Comments Add Comment

चितवनका फिल्म हल : मल्टिप्लेक्स नबने बन्दको बन्द

१३ वैशाख, चितवन । चलचित्रकर्मीहरु चितवनलाई राजधानी काठमाडौं पछिको दोस्रो ब्यापारिक बजार मान्छन् । चलचित्रको ब्यापार काठमाडौं र मोफसलमा ५०-५० प्रतिशत हुँदा चितवनको मात्रै १० प्रतिशत हिस्सा रहेको चलचित्रकर्मीहरु बताउँछन् ।

त्यही कारण चलचित्रको छायाङ्कनदेखि प्रमोसनसम्म चितवनले विशेष प्राथमिकता पाउने गरेको छ । चितवनमा मासिक ३-४ वटा चलचित्रको प्रमोसन कार्यक्रम गरिन्छ ।

चितवनका चलचित्र हल व्यापारिक रुपमा त्यति सफल देखिदैन ।सबैभन्दा चलेको जलमा क्यूएफएक्समै पनि दर्शकको औसत उपस्थिति देखिन्छ । २०७२ सालपछि दर्शक घटेको हल सञ्चालकहरु बताउँछन् ।

कुनै-कुनै नेपाली चलचित्र एकै दिनमा हलबाट उत्रिने गरेका छन् । माडीको विक्रमबाबा चित्र मन्दिर बन्द भएको करिब एक बर्षपछि नयाँ वर्षको दिन -२०७६ बैशाख १) खुल्दा ए मेरो हजुर ३ को पहिलो पि्रमियर शोमा जम्मा २३ जना दर्शक भए ।

पश्चिम चितवनमा अहिले कुनै सिनेमा हल छैनन् । पूर्वी चितवनमा एउटाबाहेक सबै बन्द छन् ।

वितेको डेढ दशकमा चितवनमा आधा दर्जन सिनेमा हल बन्द भए । सबैभन्दा पुरानो गणेश चलचित्र हल बन्द भएको दुई महिना भयो । नारायणगढको केएल मलमा डेढ बर्षअघि खुलेको ‘सी म्याक्स’ पनि अहिले बन्द छ । चनौलीको भावना हल भएको जग्गामा प्लटिङ गरिएको छ भने गैंडाकोटको धवलागिरी हलमा पार्टी प्यालेस चलेको छ ।

केएल मलमा ‘सी म्याक्स’ चलाएका गणेशकुमार श्रेष्ठले दर्शक नै नआएपछि बन्द गरेको बताए । एक दशकअघि बरुणबाबु घिमिरेले दर्शक अभावकै कारण टाँडीको ज्योति हल बन्द गरेका थिए ।

टाँडीमा अहिले नारायणी हल मुश्किलले चलेको छ ।

इन्द्रदेवको स्तरोन्नती, जलमा बन्यो मल्टिप्लेक्स

२०५४ वैशाख २३ गतेदेखि सञ्चालनमा आएको नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरको दुई बर्षअघि स्तरोन्नती गरिएको छ । हलले सिट संख्या ७ सय ९५ बाट बढाएर ८ सय ३२ पुर्‍याएको छ, जसमध्ये वाल्कोनीमा ३ सय १७ सिट छन् ।

हललाई पूर्ण एयर कन्डिसन्ड बनाउने, डिजिटल टूके ट्वान्टी डिजिटल प्रोजेक्टरबाट फिल्म देखाउने, थ्री वे साउन्ड सिस्टम थप्नेलगायतको काममा करीव ५ करोड रुपैयाँ लगानी भएको सचालक मुक्तिलाल पियाले बताए ।

जलमा ‘क्यूएफएक्स’ चितवनको पहिलो मल्टिप्लेक्स हल बनेको छ, जहाँको हल १ मा २ सय ६८ र हल २ मा २६५ सिट छ । मल्टिप्लेक्स बनाउन आठ करोड रुपैयाँ भन्दा बढी लगानी भएको सञ्चालक वीरेन्द्रनारायण श्रेष्ठ बताउँछन् ।

जलमामा दैनिक तीन शो चल्छ । शुक्रबार, शनिबार र सोमबार प्रति टिकट ३ सय र अरु दिन २ सय ५० रुपैयाँ लिने गरिएको छ ।

गत वर्ष मल्टिप्लेक्समा दुई लाख ५० हजार दर्शक आएको प्रबन्धक विकास पौडेलले बताए ।

राम्रो सुविधा भए दर्शक आउने तर पहिलो शर्त चलचित्र नै राम्रो हुनुपर्ने अनुभव उनले सुनाए । ‘चलचित्र नै कमजोर बन्दाको मार हलहरुलाई परिरहेको छ’, पौडेलले भने, ‘यसबर्ष गतिला चलचित्र नआउँदा दर्शकको उपस्थिति पोहोरको जस्तो छैन ।’

क्यूएफएक्सले काठमाडौंमा पाँच र बाहिर चार गरी नौवटा हलको व्यवस्थापन हेर्दै आएको छ ।

मल्टिप्लेक्सको जमना

सशस्त्र द्वन्द्वअघि नेपालभर ४ सय ५० वटा सिनेमा घर थिए । १० वर्षे द्वन्द्वले त्यसलाई १ सय ५० मा झरे । हल व्यवसायीहरूका अनुसार अहिले ५ सय सिटको राम्रो सिनेमा हल चलाउन कम्तीमा १० करोड रूपैयाँ चाहिन्छ । नेपालमा सिनेमा हलको इतिहास करिब ६० बर्ष लामो छ । यसबीचमा प्रविधिले पनि फड्को मारेको छ र मल्टिप्लेक्सको समय आएको छ । मल्टिप्लेक्समा फुड कोर्टलगायतका सुविधा पनि हुन्छन् ।

अहिले मध्यम र उच्च आर्थिक वर्गलाई तानेको ठूला सपिङ मलहरूमा मल्टिप्लेक्स सिनेमा हल बनाउने चलन आएको छ । किनमेलका लागि मलमा आउनेहरु सुविधापूर्ण मल्टिप्लेक्समा फिल्म हेर्न रुचाउँछन् । नौ बर्षअघि भत्काइएको टाँडीको ज्योति हललाई अब मल्टिप्लेक्स बनाउने सञ्चालक बरुणबाबु घिमिरेले बताए । ‘तीन जनाले १० करोड रुपैयाँ लगानी गर्ने भएका छौ’, उनले भने, ‘छ महिना भित्र काम सुरु हुन्छ ।’

घिमिरेको समूह फिल्म हेर्न नारायणगढ जाने पूर्वी चितवनवासीलाई रोक्न अत्याधुनिक मल्टिप्लेक्समा लगानी गर्न कस्सिएका हुन् ।

करीब पाँच करोड लगानीमा स्तरोन्नती गरिएको नारायणगढकै इन्द्रदेव चलचित्र मन्दिर पनि मल्टिप्लेक्स हुने तरखरमा छ । मल्टिप्लेक्स नभई हल चलाउन नसकिने देखिएकोले थप लगानीको तयारी भएको प्रबन्धक हरि रेग्मीले बताए । उनले भने, ‘अब हलमा दर्शक तान्न मल्टिप्लेक्स नै चाहिने देखियो ।’

शिवप्रसाद उप्रेती समूहले पूर्वी चितवनको पर्सामा जेठबाट सञ्चालन गर्ने गरी ३०४ सिटको म्याङ्गो जनज्योति हल बनाइरहेको छ । करीब ५ करोड रुपैयाँ लगानीको यो हल मल्टिप्लेक्स नभए पनि मल्टिप्लेक्समा हुने सुविधा हुने सञ्चालकहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment