संभवत, कुनै पनि सिजनको ‘मिस नेपाल’ विजेताले यति चाडो चलचित्र क्षेत्रमा हात हालेको यो पहिलो पटक हुनसक्छ । जतिपनि ‘मिस नेपाल’का विजेताहरुले चलचित्र क्षेत्रमा पाइला राखेका छन्, ती सबै उपाधि जितेको केहि बर्षपछि मात्र आएका छन् ।
तर, सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिता चण्डक निकै चाडो चलचित्र खेल्न तयार भएकी छिन् । सन् २०१८ को ‘मिस नेपाल’ घोषणा भएको एक साता पनि नवित्दै पूर्व मिस नेपाल निकिता चण्डक चलचित्रमा काम गर्न तयार भएकी हुन् । उनले, चलचित्र ‘रानी महल’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी छिन् ।
चलचित्रको निर्माणपक्षले उनीसँग आइतबार कागजी संझौता गरेको छ । नायिका बर्षा सिवाकोटीले चलचित्र छाडेपछि यो चलचित्रका लागि नायिकाको खोजी भैरहेको थियो । चलचित्रका प्रोडक्शन डिजाइनर गणेश सापकोटाले अनलाइनखबरसँग भने-‘हामीले ‘मिस नेपाल’को आयोजक संस्था हिडन ट्रेजरमा गएर कुरा गरेका थियौ ।
उहाँहरुले मिस नेपाल सकिएपछि मात्र कागजी संझौता गर्न सकिने बताउनुभएको थियो । निकिताजीलाई पनि चलचित्रको कथा मनपरेपछि उहाँ काम गर्न राजी हुनुभयो ।’ निकिताले पाएको पारिश्रमिकको बारेमा यसको निर्माणपक्षले मुख खोल्न चाहेको छैन ।
अब, केहि दिन निकिताले वर्कशप गर्नेछिन् । त्यसपछि, चलचित्रका लागि उनको पहिरन तयार गरेर छायांकनमा जाने तयारी निर्माणपक्षको छ । चलचित्रमा कलाकार प्रशान्त ताम्राकारको ठाउँमा पुराना नायक अर्जुनजंग शाही फाइनल भैसकेका छन् । हिमाल न्यौपानेले यो चलचित्रको निर्देशन गर्दैछन् ।
प्रतिक्रिया 4