
१६ चैत, बिराटनगर । दोहोरो सुविधा लिएर अध्यापन गराउने शिक्षकलाई कारवाही गर्नुपर्ने माग गरिरहेको नेपाल विद्यार्थी संगठन र त्यसको बचाऊ गरिरहेको अनेरास्ववियुवीचको विवादका कारण सकुना बहुमुखी क्याम्पस क्षेत्र केही दिनयता अशान्त छ ।
बुधबारबाट सुरु विवाद शुक्रबारसम्म आइपुग्दा दुई विद्यार्थी संगठनवीच आरोप प्रत्यारोप चलेको छ ।
बुधवारबाट सुरु विवाद शुक्रवारसम्म आइपुग्दा दुबै संगठनले विज्ञप्ति जारी गरी एक अर्कामाथि खनिएका छन् । अखिल र अखिल क्रान्तिकारीले नेविसंघलाई दोष लगाएको छ भने नेविसंघले अखिलले स्थिति बिगारेको आरोप लगाएका छन् ।
के हो विवाद ?
सुकुना क्याम्पसका प्राध्यापकहरुले अन्यत्र पनि पठन-पाठन गराएर दोहोरो सुविधा लिने गरेको भन्दै त्यसको विरोधमा गत फागुन २० गतेदेखि सुकुना क्याम्पसमा नेवि संघले आन्दोलन गरिरहेको छ ।
क्याम्पसका प्राध्यापकहरुले लिइरहेको दोहोरो सुविधाको विरोधमा आन्दोलन गर्दा अखिल सम्वद्ध विद्यार्थीले अवरोध र कुटपिट गरेको नेविसंघको आरोप छ ।
सुकुना क्याम्पसमा प्राध्यापन गर्ने १५ जना शिक्षकले अन्यत्रका क्याम्पस र सरकारी विद्यालयमा पनि पढाएर दोहोरो सुविधा लिएको नेविसंघको आरोप छ ।
नेविसंघले क्याम्पसमा पठनपाठन अवरुद्ध गर्दै आन्दोलन थालेपछि त्यसो नगर्न आग्रह गर्दा स्थिति बिग्रिएको अखिलका नेताहरु बताउँछन् । तर, क्याम्पस दोहोरो सुविधा लिने १५ जना शिक्षकलाई कारवाही नगरेसम्म आन्दोलन जारी रहने नेविसंघको अडान छ ।
विद्यार्थी आन्दोलनका कारण बुधवार यता सुकुना बहुमुखी क्याम्पसमा पठनपाठन हुन सकेको छैन । झगडाका कारण क्याम्पसको छवि बिग्रिएको भन्दै स्थानीय अभिभावकहरु चिन्तित बनेका छन् ।
क्याम्पसमा देखिएको विवादमा नेविसंघका विद्यार्थीहरु कुटिएपछि प्राध्यापक र पत्रकारले समेत पिटाइ खाइसकेको अवस्था छ ।

बुधबार साँझ प्रदेश संसद एवं कांग्रेस नेता केदार कार्की, सुनील शर्मासहित पुगेको विद्यार्थीहरुको जुलुसले सुकुना क्याम्पसका सहायक प्रमुख केशव भट्टराई माथि हातपात गरेको नेकपा पक्षको आरोप छ ।
शुक्रबार दुई संगठनले बिराटचोकमा र्याली निकालेका थिए । त्यसक्रममा विहान निस्किएको नेविसंघको जुलसका बेला एक स्थानीय सम्वाददाता निकेश बराल पिटिएका थिए । पत्रकारमाथि आक्रमण भएको विरोधमा मोरङ पत्रकार महासंघले समेत विज्ञप्ति जारी गरेको छ ।
यसअघि बुधवार बिहान झण्डै दुईघण्टासम्म सुकुना क्याम्पस परिसरमा झडप भयो । झडपमा नेविसंघका ३ नम्बर क्षेत्रीय सभापति होमनाथ पोखरेल, नेविसंघ क्याम्पस इकाई सभापति विजय तोलाङ्गी, सचिव समीर सम्राट र सदस्य जीवन बस्नेत घाइते भए । क्याम्पसमा ज्ञापनपत्र बुझाउन जाँदा आफूहरुलाई अखिलका कार्यकर्ताले कुटपिट गरेको नेविसंघको भनाइ छ ।
कुटपिटपछि केही अखिलका नेताहरुविरुद्ध प्रहरीमा जाहेरी दिइएको छ भने अखिलका नेताहरु फरार रहेका छन् । पत्रकार कुटपिट गर्ने नेविसंघका नेताविरुद्ध पनि प्रहरीमा उजुरी परेको छ । तर, प्रहरीले अहिलेसम्म कसैलाई पक्रेको छैन ।
माउ पार्टीको चासो
दुई विद्यार्थी संगठनको विवादले उग्ररुप लिएपछि दुबै पार्टीले समस्याा समाधानका लागि पहल थालेका छन् ।
नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले नेविसंघ र क्याम्पस प्रशासनवीचको विवादमा अखिल जोडिएपछि उत्पन्न अवस्थालाई समाधान गर्न नेकपाको पार्टी कमिटीसँग समन्वय गरिरहेको अनलाइनखबरलाई बताए । विद्यार्थीवीचको विवाद पार्टीले हेरिरहन नमिल्ने बताउँदै घिमिरेले शनिबार पार्टी तहमा यसबारे छलफल गर्ने बताए ।
त्यसैगरी नेकपा मोरङका प्रस्तावित संयोजक ऋषिकेश पोखरेल नेविसंघका कारण सुरु भएको विवाद समाधान गर्न पार्टी तहमा छलफल गरिने बताउँछन् । ‘विद्यार्थी संगठनको विवादमा प्राध्यापकमाथि मारपिट हुनुहुँदैन थियो,’ पोखरेल भन्छन् ‘अब पार्टी तहबाट छलफल गर्नुपर्छ ।’
प्रतिक्रिया 4