+
+

गण्डकी प्रदेशले फेवातालमा कफी सप खोल्ने, एक कपको सय डलर !

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १६:५५

२४ वैशाख, पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको बताएका छन् ।

उनले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र त्यसैका लागि फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताएका हुन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा गरेको लुम्बिनी भ्रमण वर्षबारे जानकारी दिन पोखरामा गरेको पत्रकार सम्मेलन तथा अन्तक्रिर्या कार्यक्रममा मन्त्री लम्सालले फेवातालमा कफी पसल खोल्ने योजना सुनाएका हुन् । उनले उक्त कफी सपमा ‘पूरै अर्गानिक’ कफी मात्रै पाइने दाबी गरे ।

‘फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा हजारौं पर्यटकले दर्शन गर्छन् । त्यस्तै पर्यटक तान्ने अर्को फेवाताल शिरान माटो थुप्रेको ठाउँ (खपौंदी)मा एउटा कफी सप बनाउने प्रदेश सरकारको योजना छ,’ मन्त्री लम्सालले भने, ‘त्यो कफी सस्तो मूल्यमा पाइने छैन । १ कपको १ सय डलर पर्नेछ । त्यो हाम्रै गण्डकी प्रदेशमा उब्जिएको अर्गानिक कफी हुनेछ ।’

मन्त्री लम्सालले फेवाताल बीचमा कफी सप खोल्न अध्ययनसमेत भइरहेको प्रष्टयाए । ‘त्यहाँ जान तालबाराही मन्दिरमा जस्तै डुंगा चढेर जाने व्यवस्था हुन्छ,’ उनले भने, ‘पर्यटकहरु डुंगा चढेर गण्डकी प्रदेशको कफी खान जान पाउनेछन् ।’

उनले फेवाताललाई ६५ मिटर मापदण्डमा चाँडै नयाँ टट्बन्ध बनाउने र फेवातालको आकार पनि बढाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?