Comments Add Comment

प्रदेश २ का उद्योगीले औंल्याए समृद्धिका पाँच आधार

वीरगञ्जलाई भारत र चीनको ट्रान्जिट प्वाइन्ट बनाउन सुझाव

२२ चैत, पर्सा । वीरगञ्जका उद्योगी व्यापारीहरुले प्रदेश नं. २ को समृद्धिका पाँच आधार औंल्याएका छन् । उनीहरुले व्यापार, पारवहन, उद्योग, कृषि र धार्मिक पर्यटन (ट्रेड, ट्रान्जिट, इन्डष्ट्री, एग्रिकल्चर र रिलिजियस टुरिजम) मार्फत प्रदेश समृद्ध हुन सक्ने बताएका हुन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्जमा बुधबार साँझ आयोजना गरेको प्रदेश नम्बर २ को आगामी नीति र कार्यक्रम तर्जुमा तथा परिमार्जनसम्बन्धी सुझाव संकलन कार्यक्रममा बोल्नेहरुले सडक, शिक्षा, स्वास्थ्य र स्वरोजगारमा ध्यान दिन प्रदेश सरकारलाई सुझाव दिए ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं उद्योगी अशोक टेमानीले प्रदेशको विशिष्टतालाई हेरेर डीपीआर बनाउनुपर्ने बताए । ‘नेपालको ९० प्रतिशत आयात निर्यात भारतसँग हुन्छ र त्यसको अधिकांश हिस्सा वीरगञ्ज नाकाबाटै हुने गरेको छ, त्यति मात्रै नभएर नेपालको जुनसुकै भूभाग जान वीरगञ्जबाट छोटो दुरी पर्छ । सँगसँगै नेपालको ७० प्रतिशत उद्योग प्रदेश नं २ मा छ,’ उनले भने, ‘कृषिको प्रचुर संभावना पनि यसको सबल पक्ष हो, धार्मिक पर्यटनका लागि पूर्वाधार निर्माण गर्न सके त्यसबाट पनि लाभ लिन सकिन्छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैद्यले प्रदेश नं. २ नेपालको लाइफलाइन भएकोले प्रचुर सम्भावना रहेको बताए । भारत र चीनको ट्रान्जिट प्वाइन्टको रुपमा यसलाई विकास गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघका सचिव मनोज दासले एकीकृत जाँच चौकी -आईसीपी), सिर्सिया सुख्खा बन्दरगाह, भारतसँगको छोटो दुरी, कृषिको प्रचुर संभावना, सहकारी मोडलमा माछापालन र डेरी उद्योगको सम्भाव्यता, सेज र जीपीजेड, द्रुत मार्ग, निजगढ अन्तर्राष्ट्रिय विमास्थल, पर्सा राष्ट्रिय निकुञ्ज अवसरको रुपमा रहेको उल्लेख गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अर्का सचिव माधव राजपालले जनकपुरलाई अयोध्यासँग जोडेर र गढीमाईलाई विन्धवासीनी जोडेर धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न सकिने बताए ।

बरिष्ठ उद्योगी जगदिश अग्रवालले संघीयता प्रतिस्पर्धाका लागि आएको बताउँदै प्रदेशलाई कसरी स्वाबलम्बी बनाउने भन्नेमा ध्यान दिन सुझाव दिए । ‘संघीयता प्रतिस्पर्धाकै लागि आएको हो, सुरुमा वित्तीय समस्या आउन सक्छ, माथिको मुख हेर्ने होइन, आफ्नो काम आफैं गर्नुपर्छ,’ उनले भने, ‘निजी क्षेत्रको सहभागितामा सुधारिएको उदारवाद लागू गर्नुपर्छ । प्रदेशबाट मानिसको पलायन रोक्ने र बाहिरिएकालाई फिर्ता ल्याउने योजना बनाउनुपर्छ ।’ उनले रोजगारी सृजना, उद्योग व्यापार र खेति पर्यटन प्रदेश समृद्धिको आधार भएको र त्यसका लागि प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र पर्यावरणको विकासमा जोड दिनुपर्ने सुझाए ।

अर्का उद्योगी गणेश लाठले सडक, शिक्षा, स्वास्थ्य र स्वरोजगारमा ध्यान दिन प्रदेश सरकारलाई सुझाव दिए ।

‘छोरा जाँच दिन जाने र बाबु चिट लिएर जाने चलन अन्त्य गर्नुपर्छ’

कार्यक्रममा मुख्य मन्त्री लालबाबु राउत गद्दीले प्रदेश सरकारले लगानीमैत्री वातावरण निर्माण तयार गर्नेमा ढुक्क हुन आग्रह गरे । जनप्रतिनिधि नभएको अवस्थामा ढिलासुस्ती अझै विद्यमान रहेको बताउँदै उनले बाँडीचुडी खाने चलनको अन्त्य गर्नु प्रदेशका लागि चुनौति बनेको बताए ।

आफूले सय दिनको कार्यक्रम मार्फत पनि धेरै कुरा ल्याएको बताउँदै उनले उद्योगी व्यवसायीहरुबाट आएको सुझावलाई क्षमताले भ्याएसम्म समेटेर अघि बढ्ने आश्वासन दिए ।

‘सञ्चालन गर्ने वातावरण बनेन भने उद्योगधन्दाप्रति आकर्षण कम हुन्छ, युवाहरु रोजगारीका लागि खाडी पलायन हुने क्रम बढ्छ,’ मुख्य मन्त्री राउतले भने, ‘विकासका संभावना प्रशस्त छन्, कृषिमा आधारित पर्यटन उद्योग खोल्न सकिन्छ, हेल्थ एन्ड टेक्निकल एजुकेशन हबको रुपमा विकास गर्न सक्छौं । त्यसअघि छोरा जाँच दिन जाने र बाबु चिट लिएर जाने चलनको अन्त्य गर्नुपर्नेछ ।’

उनले केन्द्रसँग मिलेर प्रदेशको विकास गर्ने बताए । ‘१५ प्रतिशत अनुदानले पुग्दैन, विशेष प्याकेज चाहिन्छ भनेर केन्द्र सरकारसँग भनिसकेका छौं, दातृ निकायको आकर्षण पनि राम्रो छ, केन्द्रसँग मिलेर प्रदेशको विकास गर्छौं र २ नं. प्रदेशलाई देशकै एक नम्बर प्रदेश बनाउँछौं,’ उनले भने ।

प्रदेशको विकास नहुनुमा ठेकेदारहरुको पनि दोष देखिएको उनले बताए । ‘५० प्रतिशत कममा ठेक्का लिने, कर्मचारीसँग मिलेर २५ प्रतिशत निकाल्ने अनि काम नगर्ने प्रवृत्ति देखिएको छ,’ मुख्यमन्त्री लालबाबु राउतले भने, ‘त्यस्ता ठेकेदारलाई अब कडा कारबाही गर्छौं ।’

प्रदेश नं. २ का अर्थमन्त्री विजय कुमार यादवले प्रदेश सरकारले समानताको नीति लिएर प्रदेशको विकास गर्ने बताए । उनले प्रदेश सरकारले बन्द रहेका उद्योगहरु सार्वजनिक, निजी, साझेदारी अवधारणाअन्तर्गत खोल्ने नीति लिइसकेको बताए । ‘प्रदेशको समृद्धिका लागि शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योगको विकास हुनुपर्छ,’ उनले भने, ‘त्यसका लागि बन्द रहेका कृषि औजार कारखाना, वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना पब्लिक, प्राइभेट पाटनरसीपमा सञ्चालन गर्ने सोच बनिसकेको छ । सबै मिलेर प्रदेशको विकासका लागि काम गर्नुपर्छ ।’

बुधबार साँझ होटल मकालुमा आयोजित कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख विजय कुमार सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रदेश सभासद ओम प्रकाश शर्मा, वरिष्ठ उपाध्यक्ष गोपाल केडिया, सुवोध गुप्ता, पूर्वअध्यक्ष प्रदीप केडिया, चिनी उद्योगी राजिव कुमार केडिया, उद्योगी राजकुमार सिन्धी, प्राध्यापक आनन्द कुमार यादवलगायतले प्रदेशको समृद्धिका लागि विविध आधारहरुको बारेमा चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment