Comments Add Comment

केशव स्थापितका अनेक किस्सा- आफ्नै मतिका कारण दुर्गति !

१६ कात्तिक, काठमाडौं । प्रदेश ३ को भौतिक पूर्वाधार मन्त्रीबाट बर्खास्त भएका केशव स्थापितसँग जोडिएका अनेकौं किस्सा छन् । केशव स्थापित अर्थात ‘कन्ट्रोभर्सी’ । ट्वीटरबाट चलेको मि टु अभियानको पहिलो ‘कन्ट्रोभर्सी’मा पनि उनै स्थापित परे । संघीयताको अभ्यासका क्रममा बनेको पहिलो प्रादेशिक सरकारको मन्त्रीबाट बर्खास्त हुनेमा पनि उनै परे ।

जहाँ केशव स्थापित हुन्छन्, त्यहाँ विरोधाभाष र अनेकौं किस्साहरु निस्किनु नेपाली राजनीतिमा सामान्य हो ।

यदि राजनीतिमा धैर्य, परिपक्वता र स्थिर हुन्थे भने केशव स्थापित आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माथिल्लो नेतृत्वमा पुग्नुपर्ने व्यक्ति हुन् । किनकि ०४७ सालमा गठित तत्कालीन एमालेको भातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष केपी ओली हुँदा केशव स्थापित महासचिव थिए ।

ओलीपछि युवासंघको दोस्रो अध्यक्ष बनेका स्थापित आफ्नै स्वभावका कारण राजनीतिमा पछि परेनन् मात्र, धेरै विवादमा मुछिए । उनीभन्दा पछि युवा संघको अध्यक्ष बनेका अधिकांश युवा नेताहरु पार्टीको पदाधिकारी र स्थायी कमिटी अनि राज्यको मन्त्री बनिसक्दा स्थापितलाई भने प्रदेशमन्त्री पनि पचेन ।

मि टु अभियानको पहिलो तारो बनेका स्थापितमाथि काठमाडौं महानगरपालिकाकी पूर्वकर्मचारी रश्मिला प्रजापतिले लगाएको आरोपका कारण उनी रक्षात्मक अवस्थामा थिए । महानगरपालिकाले रश्मिलाको आरोप निराधार रहेको भनेर उनको बचाउ गरेका बेला स्थापित भने आफ्नाहरुबाट सहानुभूति लिनुपर्नेमा उल्टै मुख्यमन्त्री डोरमणि पौडेलसँग झगडामा उत्रिए ।

पूर्वमेयर स्थापितलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश ३ को मन्त्री बनाएका थिए । मुख्यमन्त्री डोरमणि पौडेल उनलाई शुरुदेखि नै रुचाइरहेका थिएनन् । प्रदेशको सबैभन्दा महत्वपूर्ण मानिने भौतिक पूर्वाधार मन्त्री भएका स्थापितले विकास निर्माणमा धेरै काम गर्लान् भन्ने अपेक्षा थियो । तर, यसपटक उनी बेपर्वाह ढंगले प्रस्तुत भए ।

मन्त्रिपरिषद बैठकमा स्थापितको ‘जिरो परफरमेन्स’ को मूल्यांकन भएपछि सुधार गर्न लाग्नुपर्नेमा मुख्यमन्त्रीमाथि अभद्र ढंगले प्रस्तुत भए । क्याबिनेट बैठकमा सहभागी मन्त्रीहरुका अनुसार उनी पछिल्लो समय असन्तुलित र आबारा ढंगले प्रस्तुत हुने गरेका थिए । स्थापितप्रति सहानुभूति जनाउनुपर्ने ठाउँ कतै नदेखिएको उनीहरु बताउँछन् । सायद यो सबै बुझेर उनलाई बर्खास्त गर्ने मुख्यमन्त्री पौडेलको निर्णयलाई प्रधानमन्त्री ओलीले पनि समर्थन जनाए ।

यो पनि पढ्नुहोस केशव स्थापित मन्त्रीबाट बर्खास्त

राजनीतिबाट लगभग विस्थापित भइसकेका स्थापितलाई पुनर्स्थापित गर्ने श्रेय ओलीलाई नै जान्छ । वामदेव निकट रहेर राजनीति गरेका स्थापित वामदेव, ज्ञानेन्द्र शाह,  माओवादी र स‌ंघीय समाजवादी फोरमको तिहुन चाख्दै ०७० को चुनावपछि पुनः तत्कालीन एमालेमा फर्किएपछि उनी ओलीसँग नजिक भएका थिए । तर, उनले नानीदेखिको बानी सुधारेनन् ।

युवासंघको अध्यक्ष भएकै बेला उनी ०५१ सालको पहिलो एमाले सरकारका पालामा राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव भएका थिए । धेरै विवादस्पद हर्कतका बीच खेलकुद परिषदमा भने स्थापितको छवि राम्रो देखिएको थियो । उनको त्यही छविका कारण ०५४ सालको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयर बने ।

त्यसो त उनी ०४९ को स्थानीय चुनावमा पनि तत्कालीन एमालेबाट उपमेयरको उम्ेमदवार बनेका थिए । नवीन्द्रराज जोशीसँग झिनो मतान्तरमा पराजित भएका स्थापित ५ वर्षपछि मेयरमा भारी मतान्तरले जिते ।

काठमाडौंको मेयर भएपछि धेरै विवादका बीच उनले केही राम्रा काम गरे, जसले गर्दा स्थापितलाई विकासप्रेमी नेताको उपमा दिइयो ।

माइतीघर मण्डला रहेको ठाउँमा त्यतिबेला व्यस्त बजार थियो । उनले सडक अतिक्रमण गरेर बनाइएको बजार नै भत्काएर आकर्षक मण्डला तयार पारे त्यो पनि रातारात । कालिमाटी कुलेश्वर सडक खण्ड विस्तारदेखि काठमाडौंको पूर्वाधार विकासमा काम नगरेका होइनन् । तर, चुंगीकर लगायतका भ्रष्टाचार र महानगरलाई तत्कालीन मालेको भर्तिकेन्द्र बनाएको आरोप पनि खेेपे ।

तत्कालीन एमालेले देशका टप टेन भ्रष्टाचारीको नाम सार्वजनिक गर्दा वामदेवसँगै स्थापितको पनि नाम ल्याएको थियो । काठमाडौं महानगरपालिकाको मेयरको ५ वर्षे कार्यकाल सकिएपछि उनी पार्टी राजनीतिमा स्थापित हुन सकेनन् ।

नेकपा एमाले फुटेपछि माले बनेका स्थापितले आफूसँग उपमेयरमा निर्वाचित भएका बिदुर मैनालीलाई नियम विपरीत लेखनाथ नगरपालिकामा काज सरुवा गरेको पत्र थमाएर हंगामा सिर्जना गरेका थिए ।

आफू विदेश गएका बेला मैनाली कार्यवाहक मेयर हुन्छन् भनेर उनले उपमेयरलाई कर्मचारीको शैलीमा काज सरुवा गरेका थिए ।

तत्कालीन एमालेले देशका टप टेन भ्रष्टाचारीको नाम सार्वजनिक गर्दा वामदेवसँगै स्थापितको पनि नाम ल्याएको थियो । काठमाडौं महानगरपालिकाको मेयरको ५ वर्षे कार्यकाल सकिएपछि उनी पार्टी राजनीतिमा स्थापित हुन सकेनन् । बरु कहिले भैरवनृत्य त कहिले अनेक उट्पट्याङ हर्कतमा लागे ।

०५९ साल असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित शेरवहादुर देउवाको सरकार अपदस्थ गरेपछि बिभिन्न सरकारका प्रयोग भए । यही क्रममा सूर्यवहादुर थापा प्रधानमन्त्री भएका बेला ०६० सालमा केशव स्थापित काठमाडौं महानगरपालिकाको मनोनित मेयर बने । त्यसपछि उनको राजनीति ओह्रालो लाग्यो ।

मनोनित मेयर भएकै बेला माओवादीलाई आश्रय दिएको थाहा पाएपछि उनलाई हटाइयो । यसबीचमा धेरै काण्ड भइरहँदा उनले नेपालको सबैभन्दा पुरानो पार्टी प्रजा परिषद पुनगर्ठित गरे । केही समयपछि त्यो बोर्ड पनि बन्द भयो । त्योबेला सेनाबाट बाँच्न आफूले पार्टी खोलेको दाबी उनले गरेका थिए ।

०६४ को संविधानसभा चुनावका बेला उनी खासै सक्रिय थिएनन् । यसबीचमा उनी माओवादीको नजिक गए । बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला देश बनाउने भिजन मिलेको भन्दै उनलाई काठमाडौं उपत्यका विकास प्राधिकरणको प्रमुख बनाइयो । तर, कामभन्दा गफ बढी गरेको र हिसिला यमीसँग कुरा नमिलेको भन्दै उनलाई बाबुरामले बर्खास्त गरे ।

प्राधिकरण काण्डपछि स्थापितको माओवादीसँग मोह भंग भयो । आफूले एमाले नछाडेको भन्दै उनी ०७० को चुनावमा एकाएक काठमाडौं ६ बाट योगेश भट्टराईको ठाउँमा टिकटको दाबेदार बनेर निस्किए । एमालेबाट टिकट नपाएपछि उनी सोही क्षेत्रमा संघीय समाजवादी फोरमबाट उम्मेदवार बने र योगेशलाई चुनाव हराउन भूमिका खेले ।

स्थापितले एक हजार मत ल्याए । तर, योगेश भट्टराईलाई हटाउन उनी कारक बनेको आरोप एमालेमा लाग्ने गरेको छ । तर, चुनाव हारेको केही समयमै उनी पुनः एमालेमा फर्किए । एमालेमा फर्काइँदा उनको ब्यापक बिरोध भएको थियो । तर, ओलीले उनलाई भित्र्याए ।

स्थापित ०७४ सालको स्थानीय तहको चुनावमा पुनः काठमाडौंको मेयरको कडा दाबेदार बनेर उत्रिए । ओलीबाट पनि उनले सकारात्मक संकेत पाएका थिए । तर, काठमाडौं एमालेका तत्कालीन अध्यक्ष कृष्ण राई लगायत ओली पक्षधर नेताहरुले नै कुनै हालतमा स्थापितलाई स्वीकार नगर्ने भनेपछि ओली ब्याक भए ।

काठमाडौंको मेयर बन्न नपाएपछि उनी प्रदेश ३ को मुख्यमन्त्री बन्ने भन्दै प्रदेशसभा चुनाव लडे । स्थापित मुख्यमन्त्री त बन्न पाएनन्, तर ओलीले भौतिक पूर्वाधार मन्त्री बनाएर स्थापितलाई पुनर्स्थापित गर्न खोजेका थिए ।

तर, केशव स्थापितको यसपटक पनि आफ्नै मतिका कारण उनको दुर्गति भएको छ । सायद स्थापितको यो अन्तिम इपिसोड पनि हुन सक्छ राजनीतिमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment