
२१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाले ब्रुमरबाट सडक सफा गर्न थालेयता १ सय १३ टन धुलो संकलन भएको छ ।
चै १२ गतेबाट ब्रुमर प्रयोग गरेर सडक सफा गरिरहेको महानगरपालिकाले हालसम्म २ सय २५ घनमिटर धुलो संकलन गरी विसर्जन गरेको हो ।
हाल पाँच वटा ब्रुमरले मुख्य पाँच रुटमा राती ९ बजेपछि दैनिक ८ घण्टा सफाइ गर्दै आएका छन् । पाँच वटा ब्रुमरले दैनिक १८ देखि २० टन धुलो संकलन गर्ने गरेको महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग अन्तर्गतको कार्यसञ्चालन शाखाका प्रमुख मीनबहादुर थापाले जानकारी दिए ।
उनका अनुसार हालसम्म ब्रुमर नचलेका र भौतिक निर्माण भइरहेका क्षेत्रमा जाँदा बढी धुलो संकलन हुने गरेको छ । भौतिक पूर्वाधार निर्माणको कामले धुलाम्य बनेको काठमाडौंलाई स्वच्छ बनाउन महानगरपालकिाले धुलो टिप्ने ब्रुमर प्रयोग गरिरहेको छ ।
रत्नपार्क, शहिदगेट, तिनकुन, कोटेश्वर, कोटेश्वर, जडिबुटी, बालकुमारी पुल, सोह्रखुट्टे लगायतका क्षेत्रमा बढी धुलो संकलन हुने गरेको शाखा प्रमुख थापाले बताए ।
‘अहिलेसम्म ब्रुमर नचलेको ठाउँमा धुलो धेरै हुने नै भयो ,अब नियमित धुलो सोहोर्ने काम भइरहेकाले त्यो घट्दै जान्छ’, उनी भन्छन् ।
धुलो हुनै नदिनेगरी काम गर्नुपर्ने भएपनि काठमाडौं उपत्यकामा भौतिक पूर्वाधार निर्माणको काम चलिरहेकाले धुलो संकलनका लागि ब्रुमर खटाउनु परेको छ ।
यी ब्रुमरले नियमित सडक सफाइ गर्ने हो भने धुलोले आक्रान्त महानगरवासीले विस्तारै राहत महसुस गर्नेछन् ।
कसरी काम गर्छ ब्रुमरले ?
इटलीबाट भित्र्याइएको अत्याधुनिक प्रविधिको धुलो टिप्ने ब्रुमरको अगाडि एउटा, दायाँ–बायाँमा एक÷एक वटा र बीचमा एउटा तारको ब्रस छ ।
ब्रुमर चल्न थालेपछि उक्त ब्रस जाँतो जसरी घुम्छ र धुलो सोहर्न थाल्छ । अगाडिको ब्रसले कोतरेर धुलो निकालेपछि दायाँ–बायाँ र बीचको ब्रसले धुलो सोहोरेरे ट्यांकीमा जम्मा हुन्छ ।
४.६८ घनमिटर भण्डारण क्षमता रहेको ब्रुमरको ट्यांकी भरिएपछि टिप्परमा खनाइन्छ । सो धुलोलाई महानगरपालिकाको फोहर संकलन केन्द्र टेकुमा बिसर्जन गर्ने गरेको छ ।
पाँच ब्रुमरमध्ये चार वटा १६ टन र एउटा ६ टन क्षमताका छन् । १० किलोमिटर प्रतिघण्टा क्षमताका यी ब्रुमरले सडकको न्युनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छन् ।
तर, यी ब्रुमरले सडकको लेन क्षेत्रमात्रै सफा गर्न सक्ने भएकाले ढल क्षेत्र र फूटपाथमा भने कुचो लगाउनुको विकल्प छैन ।
प्रतिक्रिया 4