Comments Add Comment

डाक्टरले नै चिन्न बाँकी रोगको जोखिममा नेपाली

के हो त फ्यासिओलिसिस ? मानिसमा कसरी सर्छ ?

फ्यासिओलाका फुलहरू

१७ साउन, काठमाडौं । तीन वर्षअघिको वर्षायाममा कर्णाली प्रदेशको सुर्खेत जिल्लाकी ४५ वर्षीया एक महिला त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन आइपुगिन् । उनले बताएका रोगका लक्षण केही सामान्य र केही असामान्य थिए ।

रोग जँचाउनका लागि आफूले नेपाल र भारतका धेरै अस्पताल चहारिसके पनि निको हुनु त कता हो कता, कसैले पनि के भएको हो पत्ता पनि लगाउन सकेनन् भन्ने ती महिलाको गुनासो थियो ।

उनलाई जाँच गर्ने अधिकांश डाक्टरले उनको कलेजोमा ‘सिरोसिस’ भएको बताई त्यसैअनुसार औषधी चलाएका थिए । तर, कुनै औषधीले पनि खासै प्रभावकारी काम गरेका थिएनन् । ती महिलाले बताएका सबै लक्षणका आधारमा शिक्षण अस्पतालको एक विशेषज्ञ समूहले उनको रोग सिरोसिस नभई अन्य केही भएको पत्ता लगायो । नभन्दै उनको रोग दुई हप्तामै निको भयो ।

‘विधिसम्मतरूपमा मानव फ्यासिओलिसिस पुष्टि भएको यो नै पहिलो नेपाली घटना थियो,’ ती महिलाको रोग पहिचान गर्ने समूहमा संलग्न डा. रञ्जित साह भन्छन्, “हुन त यो नै नेपालको पहिलो मानव फ्यासिओलिसिस केस भने होइन । दशकौँ अगाडिदेखि नै यो रोगले नेपालीहरूलाई गाँजेको विभिन्न अध्ययनले देखाएका छन् । हालसम्म नेपालमा कम्तिमा १२ जना यस्ता बिरामी भेटिएका छन् । अन्तर्राष्ट्रिय तहमा जानकारी गराइएका यस्ता घटनाको सङ्ख्या भने दुई मात्र छ ।’

अस्पतालको माइक्रोबायोलोजी विभागका सङ्क्रामक रोग विशेषज्ञ डा. साहको भनाइअनुसार यो रोग आफैँमा त्यति ठुलो समस्या होइन । ठूलो समस्या त यसको पहिचानको असक्षमता हो । नेपालमा पनि फ्यासिओलिसिसको समस्या विद्यमान छ भन्ने ज्ञान भएका एकदमै थोरै व्यक्तिहरूमध्ये आफू एक भएको उनको दाबी गर्दै उनी भन्छन्, ‘अरू त अरू, अस्पतालमा बिरामीको रोग पत्ता लगाएर उपचार गर्ने दायित्व बोकेका अधिकांश डाक्टर नै यो रोगबारे बेखबर छन् ।’

त्यसैले त प्रायः डाक्टरहरूले फ्यासिओलिसिसका बिरामीलाई कलेजोको क्यान्सर तथा सिरोसिसको बिरामी मान्ने गरेका छन् । उनीहरू त्यसैअनुसार औषधी सिफारिस गर्दछन्, फलतः आफ्नो रोगभन्दा अन्य बिमारका लागि खानुपर्ने औषधीले बिरामीमा नकारात्मक असर पर्न थाल्छ । कहिलेकाँहि त बिरामीको मृत्यु समेत हुन सक्छ ।
‘त्यसैले हामीले यस विषयमा सुरुमा स्वास्थ्यकर्मीलाई नै सचेत बनायौँ भने मात्र बिरामीहरूलाई यो गम्भीर समस्याबाट बचाउन सकिन्छ,’ उनको तर्क छ ।

के हो त फ्यासिओलिसिस ?

मानिसमा फ्यासिओलिसिस सर्ने प्रक्रिया

साधारण भाषामा भन्नुपर्दा फ्यासिओला हेपाटिका तथा फ्यासिओला जाइजान्टिका नाम गरेका जुकाहरू मानव शरीरमा प्रवेश गरेको अवस्था नै मानव फ्यासिओलिसिस हो । यो एक प्रकारको ‘जुनोटिक’ रोग हो, अर्थात् यो जनावर र मानिसबाट एकअर्कामा सर्न सक्छ ।

‘नेपालको सन्दर्भमा यो रोगको प्राथमिक कारण हाम्रै घरगोठका पालुवा जनावर हुन्,’ डा साह भन्छन्, ‘तर यी जनावरहरूले सिधै मानिससम्मै यो रोग पुर्‍याउँदैनन् । पानी तथा पानीमा उम्रने बिरुवाहरू मार्फत् ती किरा मानिससम्म आइपुग्छन् ।’ अर्थात्, पशुपालनमा संलग्न किसान मात्र नभएर पानीमा उम्रने बिरुवाको उपभोग गर्ने सबै मानिस यो रोगको जोखिममा छन् ।

गाई र भैंसीलगायत घरपालुवा जनावरले नदी तथा पोखरीमा पानी खाँदा तथा तिनका किनारमा चर्दा त्यहाँ दिसा गर्ने क्रममा फ्यासिओला किरा पानी र घाँसमा छाड्छन् । यी किरा विस्तारै आसपासका बिरुवाका जरामा पुग्छन् । मानिसले तरकारी तथा सलादका रूपमा ती बिरुवा खान्छन् ।

मानिसमै चाँहि कसरी पुग्छ ?

साहका अनुसार नेपाली जनसङ्ख्याको ठुलो अंशले पानीका स्रोत वरपर उम्रने ‘सिमसाग’ -वाटरक्रेस) नामको बिरुवालाई तरकारीको रूपमा प्रयोग गर्छ र यो बिरुवा नै मानवमा फ्यासिओलिसिस सङ्क्रमणको प्रमुख कारण हो । यो सागलाई ६० डिग्री सेन्टिग्रेडभन्दा कम तापक्रममा पकाउने हो भने ती बिरुवामा भएका फ्यासिओला लगायतका किराहरू मर्दैनन् । अनि हामी ती किरा खान पुग्छौँ ।

त्यसै गरी जनावरले पानी खाएकै पोखरी वा नदीको पानीलाई सिधै वा नउमाली खाँदा पानीबाटै ती बिरुवा मानव शरीरभित्र छिर्छन् ।

“ती जुकाले हाम्रो आन्द्रामा फुल पार्छन् । ती फुल नै पछि गएर वयस्कमा परिणत हुन्छन् । ती वयस्क किराले हाम्रो कलेजो, पित्तथैली र आन्द्रा जोड्ने बाइल डक्ट नामको पाइप थुनिदिन्छन् । यस अवस्थामा मानिसले कमलपित्त, ज्वरो तथा पेट दुखाइ लगायत विभिन्न सामान्य तथा असामान्य स्वास्थ्य समस्या भोग्दछन् ।”

सर्वसाधारणदेखि सेवारत डाक्टरहरूमा जानकारीको अभावको समस्या आफ्नो ठाउँमा छ । उक्त किरा शरीरमा पसिसकेपछि लक्षण देखिन लाग्ने समय पनि मान्छेपिच्छे फरक हुने भएकाले यो रोगको पहिचानमा थप समस्या उत्पन्न भएको छ । “कोही व्यक्तिमा किराले फुल पारेको छ महिनाजतिमै विभिन्न लक्षण देखा पर्दछन् भने अन्यका हकमा यो अवधि १०देखि १५ वर्ष लामो पनि हुन सक्छ,” डा साह भन्छन् ।

अर्कातर्फ कुनै लक्षण देखिएकै भरमा बिरामीलाई यही नै रोग लाग्यो भनेर निक्र्यौल गर्न पनि मिल्दैन किनकि विभिन्न लक्षणहरू धेरै थरी रोगका लागि साझा हुन सक्छन् । मानव फ्यासिओलिसिसको पुष्टि गर्नका लागि दिसा जाँच गर्नुपर्छ । दिसामा ती जुकाका फुल देखिएमा यो रोग भएको मानिन्छ ।

गलत उपचारको जोखिम किन ?

नेपालमा फ्यासिओलिसिसका बिरामीमाथि भइरहेको हुन सक्ने गलत उपचारको प्रमुख कारण सर्वसाधारण र चिकित्सक लगायतका स्वास्थ्यकर्मीबीच यसको खासै चर्चा नहुनु हो । चर्चा गर्नका लागि सर्वप्रथम विषयवस्तुबारे ज्ञान हुनुपर्छ, जुन नेपालमा अभाव छ ।

‘विकासशील देशहरूमा यस्ता परजीवीजन्य सङ्क्रमण सामान्य नै मानिन्छन् । तर, यस्ता सङ्क्रमणका घटनालाई अन्य चिकित्सकीय तथा शल्यक्रियात्मक घटनाकारूपमा लिइन्छ । फलतः यिनीहरू लामो समयसम्म ज्युँका त्युँ रहन्छन्,’ सुर्खेती महिलामा देखिएको फ्यासिओलिसिसबारे ‘बायोमेड सेन्ट्रल रिसर्च नोट’ नामको अनुसन्धान जर्नलमा लेखिएको छ, ‘यद्यपि दिसाको नियमित तथा सामान्य माइक्रोस्कोपी परीक्षण मार्फत् यी रोगको सही पहिचान गर्न सकिन्छ भने छोटो समयका लागि गरिने एन्टिहेल्मिन्थिक थेरापी नै यिनको उपचार हो ।’

उपचार सहजै भए पनि रोगको पहिचानमा समस्या देखिएपछि यो रोग जटिल बनेको छ । रोगको सही पहिचान हुन नसक्नुको दोस्रो कारण सबै प्रमुख अस्पतालमा उपयुक्त सामग्री तथा प्रविधिको अभाव पनि भएको साहको भनाइ छ । ‘बिरामीमा देखिएको लक्षण फ्यासिओलिसिस नै हो भन्ने पूर्ण पुष्टिका लागि दिसा परीक्षणसँगै हामीले बिरामीको इन्डोस्कोपिक रेट्रोगेड कोलाङ्गोप्याङ्क्रिएटोग्राफी (इआर्सिपी) नामको परीक्षण गर्नुपर्छ । तर, यो सुविधा शिक्षण र वीर गरी काठमाडौँका दुई ठूला सरकारी अस्पताल र नाम चलेका एकदुई ओटा निजी अस्पतालमा मात्र उपलब्ध छ,’ उनी सूचित गर्छन् ।

त्यसोभए सही पहिचान मात्र काफी छ त ?

सही उपचारका लागि रोगको सही पहिचान अनिवार्य रहेको कुरामा कुनै विवाद नै छैन । तर, यसले बिरामीको रोग साँच्चै नै निको हुन सक्छ भन्ने कुरा भने सुनिश्चित गर्न सक्दैन । नेपालमा देखिएको मानव फ्यासिओलिसिसको कुरा गर्ने हो भने रोग पत्ता लागिसक्दा पनि यहाँका बिरामीले सही औषधीको अभावमा लामो समयसम्म समस्यामै बाँच्नुपर्ने हुन्छ ।

‘संसारभर फ्यासिओलिसिस विरुद्ध मुख्य दुई प्रकारका औषधी विद्यमान छन् । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको विश्व स्वास्थ्य सङ्गठनले पनि प्रमाणित र सिफारिस गरेको पहिलो प्रकारको औषधीको प्रभावकारिता करिब १०० प्रतिशत नै रहेको मानिन्छ । दोस्रो औषधीले करिब ६० प्रतिशत घटनामा मात्र काम गर्ने पाइएको छ,’ साह व्याख्या गर्छन्, ‘समस्या के छ भने पहिलो प्रकारको औषधी नेपाल त के भारतमा समेत पाइँदैन । दोस्रो प्रकारको औषधी भारतमा पाइन्छ तर नेपालमा पाइँदैन ।’

डा.साहको टोलीले आफ्ना बिरामीका लागि हालसम्म दोस्रो प्रकारको औषधी प्रयोग गर्दै आएको छ । सौभाग्यवश, नेपालका प्रायः सबै बिरामीका लागि त्यही औषधी नै प्रभावकारी सिद्ध भएको पनि छ ।

