+
+

प्रदेश ४ : सभामुखमा नेत्रनाथ निर्विरोध, पर्सि मुख्यमन्त्रीसँगै सपथ

अमृत सुवेदी अमृत सुवेदी
२०७४ फागुन २ गते १५:३९

२ फागुन, पोखरा । प्रदेशसभा ४ को सभामुखमा माओवादी सांसद नेत्रनाथ अधिकारी निर्विरोध भएका छन् । बुधबार मनोनयन दर्ताको दिन अधिकारीको मात्र उम्मेदवारी परेको हो ।

मनोनयनका लागि बुधबार बिहान साढे १० देखि साढे १२ बजेभित्र मनोनयन दर्ता गर्ने समय तोकिएको थियो ।

अधिकारीको प्रस्तावकमा माओवादी सांसद हरिबहादुर चुमान र समर्थकमा एमाले सांसद किरण गुरुङ रहेका छन् ।

कांग्रेसले जित हासिल नगर्ने भएकाले सभामुखमा मनोनयन दर्ता नराएको सांसद कृष्णचन्द्र नेपालीले जानकारी दिए ।

प्रदेश नम्बर ४ मा वाम गठबन्धनबीच मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई सभामुख दिने गरी भागबन्डा गरिएको थियो । माओवादीको संसदीय बैठकले अधिकारीलाई सभामुख बनाउने निर्णय गरेको थियो ।

बिहीबार नै प्रक्रियाअनुसार सभामुखले उपसभामुखको निर्वाचनको मिति घोषणा गर्नेछन् ।

सभामुख र उपसभामुख फरक पार्टी र फरक लैंगिक हुनुपर्ने संविधानले व्यवस्था गरेको छ । माओवादीले पुरुष सभामुख बनाएपछि अब उपसभामुख एमालेबाट महिलाले अवसर पाउने छन् ।

उपसभामुखका लागि एमालेबाट सिर्जना शर्माको नाम चर्चामा छ । त्यस्तै मित्रकुमारी सुवेदी, नरमाया गुरुङ लगायतले पनि आकांक्षा देखाएका छन् ।

सभामुख र मुख्यमन्त्रीको सपथ सँगै

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज सपथ लिने कार्यसूची थियो । तर, सुब्बाका काकीको निधन भएपछि २ दिन पछाडि सरेको हो । बुधबार दिउँसो २ बजेलाई शपथको कार्यक्रम राखिएकोमा गुरुङकी काकी आमा ८२ वर्षीया रतनकुमारी गुरुङको मंगलबार बिहान निधन भएपछि शुक्रबारका लागि सारिएको हो ।

बिहीबार सभामुख चुनिने भएपछि शुक्रबार सभामुख र मुख्यमन्त्रीको सँगै सपथ हुने प्रदेश सभा सचिवालयले जानकारी दिए ।

शुक्रबार बिहान साढे ९ बजे शपथको कार्यक्रम राखिएको प्रदेश सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?