सन्तोष साहुखलको ‘सरप्राइज’ कमब्याक
११ माघ, काठमाडौं । म्याच फिक्सिङ प्रकरणपछि एकाएक गायव भएका फुटबलर सन्तोष साहुखलले बिहीबार इटहरीबाट ‘सरप्राइज’ दिएका छन् ।
मदन भण्डारी मोमेरियल इटहरी गोल्डकपमा मनाङ मस्र्याङ्दी क्लब गारिफा स्पोर्टिङ क्लब कोलकत्ताविरुद्ध उत्रँदा सन्तोष मैदानमा त्यसरी नै एकाएक उदाए ।
सन्तोष यस्तो बेला हराएका थिए, जतिबेला उनको टिम थ्रीस्टारले लिगको अन्तिम खेलमा मनाङसँग खेल्दै थियो । कप्तान सागर थापा र सन्दिप राई पक्राउ गरेपछि थ्रीस्टार कमजोर भएको मानिएको थियो ।
३० असोजको त्यो खेलमा सन्तोष पनि देखिएनन् । यद्यपि उपाधिका लागि बराबरी भए पुग्ने थ्रीस्टारले २-० को जित निकाल्दै १ करोड जित्यो ।
तर, त्यसयता स्ट्राइकर सन्तोष कहिल्यै नेपाली फुटबलमा सिनमा आएनन् । म्याच फिक्सिङमा पक्राउ पर्ने डरले भागेको भनिएका उनी जापान पुगेको त थाहा भयो तर, न मिडियामा आए न सामाजिक सञ्जाल सक्रिय देखिए ।
बिहीबार एकाएक मनाङबाट ‘सरप्राइज’ कमब्याक मात्र गरेनन्, दुई गोल पनि ठोकेका छन् । मनाङले गारिफा स्पोर्टिङ क्लबविरुद्ध ३-० को जित निकाल्दा सन्तोषले दुई गोल गरे । उनले ४७ औं र ६७ औं मिनेटमा गोल गरेका हुन् ।
यो जीतसँगै मनाङ प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ ।
प्रतिक्रिया 4