१८ माघ, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक आज बस्दैछ । बैठक ३ बजे एमाले अध्यक्ष केपी शर्मा अोलीको निवास बालकोटमा बस्ने तय भएको छ । यसअघि एमाले दलको कार्यालय सिंहदरवारमा बस्ने भनिए पनि पछि बालकोटमा सारिएको हो ।
बैठकमा पार्टी एकता, सरकार गठन लगायतका विषयमा छलफल हुने माओवादी अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
पार्टी एकता सरकार गठनअघि कि पछि भन्नेमा एमाले र माओवादीबीच कुरा मिलेको छैन । साथै एकीकृत पार्टीको नेतृत्व, कार्यदिशालगायत विषय पनि निष्कर्षमा पुगेको छैन ।
माओवादीले सरकार गठन अघि नै पार्टी एकता गर्नुपर्ने र एकीकृत पार्टीको नेतृत्व आफूलाई दिनुपर्ने अडान राख्दै आएको छ । तर, पद बाँडफाँट र कार्यदिशामा कुरा नमिलेकाले एमाले र माओवादी बीचको पार्टी एकता सरकार गठनपछि मात्रै हुने सम्भावना छ ।
तर, माओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’ भने सरकार गठनअघि नै एकता हुनुपर्ने बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘एकतासम्बन्धी छलफल सकारात्मक छ, सरकार गठनअघि नै एकता हुन्छ र यो छिटै टुंगो लाग्छ ।’
प्रतिक्रिया 4