तर पनि पहिलो प्रकारको, सबभन्दा प्रभावकारी औषधीको सहज उपलब्धताका लागि विश्व स्वास्थ्य सङ्गठनसँग कुरा गर्नुपर्ने साहको सुझाव छ । हुन त, विश्व स्वास्थ्य सङ्गठनसँग यस विषयमा संवाद गर्नकै लागि अर्को समस्या पनि छ । त्यो के भने फ्यासिओलिसिसबाट प्रभावित देशहरू समेटेर सङ्गठनले तयार गरेको नक्सामा नेपाल समावेश छैन ।

नेपालमा पनि फ्यासिओलिसिसको समस्या छ भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठन र अन्तर्राष्ट्रिय सरोकारवालालाई जानकारी दिने उद्देश्यले नै आफूले विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य प्रकाशनहरूमा यसबारे लेख लेखेको दाबी गर्दै साह भन्छन्, ‘यी लेखहरूले पनि हामीलाई फ्यासिओलिसिस विरुद्धको लडाइँमा औपचारिक रूपमा विश्व स्वास्थ्य सङ्गठनको मद्दत जुटाउन सहयोग गर्छन् । तर अझ प्रभावकारी सहयोगका लागि भने सरकारले नै पहल गर्नुपर्छ ।’

यद्यपि सरकारले नै भने आजसम्म यस क्षेत्रमा केही पनि गरेको छैन । साहको भनाइलाई पत्याउने हो भने सायद स्वास्थ्य मन्त्रालयमा हाल कसैलाई पनि थाहा छैन होला कि नेपालमा पनि यस रोगको उपस्थिति छ ।

त्यसोभए के गर्ने त ?

‘रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु जाति’ भन्ने भनाइ फ्यासिओलिसिसको हकमा पनि उत्तिकै लागू हुन्छ । त्यसैले हरियो तरकारी लगायतका खाने कुरा र पिउने पानीको छनोटमा खुबै ख्याल गनुपर्ने साहको सुझाव छ ।

‘सधैँ उमालेको पानी पिउनुहोला । आफूले पिउने पानीको स्रोत गाईबस्तुले पानी पिउने स्रोतभन्दा फरक छ भन्ने कुरा सुनिश्चित गर्नुहोला ।’

उनी थप्छन्, ‘सागपातलाई सधैँ ६० डिग्री सेन्टिग्रेडभन्दा माथिको तापक्रममा पकाउनुहोला । आफ्नो चुलोको आगो कुन तापक्रममा बलेको छ भन्ने निश्चय गर्न सक्नुहुन्न भने नदी तथा पोखरीका किनारतिरबाट टिपिएका सागपात नखानुहोला ।’

भविश्यमा डाक्टर र नर्स बन्नका लागि हाल अध्ययनरत विद्यार्थीहरूका पाठ्यपुस्तकमा यस्ता नयाँ विषयवस्तु आउन केही दशक कुर्नुपर्ने हुन्छ । यद्यपि उनीहरूले नियमितरूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय जर्नलहरूको अध्ययन गर्ने भएकाले उनीहरूअब बिस्तारै यी विषयमा जानकार हुने अपेक्षा गर्न सकिन्छ ।

तर, पनि स्रोतसाधन र समय व्यवस्थापन गर्न सक्ने हो भने त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान लगायतका प्राज्ञिक र शैक्षिक संस्थाले पनि यस रोगको रोकथाम एवं सही पहिचान र उपचारका लागि धेरै काम गर्न सक्ने साहको भनाइ छ ।

उदाहरणका लागि फ्यासिओलिसिसका विषयमा छलफल गर्ने गरी विभिन्न अन्तक्रिर्या कार्यक्रम गर्न सकिन्छ ।

‘फ्यासिओलिसिस त एउटा उदाहरण मात्र हो । यहाँ यस्ता धेरै रोगहरू छन् जुन सही साधनको प्रयोगद्वारा सहजै पहिचान गर्न सकिन्छ र सही औषधीको प्रयोगद्वारा उपचार गर्न सकिन्छ,’ उनी भन्छन्, ‘तर यसका लागि आम स्वास्थ्यकर्मी र सर्वसाधारणहरू सदैव सचेत हुनुपर्छ ।’

(तस्वीर सौजन्य-डा. रञ्जित साह)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment