+
+

अस्तव्यस्त सडकले वीरगञ्जमा नागरिकलाई सास्ती

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत ११ गते १७:२२

११ चैत, वीरगञ्ज । पर्सा जिल्लाको पश्चिम तर्फ जाने मुख्य सडक लामो समयदेखि निर्माण नहुँदा सर्वसाधरण मर्कामा परेका छन् ।

हुलाकी राजमार्ग अन्र्तगत पर्ने वीरगञ्जको पावरहाउसदेखि पूर्वको सडक अति व्यस्त सडकको रुपमा परिचित छ ।

जिल्ला अदालत र जिल्ला समन्वय समिति लगायतका सरकारी कार्यालय र विभिन्न वकिलका र्फमहरु भएको क्षेत्रको सडकको अवस्था भने नाजुक छ ।

एशियाली विकास बैंक एडीबीको सहयोगमा वीरगञ्जमा सञ्चालित मझौला शहर एकीकृत सहरी वातावरणीय सुधार आयोजनाले अन्डर ग्राउन्ड नाला निर्माणका लागि सडक खन्यो । सम्झौता अनुसार त्यसपछि उसले सडक कालोपत्रे गर्नुपर्ने हो । तर, परियोजनाले वीरगञ्जका अधिकांश क्षेत्रमा सडक कालोपत्रे गरेको छैन ।

सडक कालोपत्रे नहुँदा सडकको अवस्था खराब छ । नाला निर्माणका लागि कालोपत्रे सडक भत्काएको परियोजना ठेक्कामा लिएको कालिका कन्स्ट्रक्सनले सडक निर्माणमा त परको कुरा धुलो उड्ने सडकमा पानी समेत हाल्ने गरेको छैन ।

वीरगन्जको पावरहाउसचोकदेखि सिर्सिया नदीसम्मको सडक खाल्डो खनी नाला निर्माण गरिएतापनि सडक कालो पत्रे नगरिएका कारण दिनहुँ सवारी दुर्घटनाहरु हुने गरेको छ । त्यस्तै समस्या नगरका अन्य भागमा पनि छ ।

वीरगञ्ज १३ राधेमाईकी हिरा भट्टराई सडकको दुराअवस्थाले हैरान छिन् । ‘कहिले नालाकाृ लागि भनेर खन्छन त कहिले खानेपानीको लागि त कहिले बिजुलीको लागि भन्छन् । ‘ उनले भनिन् ‘ एक साईड खनेर अर्को साईडमा वन वे सवारी चल्न दिए पनि हुने नि । व्यस्त सडकको हालत खराब बनाएर छोडेको छ ।’

उनले दिनहुँ सडकमा हुने सवारी दुर्घटनाको रमिते बन्नुपरेको बताउँछिन् । ‘ दिनहुँ तीन चार वटा दुर्घटना हुन्छ, कहिले गाडी फस्छ । फसेको गाडी निकाल्न डोजर ल्याउनुपर्ने हुन्छ । एक हजार तिरेर डोजर ल्याएर फसकेको गाडी निकाल्छन्,’ हिराले अगाडी भनिन् ।

जिल्ला समन्वय समितिको अगाडी खाजा पसल थापेका त्रिलोचन भट्टराईको व्यापार चौपट छ । ‘दुई वर्ष वितिसक्यो सडक खनेर छोडिदिएका छन्, पानी पर्दा हिलो, घाम लाग्दा धुलो उड्छ । पसलमा ग्राहक आएर खान मान्दैनन् । ‘ उनले भने ‘ भाडा मात्रै तिरेर बस्नु परेको छ ।’

बाटो नाप्न आउनेलाई समेत आफूले गाली गरेर पठाएको अर्का स्थानीय राम बहादुर अधिकारीले बताए । ‘सडक बनाउने होईन खाली नाप्न मात्रै किन आएको ? भनेर मैले बाटो नाप्न आउनेहरुलाई गाली समेत गरेर पठाँए ।’ उनले भने ।

पदमरोड समेत भनेर चिनिने उक्त सडक खण्ड हुलाकी सडकमा समेत पर्ने भएकोले निर्माणमा ढिलाइ भएको परियोजनाको दावी छ ।

सडक निर्माणका लागि हुलाकी सडकको कार्यालयबाट अनुमति लिनुपर्ने भएकोले ढिलाइ भएको एडीबी परियोजनाका व्यवस्थापक शैलेन्द्र श्रेष्ठले बताए । ‘पावरहाउस चोकदेखि सिर्सिया नदीसम्मको बाटोमा निर्माण गरिएको ड्रेनको छेउमै खानेपानीको पाइप फुटेको छ ।

पाइपलाई सडकको दायाँ बायाँ सारेर सडक बनाउने योजना छ । निर्माण कार्य चलिरहँदा ठूला सवारी साधनहरुलाई आवत जावतमा रोक लगाएका छौं ,’ उनले भने ‘ तर अटेर गरेर सवारी गुडाउँदा समस्या भइरहेको छ ।

हुलाकी सडकको कार्यालयबाट अनुमति आए लगत्तै डेढ महिना भित्र सडक कालोपत्रे गरिसक्ने दावी उनले गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?