जनघनत्व भएको शहर पनि सफा र व्यवस्थित छ । सडकमा खासै प्रहरीहरु नदेखिएता पनि शहर पूर्णतय सुरक्षित छन् ।

विश्वमा अत्यन्तै कम अपराधका हुने मुलुक मध्येको एक जापानमा, रातको १२ः०० बजे पनि सडकमा युवतीहरु निस्फिक्री हिँड्डुल गरेको देख्न पाइन्छ । प्रायजसो सबै जनता यति धेरै अनुशासित, लगनशील, कर्मठ र सहयोगी हुन कसरी सम्भव भयो होला ? सायद मजस्तै जापान आउने हरेक विदेशीलाई यो प्रश्नले पक्कै पनि एक न एक पटक घोच्यो होला नै ।

जापानको यातायात व्यवस्था विश्वमै उदाहरणीय छ, देशका हरेक भूभाग रेलमार्गले जोडिएका छन्, जुन गम्भीर दुर्घटनाको अवस्थामा बाहेक पूर्वनिर्धारित समयभन्दा १ मिनेट पनि ढीलो हुँदैनन् ।

रेलमात्र होइन, जापानीहरु हरेक काम निर्धारित समयमा नै गर्छन्, जापानमा नेपालको जस्तो ‘नेपाली टाइम’ छैन, ३ बजे सुरु हुने कार्यक्रममा सबै ०२ः५९ मिनेटमा पुगिसक्छन् र ठीक ०३ः०० बजे कार्यक्रम सुरु हुन्छ र निर्धारित समयमा नै कार्यक्रम समापन गरिन्छ ।

नेपालका समाचारपत्रमा प्राथमिकता पाउने र राष्ट्रिय मुद्दा बनेका निजगढ(काठमाडौँ फास्टट्रयाक र सुरुंगमार्ग जस्ता प्रोजेक्ट, जापानमा मामुली प्रोजेक्ट अन्तर्गत पर्छन्, जुन हरेक पहाडी ठाउँमा हेर्न र देख्न पाइन्छ । नेपालमा बुढीगण्डकी जलविद्युत परियोजनाको सम्भाव्यतामाथि नै प्रश्न उठिराख्दा, जापानको समुन्द्रमुनिको सेईकन टनेल (रेलमार्ग) र मानवनिर्मित ओदाईवा टापु निर्माणपूर्व जापानीहरुले कस्तो प्रतिक्रिया दिन्थे होलान् ? बुझ्न मन लाग्ने गर्छ ।

एउटा बच्चा जन्मेपछि, उसले आमा–बुवाको स्नेह, घरपरिवार, विद्यालय र समाजबाट केही सिक्दै–भोग्दै हुर्कंदै जान्छ । देश र परिवेशअनुसार यो सिकाइ र भोगाइ फरक पर्नैगर्छ । त्यसैगरी अघिल्लो पुस्ताले सिकाएको संस्कार र विकसित चेतना पछिल्लो पुस्ताले धेरै थोरै अनुशरण गर्दै जान्छ र यिनै पुस्ताबीचको अन्तरसम्बन्धले एउटा गतिशील समाजको चित्र तयार गरेको हुन्छ ।

नेपाल र जापानको सामाजिक परिवेशको आ–आफ्नै मौलिक विशेषता र केही आधारभूत भिन्नता मैले अनुभूति गरे जुन बच्चा–बच्चीको लालन–पालनदेखि नै शुरु हुन्छ । उदाहरणका लागि, खासगरी बच्चा–बच्चीहरु लड्दा, चोट(पटक लाग्दा, आफ्नो ईच्छा पूरा गराउन रुने गर्छन् ।

नेपालमा अभिभावकले बच्चा–बच्चीहरु रुनेबित्तिकै फकाउने, हेरचाह गर्ने र उसका ईच्छा पूरा गरिदिइहाल्ने गरेको पाइन्छ । तर, जापानमा प्रायः बच्चा–बच्चीहरु रुँदा त्यसै छोडिदिएको देखिरहेको हुन्छु । केही समयपछि बच्चा–बच्ची आफैं शान्त हुने गर्छन् । जसकारण बच्चा–बच्चीहरुमा, सानैदेखि अरुमाथि आश्रित नहुने मनोविज्ञान विकास भइराखेको हुन्छ ।

विद्यालय शिक्षादेखि नै विज्ञान र गणित विषयमा विशेष प्राथमिकता दिने अनि सिर्जनात्मक कक्षा कार्य र गृहकार्य दिएर बालबालिकालाई सिर्जनात्मक बनाउन विशेष ख्याल गरेको पाइन्छ ।

तर, यसको ठीक विपरीत नेपालका विद्यालयमा विषयलाई गहिरो गरी बुझाउनेभन्दा पनि घोकाउने प्रचलन बढी छ । हरेक कामलाई उत्तिकै सम्मान, स–सानो काममा समेत विशेषज्ञता अनि हरेक विज्ञ र विद्वान सामजिकरुपमा प्रतिष्ठित हुने भएकाले सानैदेखि बालबालिकाहरुले असल मान्छे बन्ने प्रेरणा मिलिराखेको हुन्छ ।

नेपालमा पनि विद्वानहरुको इज्जत हुने गरेता पनि, पछिल्लो समय ज्ञान भन्दा धन आर्जन गर्ने कुरालाई बढी प्राथमिकता दिएको पाइन्छ । एउटा भर्खर ९–१० कक्षा पढ्ने किशोरले मिहिनेत गरी पढाउने आफ्नो शिक्षकले दुःख गरी–गरी घरपरिवार पालेको तर खासै नपढेको उसको गाउँको जग्गा दलालले थुप्रै पैसा कमाएर महँगो गाडी चढेको देख्दा, त्यस किशोरको मनमा ज्ञान आर्जन गरेर विद्वान बन्नु भन्दा दलाल बन्न श्रेयस्कर देख्छ ।

यस्तै कारणले अधिकतम किशोरहरु पढ्न छोड्छन् । देशमा खासै उत्पादन नहुँदा, रोजगारको अभावमा युवाहरुलाई विदेशिनु बाध्यता भएको छ । पढे–लेखेका युवाहरुमध्ये पनि ज्ञान र क्षमताका आधारमा प्रतिस्पर्धा नभई चिनजान, राजनैतिक आस्थाका आधारमा अवसर पाउनाले, देश वितृष्णाको केन्द्र बन्न पुगेको छ र बुद्धीजीवीहरु पनि पलायन हुने गरेका छन् । निराशाजनक समाचार र सामाजिक सञ्जालमा लेख र प्रतिक्रियाहरु पढ्नु हाम्रो दैनिकी भएको छ ।

देशमै अवसर पाएकाहरु पनि अस्वस्थ प्रतिस्पर्धा र राजनीतिक हस्तक्षेपदेखि निराश छन् । कोही कामचोर भएका छन् त कोही अधिकारको गलत फाइदा उठाउँदै भ्रष्ट भएका छन् । तर, कोही अझै पनि देशमै संघर्ष गर्दै देशलाई यो अवस्थासम्म पर्याउन योगदान गरिराखेका छैनन् ।

जापानमा सबै कुरा राम्रा मात्रै छन् भन्ने पनि होइन, विश्व राजनीतिको चपेटासहित केही सामाजिक समस्या जापानले भोग्दै आउनुपरेको छ । जापानमा वृृद्धहरुको जनसंख्या वयश्कहरुभन्दा बढी हुनु, युवाहरुमा बिहे र परिवारप्रति रुची नहुनु, कामले उत्पन्न हुने डिप्रेशनका रोगीको संख्या दिनानुदिन बढ्नु आदि सामाजिक समस्या छन् ।

ठूलो परिमाणमा खनिज पदार्थ तथा पेट्रोलियम पदार्थको खानी नहुनु र विदेशी आयातमा निर्भर हनु, सरकारको ऋण वार्षिक कुल ग्राह्यस्थ उत्पादनभन्दा करिब दुईगुणा बढी हुनु आदि वित्तीय समस्याहरु छन् । तर यो ऋणको ठुलो हिस्सा कुनै विदेशीसँग नभई उसकै जनतासँग छ ।

आज जापानले जे जति उपलब्धि हासिल गरेको छ, उसकै जनताको मिहेनत, परिश्रम अनि राष्ट्रप्रतिको जिम्मेवारीवोधका कारणले हो । र, मलाई जापानको सबैभन्दा मन पर्ने कुरा पनि यिनै जापानीहरु हुन् ।

देश विकासको आधार जनता नै हुन् । नेता र राजनीतिक पार्टीहरु पनि आखिर जनता कै प्रतिनिधि हुन् । हामी अल्पविकसित राष्ट्र हुनुमा न कुनै विदेशीको हात छ, न त कुनै नेताको । वास्तवमा हामी नै दोषी छौं, हामीमा विकसित चेतनाको दोष छ, हामीमा मौलाएको प्रवृत्ति र सधै अरुलाई देखाएर आफू चोखिने सोचको दोष छ । यही चेतना, प्रवृत्ति र सोच हामीमा रहँदासम्म, हामी विकसित राष्ट्र बन्न असम्भ वप्राय छ ।

(थापाथली क्याम्पसका उप–प्राध्यापक ज्ञवाली हाल युनिभर्सिटी अफ टोकियोमा विद्यावारिधि गर्दैछन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?