Comments Add Comment

विवाहअघि युवायुवतीले खुलेर कुरा गर्नु आवश्यक

विवाह दुई व्यक्तिका बीच विश्वास एवं आपसी तालमेलको विषय हो । यसकारण विवाहअघि एकअर्काबीच पर्याप्त कुराकानी गरेर विवाह गर्ने वा नगर्ने कुराको निर्धारण गर्नुपर्छ । विवाह हतारमा गरिने कुरा होइन किनभने यो जीवनभर एकआपसमा साथ दिनुपर्ने विषय हो । जीवनभरि प्रेम र विश्वास कायम राख्नका लागि रुचि तथा विचार मिल्नुपर्छ जुन खुलस्त कुराकानी गरेर मात्र थाहा पाउन सकिन्छ । तसर्थ विवाह गर्नुअघि एकअर्कासँग कुनै कुरा नलुकाई खुलेर कुरा गर्नुपर्छ ।

विवाहको महत्व

एरेन्ज म्यारिज गर्दा पनि हिजोआज विवाहअघि नै केटाकेटीले एकअर्कासँग खुलेर कुरा गर्ने चलन छ । यस्तो अवसर पहिलेका मानिसहरूलाई मिल्दैनथ्यो । यसकारण एकआपसमा खुलेर कुरा गर्नुपर्छ । यसबाट विवाहको आधार बलियो बन्दछ । यसबाट हुनेवाला जीवनसाथीले विवाह किन गर्न लागेको रहेछ, उसको अपेक्षा के हो, उसका लागि विवाहले कस्तो अर्थ राख्छ भन्ने कुरा थाहा हुन्छ ।

एकअर्काको प्राथमिकता

विवाहअघि नै एकअर्काको प्राथमिकता के हो भन्ने थाहा पाउनु पर्छ । ऊ एक्लै बस्न चाहन्छ कि परिवारको साथ रहन रुचाउँछ । जागिरका लागि अन्यत्र जानुपर्दा आफूलाई सँगै लान्छ कि लाँदैन वा वैदेशिक रोजगारीका बारेमा कस्तो धारणा छ भन्नेजस्ता कुरा पहिल्यै गर्नुपर्छ । यसबाट प्राथमिकता निर्धारण गर्न सहज हुन्छ ।

आर्थिक स्थिति

दुवैले एकअर्काको लगानी वा आर्थिक स्थितिका विषयमा थाहा पाइराख्नुपर्छ । बचत कति छ, जिम्मेवारी पूरा गर्नका लागि स्रोत कसरी जुट्छ भन्नेजस्ता कुराहरूका विषयमा विवाहअघि नै थाहा पाइराख्नुपर्छ ।

फेमेली प्लानिङ

हुनेवाला जीवनसाथीसँग फेमेली प्लानिङका विषयमा कुराकानी गर्नुपर्छ । बच्चाबच्चीप्रति उसको धारणा के कस्तो छ, कति सन्तान जन्माउने चाहना छ, त्यसलाई कसरी व्यवस्थित गर्ने विचार छ भन्नेजस्ता कुरामा विवाहअघि नै छलफल गर्नसके राम्रो हुन्छ ।

जीवनको लक्ष्य

विवाहअघि एकअर्काको लक्ष्यका विषयमा कुराकानी गर्नु अत्यावश्यक छ । परिवार तथा करिअरलाई कुन ढंगले अघि बढाएर लक्ष्य प्राप्तिमा अघि बढ्ने भन्ने कुराको खाका तयार पार्नुपर्छ । दुवैको लक्ष्य मिलाएर साझा लक्ष्य बनाई जीवलाई समुन्नतितर्फ डोर्‍याउन कसरी सकिन्छ भन्ने विषयमा विवाहअघि नै कुरा गर्नुपर्छ ।

धार्मिक मूल्य

विवाहअघि नै धर्म, नैतिकता, इमान्दारी एवं व्यक्तिगन विचारका विषयमा खुलेर कुरा गर्नुपर्छ । यी कुराको प्रभाव भविष्यमा पर्ने भएकाले बेलैमा सजग हुनु जरुरी छ । यस्ता कुरामा धेरै नै मतभेद छ भने सम्बन्धमा संकट सिर्जना हुनसक्छ ।

स्वास्थ्यजाँच

विवाहअघि दुवैको स्वास्थ्यजाँच गर्नु आवश्यक हुन्छ । नपुंसकता, एचआइभी तथा अन्य वंशानुगत रोग केही छन् कि भन्ने कुराको जाँच गर्नु आवश्यक हुन्छ । पहिल्यै सावधानी अपनाए भविष्यमा समस्या उत्पन्न हुने सम्भावना रहँदैन ।

सफल वैवाहिक जीवनको रहस्य

-एकअर्कालाई पर्याप्त समय दिनु सफल वैवाहिक जीवनको रहस्य हो । श्रीमान् श्रीमतीले एकअर्कासँग पर्याप्त समय व्यतीत गरे भने एकअर्कालाई राम्रोसँग बुभ\mने अवसर मिल्छ र आपसी सम्बन्ध बलियो बन्छ ।

-विवाहको मतलब शारीरिक सम्बन्ध मात्र होइन, एकअर्काप्रति सौहार्दपूर्ण सम्बन्ध राख्नु, एकअर्कासित भावना साटासाट गर्नु तथा दुवै मिलेर समस्याहरूको समाधान गर्नु पनि हो ।

-कतिपय अवस्थामा श्रीमान् श्रीमतीबीच फरक विचारका कारण सम्बन्ध सौहार्द बन्न सक्दैन । विवाह गर्नुअघि यस्ता कुरामा ध्या पुगेको हुँदैन । यस्तो अवस्थामा एकअर्काको सोचविचारलाई सम्मान गरेर एकअर्कालाई बुझ्नु आवश्यक हुन्छ ।

-एकअर्काको कामलाई महत्व दिनु तथा त्यसको महत्व बुझेर आफू पनि त्यसमा सहभागी हुनु सफल वैवाहिक जीवनको साँचो हो ।

-जिम्मेवारी निर्वाह गरेर मात्र विवाह सफल हुँदैन, एकअर्काको खुसीको ख्याल राख्नु, बेलाबेलामा सरप्राइज दिनु, कतै सँगै घुम्न जानुले सम्बन्ध प्रगाढ बनाउन सहयोग गर्छ ।

-वैवाहिक सम्बन्ध सफल बनाउने सबैभन्दा मुख्य कुरा हो- आफ्नो जीवनसाथीलाई कुनै तेस्रो व्यक्तिका अगाडि दुव्र्यवहार नगर्ने, दुर्वचन नबोल्ने । केही गरी गल्ती नै गरिहालेको रहेछ भने एकान्तमा राम्रोसँग सम्झाउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment