काठमाडौं । अमलेट बनाउन उनलाई मजाले आउँछ । चिया पनि दामी बनाउँछन् । भात पकाउन भने आउँदैन ।
जुठा भाँडावर्तन माझ्न उनलाई न अल्छी लाग्छ, न त लाज । अहिले पनि उनी जुठो भाँडामा माझ्छन् । लुगा पनि धुन्छन् । जुठा भाँडावर्तन सफा बनाउँदा र लुगा धुँदा उनलाई एक किसिमको आनन्द लाग्छ । उनी रमाउँछन् ।
साँझबिहान खाइरहनुपर्ने भात पकाउने ढंग भने अहिलेसम्म उनलाई भएन ।
‘चामलमा कति पानी हाल्ने भनेर अरुले भन्नुपर्छ,’ अभिनेता सौगात मल्लले भने, ‘अनि मात्र पकाउनसक्छु ।’
पासाको ‘डिमाग’ भातमा हैन, चलचित्रमै बढी चल्छ ।
छैन, तडकभडक
उनको ‘हिरोइजम’ सिल्भर स्क्रिनमा मात्र सीमित रहेछ । अफस्क्रिनमा त उनको तडकभडक पटक्कै देखिएन । हामीसँग भेट्दा उनी सामान्य जिन्स, टी-सर्ट र लुज गन्जीमा थिए ।
‘ग्याजेट्सको कति सौखिन हुनुहन्छ ?’ हामीले सोध्न नपाउँदै खल्तीबाट मोबाइल निकालेर उनले कसैको म्यासेज हेरे । मोबाइल सेट नोकियाको पुरानो मोडेलको थियो । बायाँ नाडीमा घडी, दायाँमा डोरी । यो सामान्य हुलियामा उनी कुनै पनि डाइमेन्सनबाट ‘हिरो’ देखिँदैनथे ।
‘हिरो त अलि चिप्लोचाप्लो, चकलेटी, सुकिलो-मुकिलो हुनुपर्ने होइन र ?’ हाम्रो पुरातन जिज्ञासा ।
‘खै, मलाई पनि पहिले त्यस्तै लाग्थ्यो,’ सौगात हल्का हाँसे ।
पर्दामा बडो झिल्के भएर देखिने सौगातको आफ्नै जीवनशैली कति सादा । न उनलाई खानामा सौख, न लगाउनमा । भीडभाडमा हिँड्छन् । टेम्पु चढ्छन् । आफ्नै सामुन्ने उभिएको हिरोलाई देखेर मान्छेहरु दंग पर्छन् र सोध्छन्, ‘तपाईं सौगात मल्ल होइन ?’
खानपिनका मामलामा उनी पहिला निकै कचकचे थिए, अचेल सन्तोषी रहेछन् ।
‘मलाई साग मन पर्दैनथ्यो, अरु कुरा पनि खासै रुचाउँदिनथें,’ उनले भने, ‘अहिले विस्तारै बानी पर्यो । थालमा जस्तो आउँछ, चुपचाप खान्छु ।’
मनमौजी दिनचर्या
यी हिरोले घडीको सुईअनुसार आफ्नो दिनचर्या डोर्याएका छैनन् । उनको शैली स्वच्छन्द छ । मनमौजी । कतिबेला उठिन्छ र कतिबेला सुतिन्छ भन्ने खालका प्रश्न उनका निम्ति बेकार रहेछन् । उनी यस्ता सेलिब्रेटी हुन्, जसको दैनिक सेड्युल कार्यक्रम हुँदैन ।
राति कहिले नौ बजे ओछ्यानमा घुस्रिन्छन्, कहिले १२ बजे । कहिले त दुई नै बज्छ । सुटिङको सेड्युल छैन भने उनी मस्त किताब पढेर रात कटाइदिन्छन् ।
‘कस्तो किताब ?’
‘यस्तो उस्तोभन्दा पनि करिअरलाई सपोर्ट गर्ने खालको,’ सौगातले भने, ‘पठनीय ।’
केही समयअघि उनले कुमार नगरकोटीको ‘दोचा’ छिचोले । त्यसअघि पनि नगरकोटीकै ‘मिस्टिका’बाट रात कटाएछन् ।
राति सुत्ने टाइम-टेबल नभएपछि बिहान ठ्याक्कै यतिबजे उठ्छु भन्न गाह्रो । सुटिङ नभएको दिनमा उनी कोठामा झलमल्ल घाम पोखिदाँसम्म सुतिरहेकै हुन्छन् । नभए, बिहान उठ्छन्, छ वा सात बजे ।
उठ्नासाथ पानी पिउँछन्, शौचक्रिया फत्ते गर्छन् । शुद्ध तन र मनका साथ सामान्य पूजापाठ गर्छन्, धूप बाल्छन् ।
अब पानीमा भिजाइराखेको केही टुक्रा ड्राइ-फुट्स चपाउँछन् । ब्ल्याक कफी घुट्क्याउँछन् ।
ब्रेकफास्टपछि वर्कआउट गर्छन् । खाना खाने बेलासम्म घडीले १२ बजाइसकेको हुन्छ ।
खानामा उही दाल, भात, तरकारी । मासु भने प्रायः छुट्दैन । त्यसका साथ गोलभेंडाको अचार भए उनलाई अरु के चाहियो र ?
खानामा पनि उनको विशेष डिमान्ड या नियोजित तारतम्य केही छैन । भोजन पनि फ्रिस्टाइल । त्यसको निश्चित सूत्र छैन, रुटिन पनि छैन । कहिले थोरै खान्छन्, कहिले भरपेट । कहिले नियन्त्रण गर्छन्, कहिले बेपर्वाह खाइदिन्छन् ।
‘फिल्मको क्यारेक्टर जस्तो छ, मेरो खानपान पनि त्यहीअनुसार हुन्छ,’ सौगातले भने, ‘मेरो कुनै पनि कुरा ठ्याक्कै यस्तै हुन्छ भन्ने छैन ।’
खानापछि उनको चलायमान दैनिकी सुरु हुन्छ । फिल्म सुटिङमा जानुपर्ने कि अन्तर्वार्ता दिनुपर्ने । भेटघाट गर्नुपर्ने या पात्र खोज्दै हिँड्नुपर्ने । मध्यान्ह त धपेडीमै बित्छ । साँझ घर फर्किन्छन् । खाना खान्छन्, दाल, भात, तरकारी, बिहानकै जस्तो ।
जिवन्त अभिनयको रहस्य
हरेक फिल्ममा आफू हाबी नभइयोस् भनेर सौगात सदा सतर्क रहन्छन् । चलचित्रमा आफूले पाएको भूमिकालाइ कसरी साँच्चैको पात्रजस्तै बनाउने ? यही प्रश्नले उनलाई घोचिरहन्छ ।
‘दर्शकले फिल्म हेरिरहँदा सौगात मल्लको झल्को नपाउन् । फिल्मी पात्र वास्तविक र स्वाभाविक देखियोस् भन्ने मेरो कोशिस हुन्छ,’ उनले भने ।
उनी सार्वजनिक सवारी चढ्नु र भीडमा मिसिनुको खास कारण नै जिवन्त अभिनय र पात्रको खोजी हो । पात्र खोज्दै चोकतिर निस्कन्छन् र भीडमा घुलमिल हुन्छन् । आफ्नो पात्रसँग मिल्दो कोही भेटियो भने तिनको बोली, हाउभाउ, हुलिया टिप्छन् ।
‘हामीले स्क्रिनमा देखाउने सर्वसाधारणकै कथा हो,’ उनले भने, ‘उनीहरुसँग घुलमिल भइएन भने असली कुरा आउँदैन नि ।’
भीडमा जाँदा उनलाई कतिले चिन्छन्, कतिले चिन्दैनन् पनि ।
‘नचिनेको बढी फाइदा,’ उनले हिसाबकिताब लगाए, ‘त्यसो गर्दा सजिलै कुराकानी गर्न सकिन्छ ।’
सौगातले तिनै भीडमा भेटिने व्यक्तिको प्रवृत्ति, हुलिया, बोली, कथा, चरित्र टिप्ने हो ।
‘धेरैजसोचाहीं सुनेकै भरमा क्यारेक्टर बनाउँछु,’ उनले भने ।
धेरै फिल्ममा उनी मधेसी मूलका युवाको रुपमा पेस भएका छन् । यद्यपि, उनलाई सम्झनुपर्दा लुट फिल्मको ‘हाकु काले’ अघिल्तिर देखापर्छ । हाकु काले नेवारी युवा हुन् ।
‘मधेसमै जन्मिएकाले त्यहाँको रहनसहन, भाषा, बोली, लवज टिप्न गाह्रो छैन,’ उनले भने, ‘तर, नेवारी भाषा बोल्न आउँदैन । टोन भने समात्न सक्छु ।’
नफाटेसम्म एउटै जुत्ता
हामीले सोध्यौं, ‘तपाईं पनि फाटेको जुत्ता जतनसाथ राख्नुहुन्छ ?’
उनी हाँसे ।
‘खासमा मलाई लुगा, जुत्ता केही कुरामा पनि सौख छैन । लुगा कति छ, जुत्ता कति छ भनेर गन्ती पनि गरेको छैन,’ उनले भने ।
सुटिङमा प्रयोग गरेका लुगाफाटो भने उनी हम्मेसी दोहोर्याएर लगाउँदैनन् । साथीहरुलाई गिफ्ट दिन्छन् ।
‘जुत्ता ?’
‘जुत्तामा म सौखिन छैन,’ सौगातले थपे, ‘फाट्यो भने मात्र अर्को किन्ने हो ।’
प्रतिक्रिया 4