+
+

कवि सुदेश सत्यालः नेपाली साहित्यका आशालाग्दा प्रतिभा

भन्छन्- जब कविताले आक्रमण गर्छ अनि जन्मिन्छ सिर्जना

सुवास पण्डित सुवास पण्डित
२०७४ पुष ४ गते १५:४२

४ पुस, चितवन । तनहुँको देवघाट-५ घिनटार पुग्दा सानो गाँठीका एक युवक लिन आइपुगे, सडकसम्मै । चिउँडो ढाक्ने गरी छुस्स दाह्री पालेका उनी थिए, युवा पुस्ताका कवि सुदेश सत्याल ।

सामाजिक सञ्जालमा खुबै छाएका छन्, अहिले उनी । उनका कविता र वाचनशैलीको प्रशंसा नगर्नेहरु पनि कमै होलान् ।

सोमनाथ र गोमादेवीका चारमध्ये कान्छा छोरा हुन्, सुदेश । छोराहरुलाई पढाउने उद्देश्यले सोमनाथ ०३२ सालमा काभ्रेबाट हेटौंडा झरे । र, ०४८ सालमा देवघाट बसाइँ सरे । २० वैशाख ०५१ मा देवघाटमै जन्मिए, सुदेश ।

कलिलैमा उनले राष्ट्रिय पहिचान बनाएका छन्, छन्द कविताका प्रखर स्रष्टाका रुपमा । ३० भन्दा बढी जिल्लाका कविता प्रतियोगितामा सहभागी र २० जिल्लामा पुरस्कृत भइसकेका छन् ।

‘राष्ट्रिय छन्द कविता प्रतियोगिता’मा उनी सर्वोत्कृष्ट भए । उनको लेखन र वाचनशैलीले मानिसलाई सहजै प्रभावित पार्छन् ।

गुरुकुलको शिक्षाले कवि बनाएको हो, सुदेशलाई ।

१० वर्षको उमेरमै कविता रचना गर्न थालेका उनी नेपाली साहित्यका आशालाग्दा प्रतिभा हुन् ।

कक्षा ६ मा पढ्दै गर्दा उनमा कविता लेखनको भूत सवार भयो । कलिलो दिमागले त्यतिबेला सोच्न पनि सम्भव थिएन, एक दिन आफ्नो प्रतिभाले राष्ट्रिय छवि निर्माण गर्छ भनेर ।

बज्रयोगिनी मावि देवघाटमा कक्षा ५ सम्म अध्ययन गरेपछि उनलाई महेश संस्कृत गुरुकुलमा भर्ना गरिदिए, सोमनाथले । र, त्यहींबाट कक्षा १२ उत्तिर्ण गरे ।

तीन छोराले अंग्रेजी शिक्षा लिएपछि सोमनाथले कान्छा सुदेशलाई ‘कर्मकाण्ड’ पढाउने निर्णय लिएका थिए । संस्कृत र गुरुकुल शिक्षाकै प्रभावले हो, उनमा साहित्यिक चेतना जागृत भएको पनि ।

कवितामा छन्दको प्रयोग गर्ने चेत पनि उनमा संस्कृति शिक्षाकै कारण आएको हो ।

उनलाई कविता लेख्ने उत्प्रेरणा भने १००८ स्वामी डा. रामानन्द गिरीले दिएका हुन् । गुरुकुलमा साहित्य लेखन, प्रतिस्पर्धा र हौसला उनैले दिए । उनको साहित्यिक लेखन निखारिनुको कारण पनि डा. गिरीकै प्रेरणा हो ।

२०६७ सालमा चितवन महोत्सवमा पहिलोपटक सार्वजनिक रुपमा कविता वाचन गरेका थिए, जसमा उनी प्रथम भए ।

सुदेश भन्छन्, ‘गुरुकुलीय शिक्षा नपाएको भए कवि बन्न सक्दैनथें । छन्दमा कविता लेख्न सहज छैन । त्यसका लागि तपस्या चाहिन्छ, छन्दको ज्ञान मात्रै भएर पुग्दैन ।’

छन्दमा कविता लेख्न भाषाको ज्ञान पनि उत्तिकै आवश्यक हुने उनी बताउँछन् । भन्छन्, ‘मात्रा र बिश्राम बिगि्रयो भने कविता नै भंग हुन्छ । गद्यमा कविता लेखेजस्तो सजिलो हुँदैन ।’

साहित्य सिर्जना वा कविता रचनालाई उनी भगवानको उपहार ठान्छन् । ‘साहित्यका लागि प्रतिभा, व्यूत्पत्ति र अभ्यास चाहिन्छ,’ उनी भन्छन्, ‘प्रतिभा भगवानको वरदान, व्यूत्पत्ति अध्ययन र निरन्तरको साधना हो ।’

उनको विचारमा जब कविताले आक्रमण गर्छ अनि जन्मिन्छ सिर्जना ।

अधिकांश साहित्यिक कार्यक्रम सीमित मानिसको दायरामा मात्रै हुने बताउने सुदेश यसलाई भत्काएर फराकिलो बनाउनुपर्ने ठान्छन् ।

‘कविता लेखन र वाचनमा विशिष्टता हुनैपर्छ,’ उनी भन्छन्, ‘कोटरीमा सुन्ने र सुनाउने परम्परावादी दायरालाई यथावत राख्दा यो क्षेत्रले व्यावसायिकता समात्न सकेन । परम्पराले व्यावसायिक धार जन्माउन दिँदैन ।’

कविताबाटै जीवन चलाउन सकिने उनको ठम्याइ छ । कविता लेखेरै बाँच्ने माहोल विस्तारै बन्दै गएकामा उनी आशावादी देखिन्छन् । कविता वाचनका क्रममा स्रोताहरु भावुक बनेको क्षणलाई सुदेश आफ्नो सफलताको सिँढी ठान्छन् ।

‘कविता लत हो, जीवन रहेसम्म यसैमा रहन्छु,’ उनमा आत्मविश्वास देखिन्छ ।

नियमित अध्ययन जारी राख्दै सुदेशले पाँच सयभन्दा बढी कविता, एक सयभन्दा बढी गजल र ४५ भन्दा बढी मुक्तक लेखिसकेका छन् ।

सोमनाथ-गोमादेवीका १० मध्ये पाँच सन्तानलाई बचाउन सकेनन् । बाबुआमाको काख हराभरा बनाएका चार छोरा र एक छोरीमध्ये कान्छा सुदेशको सफलताबाट उनी दंग देखिन्छन् । सुदेश पनि जन्मिँदा कम तौलका थिए रे ।

बाँच्ने आशा कमै रहेका छोराले देशभर नाम राख्दै गर्दा उनीहरुको खुशीको सीमा छैन । अब जोडी बाँधिदिन पाए आफूहरुको जीवन धन्य हुने ठान्छन्, सुदेशका बाबु-आमा ।

सुदेशले एक दिन काठमाडौंमा राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग भेट्ने अवसर पाए । र, उनको सामु केही कविता वाचन गरे । सानो उमेरमै गरेको उत्कृष्ट साहित्य सिर्जनाबाट घिमिरे खुशी हुँदै प्रेरणास्वरुप धाप मारे । राष्ट्रकविले औधी मन पराएको उनको कविता थियो-

सधैं फक्रिई राख्ने छ मेरो जवानी
मलाई छ प्यारो यही जीन्दगानी
खरानी घसी खै कहाँ दुःख भाग्छ
खरानी घसी बाँच्नु बेक्कार लाग्छ
सधैं पि्रत लगाएर बाँच्ने छ बानी
मलाई छ प्यारो यही जीन्दगानी
कतै वासनाझैं भई मगमगाए
कतै स्वच्छ सौन्दर्यमा जग्मगाए
पि्रयाले मलाई टिपिन् फूल ठानी
मलाई छ प्यारो यही जीन्दगानी

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?