Comments Add Comment

बालाचतुर्दशीको दिन शतबीज नछरे के हुन्छ ?

२० मंसिर, काठमाडौं । आज मंसिर कृष्ण चतुर्दशी अर्थात शतबीज छर्ने दिन । बालाचतुर्दशी पनि भनिने आजको दिन शिवालयहरुमा शतबीज छर्ने गरिन्छ । शतबीज छेरर विधिपूर्वक हवनसहित चतुर्थी गरेपछि बाला चतुर्दशी पर्व समाप्त हुन्छ ।

बिहीबार बिहानै काठमाडौंको पशुपतिनाथ मन्दिर क्षेत्रमा श्रद्धालुहरुले धान, जौं, तिल, गहुँ, चना, मकै र कागुनो फूलमा मिसाएर छरे । पशुपति क्षेत्रको विशेषगरी मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाटलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छर्ने भक्तजनको भीड नै लागेको थियो ।

आखिर शतबीज नछरे के हुन्छ ? धर्मशास्त्रका जानकार प्रा. डा. रामचन्द्र गौतमका अनुसार शतबीज नछरेमा पितृले मोक्ष नपाउने धार्मिक ग्रन्थमा उल्लेख छ । त्यसैले बालाचतुर्दशीको दिन बिहानै नुहाइधुवाइ गरेर दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छरिन्छ ।

प्रा. डा. गौतमका अनुसार भगवान् शिवले मृगको रूप धारण गरेर घुमेको क्षेत्रमा बालाचतुर्दशीको दिन एक गेडा बीऊ छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दिवंगत आत्माले पनि मुक्ति पाउने विश्वास छ ।

हेमाद्रीलगायत धर्मशास्त्रमा उल्लेख भएअनुसार बालाचतुर्दशीको दिन धानका एक सय गेडा छर्ने उल्लेख छ । तर फूलमा मिसाएर मकै, गहुँ, हलेदो, जौ, कागुनोलगायत अन्न छर्ने चलन छ ।

पशुपतिसँगै काठमाडौं उपत्यकाका गोकर्णेश्वर, बसन्तपुरस्थित हनुमानढोका दरबार अघिको सानो पशुपतिनाथ भनेर चिनिने शिवालयलगायत देशभरका शिव मन्दिरहरुमा भक्तजनले शतबीज छरेका छन् ।



तस्वीरः चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment