Comments Add Comment

शीतलहरले सप्तरीका दलितवस्तीमा बेहाल, चुपचाप स्थानीय सरकार

२४ पुस, सप्तरी । सप्तरीको बोदे बसाइन नगरपालिका-७ मानराजाका रमेश सदाय चार जना छोराछोरी र एक जना बृद्द आमासँगै घरमा थिए । सोमबार बिहान पुग्दा उनको घरको भुइँमा पराल ओछ्याइएको थियो । उनकी पत्नी भुइँमा ओछ्याएको परालमा एउटा कम्बल ओढेर सुतेकी थिइन् । छोराछोरी रमेशसँगै बसेका थिए । माटोले पोतिएको उनको घरको भित्ता ठाउँ-ठाउँमा चर्किएको छ । चर्किएको ठाउँबाट हावा सोझै घरभित्र पस्छ । एउटै कम्बलले सबैलाई पुर्‍याउनुपर्छ ।

७ जनाको उनको परिवारमा न त ओछ्याउने नै छ न त ओढ्ने नै । भुइँमा चिसो लागे पनि पराल ओछ्याएर एकै ठाउँमा सबै जना सुत्दा रहेछन् । ‘जाडोले श्रीमती बिरामी परेकी छन्’ रमेशले भने, ‘छोराछोरी जाडोले काँपिरहेका छन् ।’

जीउ राम्रोसँग ढाक्ने कपडा छैन् भने आगो ताप्नका निम्ति दाउरा छैन् । ‘केहि दिन काम गरेर छोराछोरीलाई राम्रो लुगा किनिदिने मनसाय बनाएको थिएँ’ रमेशले भने, ‘शितलहरीले कुनै काम पनि पाइन्न, दुःख छ हजुर ।’

दैनिक मजदूरी गरेर गुजारा चलाउँदै आएका रमेशको परिवार मात्र होइन् । कञ्चनरुप नगरपालिका ८ की सुरेखादेवी पासवानको हवीगत पनि यस्तै छ । ६ जनाको उनको परिवारमा शरीरमा लगाउने पर्याप्त कपडा नहुँदा थरथर कामेरै दिनरात कटाउन बाध्य भएका छन् । सोही ठाउँका रामजी पासवानको अवस्था पनि सुरेखाको भन्दा कम छैन् । ‘जाडोले यस पटक आफूलाई पनि मार्ने हो कि भन्ने त्रास लागेको छ’ आँखा नदेख्ने उनले भने, ‘यो जाडोमा दिन काट्न मुश्किल भयो ।’

हनुमाननगर-कंकालनी नगरपालिका-५ की सुकमैनदेवी मुखियालाई ओढ्ने नाममा एउटा पातलो कपडा छ अरुले दिएको । उमेरले ७५ वर्ष पुगेकी उनलाई हेर्ने बुहारी मात्रै घरमा छिन् । जवर्जस्ती करणी मुद्दामा छोरा शिबु कारागारमा गएपछि उनको बिचल्ली भएको छ । बुहारीले अरुको घरमा काम गरेर कमाएको केहि रकमबाट उनले खान पाएकी छन् । तर, कमाएको पैसाले खानमात्र पुग्छ, सुकमैनदेवीले जीउ ढाक्ने कपडा लगाउन नपाएको वर्षौं भइसक्यो ।

कञ्चनरुप नगरपालिका १२ रुपनगरकी ६० वर्षीया हिरा भुजेलसँग लगाउने एउटा साडीबाहेक केहि छैन् । चोकमा आगो बालेपछि तापेर जीवन यापन गरिरहेकी उनी राति सुत्न सक्दिनन् । झुपडीमा बस्दै आएकी उनलाई कसैले कुनै किसिमको सहयोग नगर्दा जाडो अभिशाप भएको छ ।

यी त केहि दृष्टान्त मात्र हो, जाडो पीडितहरुको । सबैभन्दा बढी दलितको बसोबास रहेको सप्तरी जिल्लामा यस पटकको शितलहरीमा १६ जनाले ज्यान गुमाइसकेका छन् । पछिल्लो एक साता यताको अत्यधिक जाडोका कारण जनजीवन कष्टकर बनेको छ ।

हुनेखानले जाडोलाई रमाइलोको रुपमा लागे पनि दैनिक मजदूरी गरेर छाक टार्नेहरुका लागि अभिशाप बनेको छ । जाडोले ‘कहर’को रुप लिएपनि सम्बन्धित निकायले कुनै किसिमको चासो लिएको छैन ।

चुपचाप स्थानीय सरकार

अत्यधिक जाडो बढेर जनजीवन कष्टकर बनेपछि राज्य पक्षले कुनै किसिमको चासो देखाएको छैन । स्थानीय सरकार भनिने स्थानीय तहमा प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुले पनि कुनै किसिमको चासो देखाएको छैनन् । केहि ठाउँमा आगो ताप्नका निम्ति दाउराको प्रबन्ध मिलाए पनि त्यो पर्याप्त छैन ।

जाडो बढेपछि सोमबार जिल्ला दैवी प्रकोप उद्वार समितिको बैठक बसेको छ । बैठकले जाडोमा संघ-संस्थालाई सहयोग गर्न अपील गरेको छ ।

वन कार्यालयलाई पर्याप्त दाउराको व्यवस्था मिलाउन, जनस्वास्थ्य कार्यालयलाई चेतनामूलक सन्देश प्रवाह गर्दै उपचारका लागि तयार रहन बैठकले भनेको छ । स्थानीय तहहरुलाई जाडोलाई छल्नका निम्ति पाइला अगाडि बढाउन बैठकले भनेको बैठकमा सहभागी जिल्ला दैवी प्रकोप उद्वार समितिका जनक कोइरालाले बताए ।

१६ जनाको ज्यान गयो

बढेको जाडोका कारण सप्तरीमा एकसाताभित्रै १६ जनाको ज्यान गइसकेको छ । खडक नगरपालिका ७ का ६० वर्षीय प्रेमकुमार माझी, तिलाठी-कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय नारायण मुखिया, कञ्चनरुप ४ जगतपुरका ललित चौधरीका ७ महिने छोरा गणेश चौधरी, वडा नम्बर २ बरमझियाका ५५ वर्षीय बेचन शेख, वडा नम्बर ७ का ६१ वर्षीय उत्तम मरिक डोम, खडक नगरपालिका-८ मुसरनियाका ७० वर्षीय मुसहरु चौधरी, अग्निसाइर कृष्णा सवरण गाउँपालिका ४ का ६० वर्षीय लखन ठाकुर, डाकनेश्वरी नगरपालिका ८ का ५५ वर्षीया झौली यादवको चिसोका कारण मत्यु भएको छ ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजान ठाकुर, वडा नम्बर ७ का ३६ वर्षीय शिवु मण्डल, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम, वडा नम्बर १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भइसकेको छ ।

१६ जनाको ज्यान चिसोका कारण गएपनि स्थानीय प्रशासनले पाँच जनाको मात्रै पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment